कर्णाली सरकारको ‘बगैंचा एक स्वामित्व अनेक’ अभियान प्रभावकारी बन्दै
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको बगैंचा एक स्वामित्व अनेक कार्यक्रम प्रभावकारी हुने देखिएको छ । यसअघि कर्णाली सरकारले अनुदान दिदा दुरुपयोग हुने गरेको आरोप लागिरहेको समयमा थोरै जग्गा हुने किसानले यो कार्यक्रमबाट लाभ लिने देखिएको हो ।
कर्णालीका गाउँ बस्तीमा जग्गामा भागवण्डा गर्ने भएका कारण अधिकांश कृषकसँग जग्गा जमिन थोरै हुने गरेको छ । भाइहरुमा जग्गाको भागवण्डा हुने भएका कारण बारीहरु खण्डित हुने र त्यहाँ एक जनामा लगानी गरेको खण्डमा अरुले वास्ता नगर्ने भएका कारण सरकारले अनुदान दुरुपयोग रोक्न र फलफूल खेतिमा कर्णालीलाई आत्मनिनर्भर बनाउन यो कार्यक्रम सुरु गरेको हो ।
पुर्वि सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. १२ को भट्टेचौर १९ घरले अहिले आफ्नो बारीमा ड्रागन फलफूल खेति गर्न थालेका छन् । कुल २३ घरधुरी समेटिएको विकाससिल तरकारी तथा फलफूल समूह नाम दिइएको उक्त समूहमा अहिले २०७५ पिल्लरमा ८ हजार ८५ विरुवा रोपिएको हो ।
यी विरुवाले उत्पादन दिन समेत सुरु गर्न थालेका छन् । धेरै मेहनत गर्न नपर्ने, ड्रागन खेतिसँगै अन्य नगदेवाली समेत लगाउन पाइने भएपछि कृषि विकास निर्देशनालयको ४० लाख अनुदानमा १९ घरधुरीले ‘बगैंचा एक, स्वामित्व अनेक’ कार्यक्रम अन्र्तगत सो परिमाणमा ड्रागन खेति सुरु गरेका हुन ।
‘यो फलफूल खेति गर्न थालेको केहि समय मात्रै भएको छ । विरुवा फूल्न थालेका छन् । अबको दश पन्ध्र दिनमा उत्पादन दिन सुरु हुन्छ ।’ समूहका सहसचिव दोमनबहादुर गाहा भन्छन्, ‘मैले आफ्नो बारीमा ९४४ बेर्ना रोपेको छु । यो विरुवाले अबको केहि दिनमा उत्पादन दिन्छ ।’
उनी मात्रै होइनन्, अहिले उक्त टोलका सबै कृषक खुशी भएका छन् । एक कृषकले कम्तिमा पनि पचास हजार देखि एक लाख सम्मको ड्रागन फ्रुटको वेर्ना विक्री समेत गरिसकेका छन् ।
‘यसअघि हामीले हाम्रो बारीमा मकै, धान, गहुँ आदि लगाउने गरेका थियौं ।’ गाहा भन्छन्, ‘त्यो परम्परागत खेति भएका कारण हामीलाई जीवन गुजारा गर्न हम्मे हम्मे पर्दै आइरहेको थियो । हरेक वर्ष भारत वा अन्य रोजगारी गर्न गाउँ छोडेर टाढा जानुपर्ने अवस्था सिर्जना हुने गरेको थियो ।’ कृषक मनिकला थापा भन्छिन््, ‘तर यो ड्रागन विरुवाको पातको वेर्ना बनाएरै पनि आम्दानी हुने भएका कारण यसबाट मनग्ये आम्दानी हुने सम्भावना देखेका छौं ।’
कृषकले निर्देशनालयको अनुदान जति नै आफूले पनि लगानी गरेका छन् । सिमेन्टको पोल बनाउनै ज्यामी खर्च सहित प्रति पोल ३३ सय खर्च लागेको उनीहरुले बताए ।
‘यो खेतिमा अन्य जस्तो रोग नलाग्ने रहेछ । हामीलाई दुम्सी, बदेंल र बाँदरको पो बरु डर लाग्न थालेको छ ।’ थापा भन्छिन्, ‘तर त्यसकालागि कुरुवा राख्नुपर्ने भएपनि हामी राख्छौं ।’
समूहका अध्यक्ष पुर्णबहादुर रोकाले अहिले आफूहरुसँग १४ सय भन्दा बढि ड्रागनका वेर्ना तयार रहेको बताए । ‘यहाँ १८ ओटै घरमा नर्सरी राखेर वेर्ना उत्पादन गरिरहेका छौं । कसैलाई चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुनेछ ।’ उनले भने, ‘हामीले प्रति वेर्ना रु दुइ सयमा विक्री तथा वितरण गर्दै आइरहेका छौं ।’ उनको फोन नम्बर ९८४८२१०८०९ मा सम्पर्क गरेर इच्छुक कृषकले बेर्ना लैजान सक्नुहुन्छ ।
कृषि निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायले यो अभ्यास नयाँ भएको बताए । ‘बगैंचा एक, स्वामित्व अनेक भनाईको मतलब कम्तिमा एक टोलका नागरिकलाई एक फलफुल खेतिमा आकर्षित गर्न यहाँ यो कार्यक्रम लागु गरिएको हो ।’ उनले भने, ‘सुर्खेतमा हाल ८०० रुपैंया प्रतिकिलो विक्री हुने गरेको भएपनि अबको केहि वर्षपछि उत्पादन बढने भएका कारण यसको मूल्य दुइ सय सम्म पनि आउन सक्छ । तसर्थ हाललाई ड्रागनको बजार व्यवस्थापन गर्न चुनौती नभएपनि केहि वर्षपछि त्यो समस्या आउनेछ । त्यसकालागि हामीले आवश्यक बजारीकरणका लागि विभिन्न नीजि तथा सरकारी निकायसँग सहकार्य गर्ने रणनीति तय गर्न लागेका छौं ।’
पहिलोप्रेस
२५ श्रावण २०७९, बुधबार १०:२२