भोलिदेखि ए डिभिजन खेल
काठमाडौं ।
पहिलोपटक शहीद स्मारक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले अन्य क्लबले हेर्ने नजर परिवर्तन गर्ने बताएका छन् । भोलिदेखि सुरू हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको खेलअघिको पत्रकार सम्मलेनमा बोल्दै मुख्य प्रशिक्षक केसीले सातदोबाटो सानो क्लब नरहेको बताउँदै केही खेलपछि सातदोबाटोलाई नयाँ क्लबको रूपमा कसैले नहेर्ने बताए । ‘क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्दै छ, र क्लबलाई यसको ज्ञान छैन,’ उनले भने उनले भने, ‘अहिले अन्य क्लबहरूले सातदोबाटोलाई नयाँ क्लबको रूपमा हेर्छन्, तर, केही खेलपछि सातदोबाटोलाई हेर्ने नजर परिवर्तन हुनेछ ।’
गत सिजन बी डिभिजन च्याम्पियन बन्दै शीर्ष लिगमा उक्लिएको सातदोबाटोले भोलि हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । र, लिगको पहिलो खेल नै भएकाले सुधार गर्ने समय धेरै हुने उनले बताए । यस्तै, कप्तान मानबहादुर तामाङले पनि आफूलाई प्रमाणित गर्ने अवसर लिएको बताएका छन् । यसअघि हिमालयन शेर्पाका कप्तान रहेका तामाङले भने, ‘चेन्जलाई च्यालेन्जको रूपमा लिएको छु । आफूले आफूलाई प्रमाणित गर्ननलाई अवसरको रूपमा हेरेको छु । क्लब नयाँ भएकोले सक्दो मेरो टोलीलाई माथि पुर्याउन आफ्नो अनुभव बाँड्ने छु ।’
नेपाली फुटबलमा अनुभवी विदेशी खेलाडीहरू- पिटर र मार्टिन्सको प्रभावले युवा खेलाडीलाई मोटिभेसन भइरहेको पनि उनले बताए । यस्तै भोलि नवप्रवेशी सातदोबाटोविरुद्ध तीन अंक हासिल गर्ने क्लबको तयारी रहेको फ्रेन्ड्सका कप्तान सुरज विकेले बताए ।
‘हाम्रो औसत टोली छ । भोलिको खेलमा हामी तीन अंक लिने योजनमा छौं,’ उनले भने, ‘नयाँ क्ल्ब भए पनि हामीले सातदोबाटोलाई हामीले कम आँकेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’ फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेसनबाट बच्ने क्लबको प्रमुख लक्ष्य रहेको बताए । ‘४० दिनदेखि अभ्यास गरिरहेका छौं र ए डिभिजन लिगमै बच्ने क्लबको योजना छ,’ उनले भने, ‘पहिले जोगिने अनि बाँकी योजना बनाउने छौं । सम्भव भयो भने ६-७ सम्म हुन कोसिस गर्नेछौं ।’
पहिलोप्रेस
२ मंसिर २०७८, बिहीबार १८:४३