“म पहिलो नै हो, दोश्रोका लागि उहाँहरूको प्रतिस्पर्धा होला”

सुर्खेत । अहिले सुर्खेत–२ बाट विभिन्न दलका तर्फबाट उम्मेदवार बनेका नेताहरु घरदैलो अभियानमा जुटेका छन् ।
यहि क्रममा नेकपा एमालेका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार छन कुलमणि देवकोटा । २०२९ साल चैत १० गते सुर्खेतको वीरेन्द्रनगर₋११, गाग्रेतालमा जन्मिएका उनी स्कुले जीवनदेखिनै स्काउट, रेडक्रस लगाएका सामाजिक संघ संस्थामा सक्रिय रहेका देवकोटा २०४९ सालदेखि राजनीतिमा छन् ।
देवकोटाले २०४९ सालमा वीरेन्द्र बहुमुखी क्याम्पस सुर्खेतबाट तत्कालीन जनमोर्चाको विद्यार्थी संगठन अनेरास्ववियु छैटौँबाट राजनीति यात्रा सुरु गरेका थिए । २०५४ सालमा तत्कालीन सुर्खेतको जर्बुटा गाविस वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार थिए । र, जनताको मन र मत जिते ।
त्यसयता २०५४ को निर्वाचनपछि जनमोर्चा छाडेर उनी नेकपा एमालेमा आबद्ध भएका थिए । २०५६ सालमा एमाले जिल्ला कमिटीको सदस्य भएका उनी जिल्ला २०८० अघि जिल्ला उपाध्यक्ष भए । नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशन २०८१ मा देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०६० सालमा स्थापना भएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सल्लाहकारको रूपमा काम गरे । पछि आयोजना प्रतिनिधि, उपाध्यक्ष हुँदै दुई कार्यकाल अध्यक्षको रूपमा काम गरे ।
उनको उम्मेदवारी किन र के कालागि, जनअपेक्षा के छन ? तयारी कस्तो छ जस्ता विषयमा हामीले उनिसँग कुराकानी गरेका छौं । प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेपः
वीरेन्द्रनगर–११ बाट आधिकारिक रुपमा निर्वाचनको महासंग्राममा होमिनुभएको छ, कस्तो पाई रहनु भएको छ मतदाताको प्रतिक्रिया ?
नेकपा एमालेबाट यो क्षेत्रका लागि म सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएदेखि नै म यो क्षेत्रका सबै वडामा पुगिसकेको अवस्था छ । वीरेन्द्रनगरमा सबैभन्दा बढीबसाई मेरो हुने गरेको भएपनि पश्चिम सुर्खेतका समस्याकाबारेमा म जानकार थिएँ र छु । पश्चिम सुर्खेतका चौकुने, पञ्चपुरी र बराहतालका समस्या फरक छन भने वीरेन्द्रनगरका समस्या फरक देखिएका छन् ।
पश्चिम क्षेत्रसहित वीरेन्द्रनगरमा म जाँदा त्यहाँका मतदाता, नेता कार्यकर्तामा अभूतपूर्व उत्साह देखेको छु । जनतामा हामीप्रति आशा र भरोसा देखेको छु । अझ भन्ने हो भने आम मतदाताले मलाई माया गरिरहनु भएको र मलाई एकपटक प्रतिनिधि सभामा निर्वाचित गराएर पठाउने चाहना उहाँहरुमा देखेको छु र यसले के सन्देश दिन्छ भने सुर्खेत दुईको रुपान्तरणका लागि, सुर्खेत दुईका जनताको जीवनस्तर उकास्नकालागि म नै सबैभन्दा उत्तम उम्मेदवार हुँ ।
तपाईको नजरमा पश्चिम सुर्खेतका जनताका समस्या कस्ता रहेछन,वीरेन्द्रनगरका समस्या कस्ता रहेछन ?
