मन्त्री छान्न माओवादीमा बढदै सकस, तीनै जना मन्त्री फेर्ने कसरत सुरु

सुर्खेत ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाको पद संवैधानिकरुपमा गएपछि माओवादी भित्र मन्त्री छान्ने बारेमा कसरत सुरु भएको छ । हाल माओवादीमा तीन जना मात्रै मन्त्री बन्न बाँकी रहेको समयमा तीनै जनालाई मन्त्री बनाउने बारेमा बहस भइरहेको हो ।
नेकपा माओवादीका सचेतक कृष्णा शाह, रातो कामी र वीरबहादुर शाहीलाई नयाँ मन्त्री बनाउने बारेमा आन्तरिक गृहकार्य सुरु भएको हो । यसअघि सचेतक शाह, संसदीय समिति अध्यक्षमा रातो कामीलाई नियुक्त गर्ने र मन्त्रीमा डोल्पाका शाहीलाई नियुक्त गर्ने तयारी माओवादी केन्द्रले गरेको थियो ।
पूर्व मुख्यमन्त्री एवम संसदीय दलका नेता महेन्द्रबहादुर शाही पछिल्लो तीन दिन देखि एक मन्त्री बनाउने कि सबै फेर्ने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् । नेकपा माओवादीका जनार्दन शर्मा र शक्ति बस्नेतको प्रत्यक्ष हस्तक्षेपका कारण नेता शाहीले मन्त्रीको नाम टुंगो लगाउन नसकेका हुन ।
बस्नेतले विन्दमान विष्टलाई कायमै राख्न दवाव दिएका छन् भने शर्माले उस्तै परे सबै मन्त्री फेर्न दवाव दिइरहेका छन् ।
‘आज या भोलीमा को मन्त्री बन्ने भन्ने टुंगोमा पुग्छु ।’ दलका नेता शाहीले भने, ‘तीनै जना फेर्ने कि एक जनालाई मात्रै मन्त्री बनाउने भन्ने विषयमा कुरा भइरहेको छ ।’
पर्यटन मन्त्री खाली भएपछि हालसम्म माओवादीले मन्त्रीको नाम सिफारिस नगरेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । ‘उहाँहरुले सिफारिस दिएपछि मात्रै मन्त्री नियुक्त गर्ने हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘तर हालसम्म उहाँहरुले कुनै पनि मन्त्रीको नाम दिनु भएको छैन ।’
मंसिर ४ गते चुनावको मिति तोकिएपछि चुनावी सरगर्मी समेत बढेको छ भने माओवादी सांसदहरु मन्त्री बनेर गाउँ फर्कन र चुनावमा होमिन लागि परेका हुन ।
पहिलोप्रेस
२५ श्रावण २०७९, बुधबार ०९:१०