‘सन्काहा’ पाइलटलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
फाइल फाेटाे
काठमाडौं ।
आकाशमा प्लेन उडाउँदै गर्दा नेपाल एयरलाइन्सका पाइलटले यात्रुले टिकट काटेको ठाउँमा नपुर्यार बीचैमा अवतरण गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रुकुम जानका लागि उडेको प्लेन नेपालगञ्जमा अवतरण के कारणले गरेको हो भनेर स्पष्टीकरण सोधेको बताए ।
‘मैले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मार्फत पाइलट पेम्बा शेर्पालाई स्पष्टीकरण सोधेको छु । निगम मार्फत के करणले बीचमा नै प्लेन अवतरण गरेको हो भन्ने कुरा आउने छ’, मन्त्री आलेले भने, ‘मैले नेपाल वायुसेवा निगमलाई माथि उठाँउन धेरै काम गरेको छु । तर मलाई नै असहयोग भइरहेको छ । म असयोग भयो भनेर चुप बस्नु मान्छे हैन् । मलाई नेपाल वायुसेवा निगम सुधार गर्नका लागि नै यो मन्त्रालयमा पठाएको हो ।’
सरकारी कर्मचारीहरुले नै मन्त्रीले राम्रो काम गर्न लागेको देख्दा पनि सहयोग नगरेको गुनासो गरे । नेपाल वायुसेवा निगम पुरै सेटिङमा सञ्चालन भएको र अब त्यो सेटिङ जसरी भएपनि भत्काउने मन्त्री आलेले बताए ।
के भएको थियो नेपाल वायुसेवा निगममा ?
नेपाल वायूसेवा निगमका पाइलटले आफ्नो ड्यूटी सकिएको भन्दै उडाउँदै गरेको प्लेन गन्तव्यमा नै नपुगी अवतरण गरेका थिए । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमानका पाइलटले ड्यूटी सकिएको बहानामा नेपालगञ्जमा अवतरण गराएर ८ जना यात्रुलाइ अलपत्र बनाएका थिए ।
सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल जाँदै थियो । यात्रुहरु चाडै रुकम आइपुगेको सोचेर खुसी भए । तर जहाजबाट बाहिर आउँदा नेपालगञ्ज आइपुगेको थाहा पाए । विमानस्थलमा अवतरणबारे कुनै अग्रिम जानकारी समेत गराइएको थिएन ।
जहाजका पाइलट पेम्बा शेर्पा थिए । त्यो दिन शेर्पाको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म थियो । उनले ४ बजेपछि यात्रुलाई रुकुम पुर्याउन पर्नेमा नेपालगञ्जमा नै अवतरण गराए ।
पहिलोप्रेस
७ मंसिर २०७८, मंगलवार १५:३१