‘भ्रष्ट र तस्करसँग एक मिनेटपनि समय विताउँदिन’

सुर्खेत । २०३६ साल मंसिरमा सुर्खेतको बराहताल गाउँपालिकाको तरंगामा जन्मिएका झकबहादुर मल्ल ‘सुदीप’ अहिले नेपाली कम्युनिष्ट पार्टीबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट ‘तारा’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् । १४ वर्षको उमेरमै राजनीतिमा लागेका मल्ल २०५० सालमा विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) मा संगठित भए । २०५३ सालमा एसएलसी पास गरेपछि झकबहादुर विद्यार्थी राजनीतिसँगै पार्टी राजनीतिमा पनि सक्रिय हुन थाले ।
२०५५ सालमा अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष भए । सोही वर्ष पार्टीको जिल्ला सदस्य भएका उनले पश्चिम दैलेख क्षेत्रको इञ्चार्जसम्म भएर काम गरे ।
१८ भदौ २०५७ मा तत्कालीन सरकारले माओवादी भएको आरोपमा उनीसहित १५ जना विद्यार्थी नेताहरूलाई पक्राउ गरेर सुर्खेत पु¥यायो । मल्लकै घरमा बसिरहेका बेला विन्दमान विष्टसहितलाई प्रहरीले पक्राउ गरेको थियो । गिरफ्तारीपछि ३५ दिन हिरासत र त्यसपछि जेल जीवन भोगेका झकबहादुर लगायतका विद्यार्थी नेताहरूले ०५८ साल माघ २ गते सुर्खेत जेल ब्रेक गरे, जसको नेतृत्व मल्लले गरेका थिए ।
उनकै नेतृत्वमा १५ जना माओवादी आस्थाका विद्यार्थी नेतासहित कूल ३० जना सुरुङ खनेर जेलबाट भाग्न सफल भए । सुर्खेत ‘जेलब्रेक’ घटना माओवादी जनयुद्धको चर्चित घटना हो ।
उनै मल्लसँग उनको चुनाव प्रचारप्रसार, जनअपेक्षा र उनले पुरा गर्न सक्ने प्रतिबद्धताबारेमा कुराकानी गरेको छ । प्रस्तुत छ उनिसँग गरिएको कुराकानीको सारसंक्षेपः
तारा चुनाव चिन्ह लिएर तपाई सुर्खेतको दुई निर्वाचन क्षेत्रका अधिकांश क्षेत्र घुमि सक्नुभएको छ । तपाईको उम्मद्वारी प्रति यस क्षेत्रका आम मतदाताको कस्तो प्रतिक्रिया रहेको पाउनुभयो ?
जनतामा उत्साहपूर्ण सहभागिता हामीलाई हेर्ने नजरमा पनि त्यो देखा पर्यो । दलहरु प्रतिको असन्तुष्टिका बावजुद केहि नयाँ गर्न सक्ने पार्टी र उम्मेदवारका रुपमा आम मतदाताले हेरेको अनुभुति हामीलाई भएको छ ।
तपाईहरु समक्ष आम मतदाताले आफ्नो क्षेत्रमा रहेका विभिन्न समस्याहरु पनि देखाएका होलान । तपाईको क्षेत्रका आम मतदाताले कस्ता खालका समस्याहरु राखे ?
खानेपानीको समस्या असाध्यै जटिल समस्याको रुपमा हामीले पायौं । शिक्षा र स्वास्थ्यको समस्या त्यत्तिकै जटिल रुपमा रहेको छ । भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको चरम समस्या छ । गाउँ–गाउँसम्म पुग्ने पहुँचमार्ग सडकहरुको अवस्था अत्यन्त दयनीय छ । यो लगायतका थुप्रै समस्याहरु व्यक्त गर्नुभएको छ, जुनकुरा हामीले समाधान गर्न सक्छौंँ र सक्नुपर्दछ भनेर अठोट गरेर आएका छौँ ।
“म आफु एक रुपैंया पनि भ्रष्टाचार नगर्ने, कोहीपनि भ्रष्ट, तस्करहरुसँग एक कप चिया नखाने, उनिहरुसँग एक मिनेट समय नबिताउने, जनताको निगरानीमा रहने प्रतिबद्धता पनि गरेको छु ।”
विद्युत र टेलिकमको समस्या पनि देखिएको छ । नेपाल टेलिकमको नेटवर्क अझै पुग्न नसकेको अवस्था छ, मोवाईल डाटाको कुरा त परको कुरा हो ।
तपाईको निर्वाचन क्षेत्रमा बग्रेल्ती समस्या देख्नुभयो, यदि तपाई निर्वाचित हुनुभयो भने ती समस्या समाधान कसरी गर्छु भनेर मतदातालाई आश्वासन दिई रहनुभएको छ ?
पटक–पटक दलहरुलाई मतदान गरेर थकित भएका मतदाताहरुलाई हामीले के भनेका छौँ भने यो एउटा सफ्टवेयरको अपडेट जस्तै हो । तपाईहरुले विगतमा जसरी भोट हालेर थाक्नुभएको छ, अन्तिम पटक तपाईहरुलाई अनुभुति हुनेगरी विकासको प्रतिबद्धता लिएर आएका छौँं । यसपटकको भोट तपाईहरुको एक ‘क्लीक’ जस्तै हो, जुन क्लीकले सफ्टवेयरको अपडेट हुन्छ, त्यस्तै विकास र समृद्धिको तपाईहरुको सपना, चाहना अपडेट हुनेगरी, तपाईहरुले देख्नेगरी सुशासन, विकास र प्रगतिमा देखिने गरी हामी काम गर्छौँ भनेर प्रतिबद्धता व्यक्त गरेका छौँ । जुन प्रतिबद्धतालाई जनताले अन्तिम आशाको रुपमा लिएको हामीले महसुस गरेका छौँ ।
सुर्खेतमा चुनावी माहौल गर्माएको छ, नयाँ दल देखि काँग्रेस र एमालेसम्मले चुनाव जित्छौंँ भनिरहेको अवस्थामा हजुरको जीत सुनिश्चित भनेर कसरी भन्न सकिएला ?
