Loading... आजः ४ पुष २०८१, बिहीबार

प्रदेश सांसद अधिकारीसँग प्रश्न : नगरको टिकट समेत नपत्याएको काँग्रेसले प्रदेशसभाको टिकट कसरी दियो ?

पञ्चायत व्यवस्था विरुद्ध लडदा दर्दनाक यातना व्यहोरेका अधिकारीको कथा
तस्वीरः सल्यान जिल्लाबाट निर्वाचित प्रदेश सांसद सुरेश अधिकारी

शेरबहादुर थापा/सुर्खेत ।
सल्यान जिल्ला वाम पन्थीदलहरुको गढको रुपमा लिइन्थ्यो । यसपटक भएको प्रदेश र संघीय निर्वाचनमा माओवादी, समाजवादी र काँग्रेसको गठबन्धन बन्नु र शारदा नगरपालिकामा जनमूखि काम गरेर वाहवाही कमाएका काँग्रेस क्षेत्री सभापति एवम युवा नेता सुरेश अधिकारी प्रदेश सभा उम्मेदवार बन्नु काँग्रेस सल्यानका लागि अभूतपूर्व सफलताको रुपमा प्रमाणित भयो ।

राजनीतिक शास्त्रमा एम ए गरेका वौद्धिक नेता, सल्यान जिल्लाको प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ बाट निर्वाचित सांसद अधिकारीसँग उनका राजनीतिक जीवनका अनेकन लुकेका पाटाहरुबारेमा कुराकानी गरेका छौं । प्रस्तुत छ, पञ्चायत विरोधी आन्दोलनमा सहभागि भएको भन्दै हातका दश औंलामा पिन ठोकेर दर्दनाक यातना खेपेका प्रदेश सांसद अधिकारीसँग गरिएको कुराकानीको सारसंक्षेपः

कम्युनिष्टको गढको रुपमा लिईदै आइएको सल्यान जिल्लामा काँग्रेसको उम्मेदवार बनेर विजयको झण्डा फहराउनुभयो । आखिर कसरी जीत सम्भव भयो ?
मेरो पार्टीको घोषणापत्र र मेरो विगत १९ वर्षसम्म सल्यान जिल्ला विकास समितिमा निमित्त स्थानीय अधिकारी र योजना अधिकृतको रुपमा मैले काम गर्दा खेरि जनतामा लगाएको गुन, जनतासँग गरिएको व्यवहार, त्यसपछि म पाँच वर्ष शारदा नगरपालिकाको नगरप्रमुख भएँ । नगरप्रमुख हुँदा मैले जनताको मन जित्ने गरि गरेका कामहरु, विकासनिर्माणका कामहरु, जनतालाई दुख सुख पर्दा साथ दिएका कार्यहरु र मेरो व्यवहार अनि संघर्षले नै मलाई यो ठाउँमा पु¥याएको हो । जनताको अपार माया, प्रमे, स्नेह र मेरो विकासप्रतिको लगावका कारण सल्यानी जनताले मलाई विजेता बनाएका हुन ।

तपाईको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम निर्वतमा कर्णाली प्रदेश सभा सदस्य गुलावजंग शाह चुनावमा उठनु भएको थियो । उहाँसँग चुनाव लडदा कत्तिको गाह्रो महसुस भएको थियो ?
उहाँ एकदम भद्र, शालीन व्यक्तित्व हो । उहाँसँग मेरो धेरै लामो साथसंगत पनि भएको थियो, पार्टी फरक भएपनि । त्यस्तो गाह्रो केहि पनि भएन । हामी जनताको बीचमा एकदम शालिन तरिकाले गयौं । दुवै जनाका मञ्च फरक भए । दुवै जनाले मत माग्यौं । अब जनताले मलाई विश्वास गरे उहाँलाई विश्वास गरेनन । जनताले गरेको कुरा हो यो ।

जनताले तपाईलाई नै विश्वास गर्नुपर्ने कारण चैं के रहेछ ? के गर्नुहुन्छ तपाई त्यहाँका जनताका लागि आगामी पाँच वर्षमा ?
जनताको इच्छा, आकांक्षा र अपेक्षा धेरै छ । हिजो जिल्ला विकासमा हुँदा खेरि हिड्दा हिंड्दै योजना बाँडछ भनेर मलाई भन्थे । बाँडने स्थानमा पनि म थिएँ । हिजो नगरप्रमुख भएँ, ओहो सुरेश अधिकारीले हिडदा हिँडदै जनताको काम गर्छ भन्ने छाप छोडेको थिएँ ।

