Loading... आजः २७ जेष्ठ २०८३, बुधबार

कर्णालीले पदाधिकारी पाउनुपर्ने अधिकांश एमाले नेताकाे माग

एमाले सचिवमा सशक्त दावी गर्दै मुख्यमन्त्री कँडेल


सुर्खेत । नेकपा एमालेको केन्द्रीय सचिव पदका लागि नेकपा एमालेका स्थायी समिति सदस्य एवम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ११ औं महाधिवेशनमा सशक्त दावी गर्ने भएका छन् ।

कर्णाली प्रदेशबाट महाधिवेशन प्रतिनिधिमा छनौट भएका १५४ मध्ये झण्डै ९७ प्रतिशत प्रतिनिधिले उनलाई निरन्तर सचिव पद नछाड्न दबाब दिइरहेका हुन । यी मध्ये भूगोलबाट ११३ जना र विभाग, आयोग, केन्द्रीय सदस्यलगायतबाट ४१ जना महाधिवेशन प्रतिनिधि छनौट भएका हुन ।

नेकपा एमालेका चितवनमा सम्पन्न दशौं महाधिवेशनमा कँडेललाई कर्णालीका २१ जना केन्द्रीय सदस्यहरुको तर्फबाट हस्ताक्षर संकलन गर्ने, समन्वय गर्ने, वैठक गर्नेजस्ता कार्य गरेका एमाले केन्द्रीय सदस्य विष्णु रिजालले गरेका थिए । यद्यपी त्यसपटक भने नेता कँडेल सचिव बन्न सफल भएनन् ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटिका उपाध्यक्ष टेकराज पछाईले केन्द्रीय सचिव पदका लागि नेता कँडेल सबैभन्दा अब्बल र क्षमतावान भएको बताए । ‘उहाँले दशौँ महाधिवेनमा पनि सचिवमा कडा दावेदारी गर्नु भएको हो, अब यसपटक उहाँलाई सचिव बनाएर पार्टीले न्याय दिनेमा हामी कर्णालीका एमालेहरु पार्टी नेतृत्वप्रति विश्वस्त छौँ ।’ उनी भन्छन, ‘अब कर्णाली पनि एमालेको बलियो किल्ला हो भन्ने कुरा ख्याल गर्दै कर्णालीमा पनि केन्द्रीय सचिव बन्न सक्ने क्षमतावान नेतृत्व छ भनेर बुझ्न जरुरी छ ।’ उनले कर्णाली सधैँ पदाधिकारी विहीन हुने अवस्था अब पार्टीले अन्त्य गर्ने अपेक्षा गरे ।

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम प्रदेश अध्यक्ष गुलावजंग शाहले अहिले आफूहरु व्यक्तिको पछि भन्दा पनि कर्णालीले पदाधिकारी पाउनुपर्ने मागमा दृढतापूर्वक लागिरहेको बताए । ‘सुरुमा हामीले पदाधिकारी पाउनुपर्छ भनेर लविङ गर्ने देखि सोही अनुसार सम्पर्क, समन्वय गर्ने काम गरिरहेका छौँ ।’ अध्यक्ष शाहले भने, ‘कर्णालीले पदाधिकारी पाउने निश्चित भएपछि मात्रै हामी व्यत्तिःमा पुग्छौँ । हामीले कर्णालीबाट एक जनालाई सर्वसम्मत रुपमा पदाधिकारीमा पठाउँछौँ ।’

नेकपा एमालेका महाधिवेशन प्रतिनिधि एवम खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष नन्दा बस्यालले यसपटक यामलाल कँडेललाई पार्टीले सचिवको जिम्मेवारी दिनुपर्ने बताईन । ‘उहाँ खारिएको नेता हो । नेपालको कम्युनिष्ट पार्टीमा उहाँले धेरै पसिना बगाईसक्नु भएको छ । उहाँ पार्टीको स्थायी कमिटि सदस्य मात्रै नभई अहिले कर्णालीको मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।’ बस्यालले भनिन्, ‘उहाँलाई सचिवको जिम्मेवारी दिएको खण्डमा हामीले दलका आन्तरिक कुरापनि थाहा पाउन सक्छौँ भने कर्णालीको पदाधिकारी तहमा प्रतिनिधित्व पनि हुन्छ, जसले गर्दा कर्णालीमा पनि एमाले बलियो छ भन्ने पार्टी नेतृत्वलाई देखाउन सहज हुन्छ । अनि दलका हरेक निर्णयमा कर्णालीका भावना समेटिन्छन् ।’

