Loading... आजः ४ पुष २०८१, बिहीबार

‘कर्णालीबारे थाहा पाउन शून्यको समय अध्ययन गर्न आवश्यक’


सुर्खेत ।
बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ ।

उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी डोयनले आज संयुक्तरुपमा लोकार्पण गरे ।

सिर्जनात्मक गैर आख्यान विधामा लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गरिन ।

‘डा.केसी यो पुस्तकको कल्पनाकार मात्र हुनुहुन्न, दर्शनकार पनि हुनुहुन्छ ।’ उनले भने, ‘यसलाई पढ्दा हरेकले आधा कर्णाली घुम्नेछ । आमा नहुँदा पनि मातृवात्सल्य प्राप्त हुनु नारीवादको अर्को ज्वलन्त उदाहरण हो भन्ने देखाइएको छ र यहाँका सत्य दृष्टान्त पुस्तकमा पाइन्छ । सरल, सरस र यथार्थताको गहिराई पुगेर लेखिएको ‘शून्यको मूल्य’ पुस्तकले डा.केसी काविल देखिन्छन् ।’

उनले थपे, ‘यो पुस्तक देशका प्रधानमन्त्रीका साथै मन्त्रीहरुको हातमा हुनुपर्छ, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरुले यसको अध्ययन गर्नुपर्दछ । जसले यहाँको वास्तविकता राम्रोसँग थाह पाउने छने कि कर्णालीमा अझै यस्तो रहेछ भने । यो पुस्तक आफैमा एउटा अभियान भएको बताउँदै उनले उपचार गर्ने पैसा नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता भोग्दै आएका नागरिकहरु पनि मुक्तिको साहस गर्नपनि माहिर रहेको प्रतिक्रिया दिए ।

उनले चार सय वर्षदेखि पैतालाको धुलो सरी राज्य र खबरदारी गर्ने नागरिक समाजले बेनाम र अस्तित्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, सस्कृति, सस्कार, चलन, प्रथा, दासत्वका नाममा गाँजिएको महिला माथिको शोषण विरुद्धका लागि ‘शून्यको मूल्य’ले दश रेक्टर स्केलको भूकम्प जस्तै भएको जिकिर गरे ।

सिएनएन हिरो तथा लेखिका म्यागी डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा.केसीले शब्द चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ भएको जनाईन । ‘शून्यको मूल्यबारे थाहा पाउन हरेकका लागि यो किताब महत्वपूर्ण छ ।’ उनले भने, ‘सबै सामु पुग्नुपर्दछ र सबैले पढ्न पाउनुपर्छ, विशेषगरी नीति निर्माताहरुले ।’

‘शून्यको मूल्य’का लेखक डा.केसीले पुस्तकमा कर्णालीको आमाहरुले गुमनाम भएर सन्तानहरुका लागि गरेको संघर्ष, सामाजिक विभेदभित्र लुकेको अन्तर्यको लडाई र डोको बोक्नेहरुबाट सिकेको ‘जीवनवारिधि’का बारेमा लेखिएको बताए । ‘टाई लगाएर मात्र होइन, डोको बोकेर पनि प्राध्यापकहरु आउँदा रहेछन्, जो मैले कर्णालीमा पाए ।’ उनले भने ।
पुस्तकहरु छुटेपनि जीवनको पढाई छुटाउन नहुने भन्दै डा.केसीले विश्वमा लिखित भाषा कर्णालीले दिएकोले अब हरेकलाई लेखन यात्रा सुरु गर्न आग्रह गरे ।

एक फरक प्रसंगमा उहाँले महाभारतको युद्धमा भगवान् कृष्ण भएपनि मर्यादित महिनावारीको युद्धमा राधा पौडेलको लडाई निरन्त अघि बढेको बताए ।

कर्णाली आफैमा विश्वविद्यालय हो र यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठुलो डिग्री हो भन्ने सन्देश संसारमाझ पुर्याउन शून्यको मूल्य पुस्तक तयार भएको उहाँको भनाई थियो । कार्यक्रम सहभागीहरुले पुस्तकले कर्णालीको वास्तविकता बोलेको भन्दै उच्च प्रंशसा गरेका थिए ।


सम्बन्धित समाचार