वडाबाटै सेवा प्रवाह गर्न वीरेन्द्रनगरका वडाअध्यक्षलाई मुख्यमन्त्री कँडेलले दिए निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तत्काल वडाबाटै नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ देखि १२ सम्मका वडा कार्यालय जेन जी आन्दोलनका कारण ध्वस्त भएका कारण नगरपालिकाले जिल्ला समन्वय समितिको हलमा असोज ५ गतेदेखि वडाका नागरिकले सहज रुपमा सेवा पाउन भन्दै एकीकृत सेवा सञ्चालनमा ल्याएको हो ।
सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले वडाबाटै सेवा प्रवाह गर्नुपर्ने भन्दै नगरपालिकाको आलोचना गरेपछि आज स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री कँडेलले तत्काल वडाबाटै सेवा प्रवाह गर्न निर्देशन दिएका हुन ।
१ नम्बर देखि १२ नम्बरसम्मका वडाअध्यक्षलाई राखेर मुख्यमन्त्री कँडेलले भवन जलेको भएपनि एक कम्प्युटर राखेर जलेकै भवनबाट सेवा प्रदान गर्न निर्देश गरेका हुन ।
“भौतिक संरचना नोक्सान भए पनि जति बचेको छ त्यसबाट नै जनतालाई सेवा प्रवाह गर्नुपर्छ । कुनै पनि बहानामा जनतालाई दुःख दिन हुँदैन । सबै वडाका कार्यालय एकै ठाउँमा राख्दा नागरिकलाई दौडधुप गर्न, सेवा प्राप्त गर्न झन्झटिलो हुन्छ ।” मुख्यमन्त्री कँडेलले भने, “जति सक्यो छिट्टै वडामै फर्केर सेवा दिनुहोस ।”
गत भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा व्यापक तोडफोड र आगजनी भएको थियो ।
आन्दोलनकै क्रममा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाइमा क्षति पुगेको छ । सात वटा वडा कार्यालय पूर्ण रूपमा जलेर खरानी भएका छन् ।
वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्णरूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ मा आंशिक क्षति पुगेको छ । यस घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठूलो धक्का पुर्याएको भएपनि मुख्यमन्त्री कँडेलले जनताले पाउने सेवा–सुविधा जनताकै घरआँगनबाटै दिनुपर्छ भन्ने आफूहरुको चाहना भएको बताए ।
पहिलोप्रेस
७ आश्विन २०८२, मंगलवार १४:५२