अब पाँच ओटा पालिका मेरो क्षेत्रमा छन् । पाँच पालिकामा म शारदा नगरपालिकाको मात्रै नभएर म जिल्ला भरिकै दाई भाईहरुको काम गर्थें । मेरो घर सदरमुकाममा पनि थियो त्यसले गर्दा पनि मलाई सजिलो भयो । एमाले, माओवादी, काँग्रेस सबै दलका साथीहरुसँग मेरो राम्रो सम्वन्ध थियो । आत्मियता थियो ।

हिजोका जनप्रतिनिधिले हामी यो गर्छौं, त्यो गर्छौं भन्ने तर काम नगरेका, र चुनाव पछाडी मतदाताका बीचमा एक चोटी पनि तपाईे हामीलाई जिताउनुभयो भनेर धन्यवाद दिनसम्म नगएका, विकास निर्माणका कामहरु पनि नगरेका, गर्न गरेका तर जनताको चित्त बुझ्दो, जनताको चाहना अनुसारको काम नगरेका ।

मैले जनताको बीचमा चुनावमा बाचा गरेको छु । बाटो नपुगेको ठाँउमा बाटो पु¥याउनेछु । खानेपानी नपुगेको ठाँउमा खानेपानी पु¥याउनेछु । तपाईहरुको सुख दुःखमा साथ दिनेछु, यसपटक एकपटकका लागि मलाई हेर्नुस तपाईहरुले । पछाडी तपाईहरुले महसुस गर्नुहुनेछ र सुरेश अधिकारी भन्दा अरुलाई हामी भोटै हाल्दैनौं भन्ने गराउँछु भनेको थिएँ । मेरो भनाई अनुसार जनताले मलाई विश्वास गर्नुभयो । मसित प्रतिस्पर्धा गरेका नेतालाई पछाडी पारेर म अगाडी आएँ ।

तत्कालिन जिविसको नि. स्थानीय अधिकारी पनि बन्नुभयो । पाँच वर्ष नगरप्रमुखको रुपमा पनि काम गर्नु भयो । जनप्रतिनिधिको रुपमा तपाईको दोश्रो कार्यकाल हो । कर्मचारी हुनु र जनप्रतिनिधी हुनुमा कुन सहज लाग्यो ?
व्यक्तिगत जीवनका कुरा गर्ने हो भने कर्मचारी नै ठिक छ । गयो, कार्यालयमा बस्यो घाम ताप्यो त्यो गर्नेलाई । म त्यहिँको स्थानीय भएका कारण मैले त्यो गर्न पनि सकिन । मैले जनता नै भगवान हुन भन्ने सोचें, जनतालाई नै मैले माथि राखें । मैले काम गर्दा स्थानीय अधिकारी हुँदा होस या नगरप्रमुख हुँदा होस कुनै फरक छैन ।

स्थानीय विकास अधिकारी हुँदा र जनप्रतिनिधि हुँदा जनताप्रति थप जिम्मेवार हुनुपर्ने, उदार हुनुपर्ने, जनताको भावना अनुसार चल्नुपर्ने काम भने प्रतिनिधि हुँदा गर्नुपर्ने रहेछ ।

काँग्रेस प्रतिपक्षी दलको कित्तामा उभिँदा तपाईलाई जनताको विचमा गरेका प्रतिबद्धता पुरा गर्न समस्या होला । चुनावताका तपाईले सल्यानमा उठाएका प्रमुख प्राथमिकता के के हुन ?
खलंगा देखि तुल्सीपुर सम्मको मोटरबाटो, खलंगा–वालुवासंग्रही हुँदै सुर्खेतसम्मको मोटरबाटो, खलंगा कालीमाटी रामपुर हुँदै नेपालगन्ज जोडने मोटरबाटो यी महत्वपूर्ण योजना हुन ।

पालिका स्तरमा निर्माण भएका र चलिरहेका बाटाहरुलाई स्तरोन्नती गर्ने र खानेपानी नपुगेका ठाँउमा खानेपानी पु¥याउने सपना छ ।