पश्चिम क्षेत्रका मुख्य समस्या खासगरी सडक, खानेपानी, ग्रामीण विद्युत्तिकरण, बेरोजगारी, सेवा प्रवाह समस्या छन् । तल भेरी, कर्णाली वगिरहेको छ तर आम जनताले सिँचाईका त कुरा छोडौँ, शुद्ध खानेपानीको अभावमा पिल्सी रहेकम छन।
वर्षौँदेखि सडकले अझैपूर्णता पाउन सकेको अवस्था छैन । गाउँमा विद्यालय भवन भएपनि गुणस्तरीय शिक्षामा पहुँच आम नागरिकको पुग्न सकेको छैन । स्वास्थ्य क्षेत्रमा यस्तै समस्या छ । वर्षेनी युवाहरु भारतका विभिन्न शहरमा ज्यालामजदुरी गर्न भारत जानुपर्ने अवस्था छ । गाउँमा रोजगारी सिर्जना हुन सकेको अवस्था देखिएन । यो क्षेत्र प्रदेश राजधानी भएको भएपनि पश्चिम क्षेत्रलाई त्यसको पर्याप्त फाईदा पुग्न नसकेको मैले महसुस गरेको छु । यस्ता धेरै समस्या पश्चिम क्षेत्रका जनताले भोगेको मैले पाएँ ।यस्तै,वीरेन्द्रनगरका बढदो शहरि करणले खानेपानीको अभाव छ, यद्दपी पछिल्लो समय भेरी पम्पिङ्गको काम भइरहेको छ।ढल निकासको समस्या छ । शहर क्षेत्रका भित्रि क्षेत्रमा सडकको अवस्था दयनीय छ भने नगरपालिकाका पहाडी क्षेत्रमा बाटोघाटो, खानेपानी जस्ता समस्या छन् ।
समस्या त धेरै देखाउनुभयो, तपाईको विजय पश्चात यी समस्याबाट के यी क्षेत्रका जनताले आगामी पाँच वर्षमा मुक्ति पाउलान भनेर कसरी भन्न सक्नुहुन्छ ?
सबै समस्या पाँचै वर्षमा समाधान गरिदिन्छु, छुमन्तर नै गर्छु भन्ने होईन, तर यी मध्ये दुई तिहाई समस्या समाधान गर्न सकिन्छ भन्नेमा म दृढ संकल्पित छु । उदाहरणका लागि आगामी दुई वर्ष भित्र वीरेन्द्रनगरका डेढ लाख शहरवासीले शुद्ध पानी पिउनेछन् ।
वीरेन्द्रनगर भित्रका साना सडकहरुलाई कालोपत्रे बनाउन प्रदेश र स्थानीय सरकारसँग समन्वय गरि अघि समाधानार्थ बढिनेछ । यस्तै, पश्चिम सुर्खेतका समस्या समाधान गर्न मैले प्रतिनिधि सभामाआवाज मात्रै उठाउँदिन, सरोकारवाला मन्त्रालय, विभागहरुमा धाउने नतिजा निकाल्ने काममा सहभागी हुन्छु ।
यस्ता सपना यसअघिका उम्मेदवारले नदेखाएका होईनन् । तपाईबाट विश्वस्त हुनुपर्ने कारण के हो ?
वीरेन्द्रनगरको खानेपानी समस्या समाधानकालागि म खटेको कुरा यहाँले देख्नु नै भएको छ सो,त्यो भन्दा अझ बढी म मेरो निर्वाचन क्षेत्रका लागि मरिमेटी कामगर्ने प्रतिबद्धता जनाउँदछु । मेरो जीवन नै समाजसेवामा सर्मपित छ । मैले आजसम्म गरेका क्रियाकलाप, सामाजिक कार्यले पनि यो कुराको पुष्टि गर्छ जस्तो लाग्छ, सोही आधारमा यस क्षेत्रका आम मतदाताले मलाई सुर्य चिन्हमा मतदान गरी भारी बहुमतका साथ विजयी गराउनु हुनेछ ।
तपाईका प्रतिस्पर्धी पनि धेरै छन भने अर्कोतिर रास्वपाले देशभर माहौल बनाई रहेको छ… त्यसले असर पार्दैन ?
हेर्नुहोस, म अन्य उम्मेदवार साथीहरुका बारेमा कुनैपनि टिप्पणी गर्न चाहन्न । किनभने यस क्षेत्रका जनताले कसले बढी काम गर्न सक्छ भन्ने कुरा देखिसक्नुभएको छ। उम्मेदवार भएपछि प्रतिस्पर्धा हुन्छ नि। यो निर्वाचनका अन्य उम्मेदवारको बारेमा कुरा गर्नुभन्दा म पहिलो हुने हो, दोश्रोको लागि उहाँहरू प्रतिस्पर्धा गरिरहनु भएको होला।
भदौ पछि तपाईहरूप्रति अलि धेरै आक्रमण भईराखेको छ , कारण के हो ?
मुलुकमा बैधानिक ढंगले सत्ता च्युत नभएपछि भदौ २३ र २४ घटना घटाइएको हो भन्ने कुरा बुझ्न ढिलो गर्नु हुदैन । विकास, समृद्वि तथा देशभक्ति र राष्ट्रियताको सन्दर्भमा एमाले ले लिएको नितिकै कारण एमालेमाथि प्रहार भएको हो । एमालेलाई सक्काउन पाए देशलाई सजिलै नियन्त्रण लिन सकिन्छ भन्ने मानसिकतावाट काम भइरहेको छ । अहिले चलिरहेको पपुलिज्म यसको प्रभाव हो । पपुलिज्मको पछि लाग्दा नागरिकले झन धेरै दुः ख पाउने अवस्था रहन्छ ।








पहिलोप्रेस
५ फाल्गुन २०८२, मंगलवार ११:०७