झुट्टा विवरण दिई भुक्तानी दिएको आरोपमा तत्कालिन डिएफओ दाहालसहित सात जना विरुद्ध अख्तियारद्धारा अदालतमा भ्रष्टाचार मुद्दा दायर
सुर्खेत ।
झुठ्ठा विवरण बनाई भुक्तानी दिएको आरोपमा सुर्खेतका तत्कालिन वन अधिकृत गोविन्द प्रसाद दाहाल सहित ७ जनाविरुद्व विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुठ्ठा विवरण पेश गरि रकम भुक्तानी दिने÷लिने विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
डिभिजन वन कार्यालय सुर्खेत तत्कालीन डिभिजनल वन अधिकृत दाहाल र सहायक वन अधिकृत टेक बहादुर रावल सहित ७ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३–४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको जनाईएको छ ।
वास्तविक कामभन्दा बढी काम गरेको देखाई चार लाख ३६ हजार ७२२ रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
प्रवक्ता भण्डारीले सरकारलाई हानिनोक्सानी पुयाएकाले उनीहरुलाई भ्रष्टाचार निवारण ऐनल बमोजिम कारबाही हुने भएको छ ।
दहाल र रावल विरुद्ध चार लाख ३६ हजार ७२२ रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।
कारण बिना लागत इस्टिमेट अस्वाभाविक रुपमा बढाई यथार्थ नाँपजाच गरी कार्य मुल्यांकन गर्नुको साटो एलिसा डिजाइन्स एण्ड विल्डर्सका प्रोपाइटर लोकेन्द्र रानाले नभएको, नगरेको कार्य नक्कली बिल भरपाई बनाई नापी किताब, कार्यसम्पन्न प्रतिवेदन बनाई पेश गरेको प्रवक्ता भण्डारीले जनाए ।
नापी किताब एवं कार्य सम्पन्नलाई एकिन नगरी हचुवाको भरमा उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेतले हस्ताक्षर गरी बुझाएका थिए ।
कोटेश्वर दरबार निर्माण उपभोक्ता समितिका अध्यक्ष रुद्र बहादुर बस्नेत, उपाध्यक्ष ध्रुव कुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष पदमा कुमारी बुढाले विरूद्व चार लाख ३६ हजार ७२२ रूपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको छ ।
पहिलोप्रेस
८ आश्विन २०७९, शनिबार ०७:४६