सुर्खेती जनताले जहिलेसुकै परिवर्तनलाई रुचाएको, चाहेको कुरामा दुविधा छैन । पछिल्लो जेनजी आन्दोलन पश्चातको जुन राजनीतिक धरातल छ, विगतका पुराना पार्टीहरु सबैको अस्तित्व भनेको खरानी नै हो । कसैले पनि हामी ठूलो भनेर दावी गर्नुकुनै आधा्र हो जस्तो लाग्दैन । ती सबै पुराना संगठन धरातल, आधार, मनस्थितिहरु, पुराना मानसिकताहरु भत्केको स्थिति हो । यो स्थितिमा नयाँ र भविष्यप्रति आशा जगाएर, मतदाताहरुको विश्वास जितेर आफ्नो स्पष्ट दृष्टिकोण समाज बदल्ने, देशको परिस्थितिलाई सम्हाल्ने र जिम्मेवारीपूर्वक जनताको परिवर्तनको आकांक्षालाई सम्वोधन गर्ने स्पष्ट मार्ग चित्र प्रस्तुत गरेर मात्रै नयाँ आधार निर्माण गर्न सकिन्छ, त्यो नयाँ आधार निर्माण गर्ने पार्टी नेकपा र सुर्खेत दुईमा हामीले त्यो किसिमको विश्वासको आधार खडा गरेका छौँ ।जुन विशवासको आधारमा हाम्रो जीत सुनिश्चित छ र सुर्खेती जनताले आफ्नो परिवर्तनको आकांक्षालाई यतिबेला पुर्नपुष्टि गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।
तपाई सशस्त्र संघर्षकालमा जेलब्रेकको कमाण्डर पनि हो । तपाईबाट आम मतदाताले अपेक्षा पनि गरेका छन् । यदि तपाई चुनाव जित्नुभएको खण्डमा तपाईका प्राथमिकता के हुन क्रमैसँग बताई दिनुस न…
पहिलोकुरा, चुनाव जितेर काठमाण्डौंका गल्लीहरुमा हराउने परम्परालाई अन्त्य गर्छु । चौविसै घन्टा जनताको निगरानीमा, जनताको एजेण्डाहरु बोकेर हिँडने र जनताको सेवामा लाग्ने एउटा फरक जनप्रतिनिधिको पहिचान दिनेछु ।
दोश्रोकुरा, खानेपानीको अभावमा तडपेका जनताको समस्या समाधानकालागि फिल्डमै बसेर फिल्डमै गएर र सरकारी कर्मचारसँगै गएर जनताको खानेपानी, विद्युत र सिँचाईको समस्या हल गर्ने प्रयत्न गर्छु ।
तेश्रोकुरा, गरिवी र बेरोजगार युवाहरुलाई रोजगारमूलक शिक्षाद्वारा, डिजिटल क्रान्ति हामीले जो भनेका छौं, शिक्षामा डिजिटल क्रान्ती गरेर रोजगारी सिर्जना गर्छौँ । जुनसुकै तह अध्ययन गरेको युवा भएपनि उसले आठ कक्षा पढेको नेताको घर जानुपर्ने अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छौं ।
प्रत्येक पालिकामा कम्तीमा एउटा डिजिटल, आईटीमा आधारित एउटा कलेज निर्माण गरिनेछ । उद्योगधन्दा, कलकारखानाको विकासका लागि मेगा प्रोजेक्ट छन् देशलाई नै धनि बनाउने आयोजनाहरु हामीसँग छन । तिनिहरुको कम्तिमा निर्माणको काम समन्वय गरेर गर्न सकिन्छ । जसले गर्दा बेरोजगारीको समस्या जुन छ त्यसलाई हल गर्न सकिन्छ ।
चौथोकुरा, स्वास्थ्यको क्षेत्रमा पनि आधारभूत तहको विशेषज्ञ सेवा प्रत्येक नागरिकले प्राप्त गर्ने कुरा हामीले प्रतिबद्धता गरेका छौंँ । त्यो पुरा गर्न सकिन्छ । अब स्मार्टसिटी र स्मार्ट भिलेजको हाम्रो अवधारणा त्यो चाहिँ घोषणापत्रको कुरा हो । दुई वर्ष भित्र भोकमरी अन्त्य गर्ने कुरा छ त्यो पनि हामीले कमिटमेन्टमा राखेका छौँ । सँगसँगै विमानस्थल विस्तार गरेर ठूलो विमान बस्नसक्ने व्यवस्थाका लागि समन्वय गर्न सकिन्छ । त्यसैगरी रत्न राजमार्गलाई स्तरोन्नती गर्ने र त्यसकालागि पटकपटक बजेट भएपनि कार्यान्वयन हुन सकेको अवस्था छैन त्यसलाई हल गर्न सकिनेछ र एउटा मेडिकल कलेज स्थापनाका लागि पहल गर्न सकिन्छ ।
सुशासनको कुरामा मैले के भनेको छु भने म आफु एक रुपैंया पनि भ्रष्टाचार नगर्ने, कोहीपनि भ्रष्ट, तस्करहरुसँग एक कप चिया नखाने, उनिहरुसँग एक मिनेट समय नबिताउने, जनताको निगरानीमा रहने प्रतिबद्धता पनि गरेको छु ।







पहिलोप्रेस
६ फाल्गुन २०८२, बुधबार ०८:४२