जिल्लाका सबै पालिकामा रहेका विद्यालयका भवनहरु जीर्ण, रुग्ण अवस्थामा छन् । ती विद्यालयमा जाउँ जाउँ, पढौं पढौं बनाउनु पर्नेछ । यो काम गर्न सक्छु भनेर लागेको छु । सरकारमै बसेर मात्रै हुन्छ भन्ने छैन, प्रतिपक्षमा नै बसेर भएपनि हामी काममा लाग्छौं र त्यो सम्भव छ ।

भनेपछि, चुनावताकाका प्रतिबद्धताहरु पाँच वर्षमा पुरा गर्नुहुन्छ…
पाँच वर्षमा मैले बोलेका महत्वपूर्ण कुराहरु पुरा हुन्छन् । पाँच वर्षको बीचमा त जनताका अरु चाहना पनि आउँछन नि…

पहिले कर्मचारी हुनुहुन्थ्यो । आजको यो अवस्थासम्म आइपुग्न कत्तिको संघर्ष गर्नुभयो ? अलिकति बताई दिनुहोस न ।
२०४६ सालमा पञ्चायत ढाल्नका लागि जनआन्दोलन भएको थियो । त्यतिखेर देखि नै म विद्यार्थी राजनीति गर्न सुरु गरेको हो । देशमा लोकतन्त्र चाहिन्छ, बहुदल आउनुपर्छ, पञ्चायत ढल्नुपर्छ भनेर लागेको हो । म कक्षा आठमा पढने बेलामा मैले पर्चा पम्पलेट वितरण गर्ने गर्थेँ । त्यतिेबला मलाई सात दिन प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । घरबाट खाना खाँदा खाँदै मलाई प्रहरीले लगेको थियो ।

नेत्रलाल श्रेष्ठ पञ्चायतको नेता हुनुहुन्थ्यो, पढने बेलामा किन यस्तो गर्छस ? भनेर भन्नु हुन्थ्यो । मेरो ब बुवाले पनि त्यहि भन्नु भयो । त्यतिखेर डिल्ली रेग्मी जेलमा हुनुहुन्थ्यो । उहाँलाई सहयोग गरेको र उहाँले भने अनुसारको काम गरेका कारण मलाई हिरासतमा राखिएको हो ।

हिरासतमा कत्तिको यातना पाउनुभयो ?
मेरो दुवै हातका दश ओटैं औलामा प्रहरीले पिन घोचेको थियो । मलाई बोरामा हालेर त्यस्तो यातना दियो कि भनेर अहिले साध्य नै छैन । त्यतिखेर तुरुन्तै बहुदल आयो । त्यतिबेला मैले सिडियोलाई बेसरी झपारेको पनि छु । मलाई तै होइनस त्यस्तो सजाय दिने भनेर मैले त्यस्तो काम गरें ।

हिरासत मुक्त भइसकेपछि राजनीतिमा लागौं भन्ने भयो वा नलागौं भन्ने भयो उतिबेला ?
दुई चार दिन डर लाग्यो । यतिसम्मकी प्रहरीलाई देख्यो कि मुटु काँप्थ्यो । मेरो घर सदरमुकाममौ भएका कारण प्रहरी देखेपछि म घरभित्र पस्ने गर्थें । पछि बहुदल आइसकेपछि नेताहरु मेरो घरमा आउने, बस्ने गर्थे, त्यसपछि यो त राम्रो चीज रैछ नि भन्ने लागेर पढाई तिर भन्दा पनि त्यतातिर बढि लागियो ।

त्यतिखेर देखि नै मेरो राजनीतिक यात्रा सुरु भएको हो । त्यतिबेला म नेविसंघको सदस्य थिएँ । उतिबेला खुलारुपमा सदस्यता लिन पाँइदैन थियो ।

त्यसपछि बहुदल आयो । बहुदल आएपछि सल्यान क्याम्पसको संस्थापक स्ववियु सभापति भएँ । उक्त कार्यकाल विताएर म जागिरे जीवनमा सहभागि भएँ ।