उनले पार्टी नेतृत्वले कर्णालीलाई मन खोलेर नेतृत्व दिनुपर्नेमा जोड दिईन ।

नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य नवराज महताराले आउने ११ औँ महाधिवेशनमा कर्णालीले पदाधिकारीमा बलियो दाबी पेश गर्ने बताए ।

‘लोकतन्त्र संसारको सबैभन्दा उत्कृष्ट व्यवस्था हो । तर टाउकाको संख्याका आधारमा निर्णायक तहमा पहुँच हुने प्रर्णाली यसको दुर्बल पक्ष हो । जसको कारण १८४६ पश्चात कर्णाली केन्द्रीय सत्ता (पार्टी र सरकार)को निर्णयक तहमा कहिल्यै पुग्न सकेन । जसको असर समग्र कर्णालीको विकस र समृद्धीका क्षेत्रमा काठमाडौंले हेर्ने जनरिया न्यायोचित बनेन र बन्न सकेको छैन् । यो प्रभाव हाम्रो पार्टी नेकपा (एमाले)मा पनि परेको छ ।’ उनी भन्छन, ‘पार्टी ऐतिहासिक ११ औं महाधिवेशनको संघारमा आइपुग्दा समेत कर्णालीले कहिल्यै पार्टीको निर्णयक तहमा पहुँच पाउन सकेन् । पार्टीको निर्णयक तहमा पहुँच बिस्तार नभएकै कारण २०५६ साल आम नर्वाचनमा एकछत्र एमाले कर्णालीमा पछिल्लो समय बिस्तारै कमजोर बन्दै गएको छ ।’

उनले यो वास्तविक कारण पार्टी नेतृत्व र कर्णालीबाट प्रतिनिधित्व गर्ने एमालेका नेतागणहरुले बुझ्न जरुरी मात्र नभई महाधिवेशनबाट कर्णालीले कम्तीमा पदाधिकारी स्तरमा प्रवेश पाउने सुनिश्चित गरिनु पर्नेमा जोड दिए ।

‘जति महाधिवेशनको मिति नजिकीदैछ त्यति नैं पार्टी भित्र नेतृत्वमा पुग्ने आकाक्षी नेताहरुको संख्या थपिदैंछ । यो क्रम कर्णालीमा पनि जारी छ तर पदका को जाने भन्ने कुरा कर्णाली प्रदेशको हकमा तत्काल गौण हो जस्तो लाग्छ । शुरुमा कर्णालीबाट महाधिवेशनमा सहभागि हुने सबै नेताहरुले पदाधिकारीमा कर्णालीको प्रतिनिधित्वका लागि सुनिश्चित गर्न निर्मम दवाव सृजना गर्नुपर्छ । कर्णालीका नेताहरुले आफ्नो पद सुनिश्चित गर्ने धाउन्नेमा हुने गुटको खेती गर्नुभन्दा पहिला पदाधिकारीमा कर्णालीको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने कार्यलाई पहिलो प्राथमिकता दिनुपर्छ । यसको सुनिश्चित भएपछि मात्रै कार्यक्षतमा, गतिसिलता र लोकप्रीयताका आधारमा को व्यक्ति त्यसका लागि योग्य हो भन्ने कुराको बहस गर्नुपर्छ । यदि यो महाधिवेशनमा पनि कर्णालीलाई चुकाइयो भने हाम्रा नेताहरु ‘लाटो गाउँका गाँडा तन्नेरी’ बन्नु शिवाय केहि हुने देखिदैन् ।’ उनले भने ।