कर्मचारी हुँदाको राजनीतिक जीवन कसरी अघि बढाउनुभयो ?
२०५२ साल फागुन एक गते जनयुद्ध सुरु भएकै दिन मैले नियुक्तिपत्र बुझेको थिएँ । यो अच्चमको संयोग नै हो भन्ने ठान्छु । त्यसपछि नेपाली काँग्रेस निकटको कर्मचारी संघको म जिल्ला अध्यक्ष बनें । त्यसपछि संघ र युनियन मर्ज भए । त्यसको पनि म अध्यक्ष भएँ । २०७४ सालको स्थानीय तहको निर्वाचन भन्दा दुई महिना अघि मैले १९ वर्षे जागिरे जीवन छोडें र राजनीतिमा होमिएँ । २०७४ सालको निर्वाचनमा शारदा नगरपालिकाको प्रमुखमा म उम्मेदवार बनें र विजय पनि प्राप्त गरें ।

शारदा नगरपालिका एमालेको गढ हो । त्यो बेलामा नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले दुई पटक चुनाव लडदा १५–१६ हजार मत मध्ये पनि १८ सय मत मात्रै ल्याएको ईतिहास थियो । मलाई टिकट दिनुको अर्थ के थियो भने यसको जागिर पनि जान्छ र चुनाव पनि हार्छ । अनि हामीजस्तै हुन्छ भन्ठानेर केहि साथीहरुले राजीनामा दिएर आउन भने । मलाई पनि राजनीति गर्ने इच्छा थियो । मैले राजीनामा दिए । उम्मेदवार पनि बनें । चुनाव लडें नगरवासीले एमालेको त्यस्तो अखडामा पनि जिताए । म स्थानीय विकास अधिकारी हुँदा राम्रो गरेको थिएँ । त्यो कारणले म जित्न सफल भएँ त्यसपछि मात्रै जिल्लामा नेपाी काँग्रेसको संगठन मजवुत भयो ।

म मेयर भइसकेपछि काँग्रेसले फुर्तिफार्ती गर्ने भएको हो ।

यसमा मलाई फेरि मेयर नै लडने इच्छा थियो । किनभने म जनताको असाध्यै प्यारो बनिसकेको थिएँ । सबैपार्टीका नेताले मलाई नै लडन अनुरोध गर्ने गर्थे । मैले ठूलठूला योजना पनि नगरपालिकामा लगेको थिएँ । सामीको, शिक्षाको र खानेपानीको योजना लगेको थिएँ । त्यो योजना हाम्रो र वीरेन्द्रनगरमा मात्रै छ । त्यो काम गर्ने र अरु काम पनि गर्ने अनि जनताको मायाले गर्दा फेरि मेयर नै लडछु भन्ने निष्कर्षमा म पुगेको थिएँ । टिकट नै दिएनन् ।

म क्षेत्रीय सभापति, बहालवाला नगरप्रमुख अझ भन्नुस, टिकटको सिफारिस गर्ने व्यक्ति पनि मै थिएँ । बहालवाला मेयर, राम्रो काम गरेको छ, दुई पैसा वेईमानी पनि गरेको छैन, तरपनि टिकट दिएनन् । माननीय हुन लेखेको रहेछ त्यहि भएर टिकट नपाएको रहेछु ।

तपाईलाई राजनीतिमा आइसकेपछि भयो यस्तो राजनीति नगरुम झौं कहिल्यै लाग्यो ?
म मेयरको रुपमा दोहारिन चाहेको थिएँ । अझ राम्रो काम गर्छु । कसैले औंलो ठड्याउने काम गर्न सकेका थिएनन्, जनताको प्यारो भइसकेको थिएँ । टिकट जुन खोस, टिकट दिएनन् नि त्यतिबेला राजनीतिमा लागेर बेकार गरिएछ भन्ने लाग्यो । करिब डेढ महिना मलाई तनाव भएको थियो ।

नगरको टिकट समेत नपत्याएको काँग्रेसले प्रदेश सभाको टिकट कसरी दियो ?
गठबन्धनका दलहरुबीचमा सुरेश बाहेक अरुले जित्न सक्दैनन् भन्ने थियो । सबैले माग पनि गरे । म आफैं क्षेत्रीय सभापति भएका कारण आफ्नो नाम आफैंले सिफारिस गरें, जिल्लाले मेरो नाम सिफारिस गरेन । कर्णाली प्रदेश पार्टी कार्यालयबाट बुझ्न सल्यानमा साथीहरु जानुभयो । सुरेश नहुने हो भने गठबन्धन नै जित्दैन भन्ने भएका कारण मलाई टिकट दिएका हुन ।


सम्बन्धित समाचार