Loading... आजः ४ पुष २०८१, बिहीबार

चालु आर्थिक वर्षको ६ महिनामा सात किलोमिटर सडक कालोपत्रे, २६० किलोमिटर सडकको ट्रयाक खोलियो

कालोपत्रे गर्ने जिल्लामा सुर्खेत, दैलेख, रुकुम, जुम्ला, दैलेख र सल्यानमात्रै
कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार,उर्जा तथा जलस्रोत मन्त्रालय ।

सुर्खेत ।
कर्णाली प्रदेश सरकार अन्र्तगत भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८०को पहिलो छ महिनामा सात किलोमिटर सडक कालोपत्रे गरेको छ भने दुई सय साठी किलोमिटर भन्दा बढि सडकको नयाँ ट्रयाक खोलेको छ ।

वितेको छ महिनामा कर्णालीका पाँच जिल्लाले मात्रै सडक कालोपत्रे गरेका छन् । भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्रालय अन्र्तगतका दश जिल्लामा रहेका कार्यालयहरु मध्ये पाँच जिल्लामा मात्रै सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको मन्त्रालयका सूचना अधिकारी भिम कार्कीले बताए ।

उनका अनुसार कालोपत्रे गर्ने जिल्लामा सुर्खेत, दैलेख, रुकुम, जुम्ला, दैलेख र सल्यान रहेका छन् ।

गत साता मन्त्रालयमा आयोजना गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको विवरण अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतले चार दशमलव १२ किलोमिटर वितेको छ महिनामा कालोपत्रे गरेको छ । यस्तै यो कार्यलयले नौ किलोमिटर ग्रावेल गरेको छ भने सोही अवधीमा यो कार्यालयले १०.९८ किलोमिटर नयाँ सडक खनेको छ । निर्देशनालयले वितेको छ महिनामा एक ओटा सडक पुल निर्माण सम्पन्न गरेको हो ।

यस्तै, पूर्वाधार विकास कार्यालय रुकुम पश्चिमले नौ सय मिटर सडक कालोपत्रे गरेको छ । साढे पाँच किलोमिटर सडक ग्रावेल गरेको कार्यालयले १९ किलोमिटर नयाँ सडक खनेको छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाले जम्म दुई सय मिटर सडक कालोपत्रे गरेको छ । साढे एक किलोमिटर सडक ग्रावेल गरेको यो कार्यालयले १३ किलोमिटर नयाँ सडक निर्माण गरेको हो ।

हुम्लाले १२ किलोमिटर सडक ग्रावेल गर्दा दुई किलोमिटर सडक नयाँ निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालय डोल्पाले ४५.५ किलोमिटर सडक नयाँ खनेको छ । यहाँ ग्रावेल र कालोपत्रे गर्ने कार्य शुन्य छ ।

जाजरकोटमा पनि ३५ किलोमिटर नयाँ सडक खनिएको सूचना अधिकारी कार्कीले बताए ।
पूर्वाधार विकास कार्यालय दैलेखले वितेको छ महिनामा १७० मिटर कालोपत्रे गर्दा ४ हजार एक सय मिटर सडक ग्रावेल गरेको छ भने ३८.३ किलोमिटर सडकको ट्रयाक खोलेको हो ।

पूर्वाधार विकास कार्यालय सल्यानले दुई कलिोमिटर सडक कालोपत्रे गरेको छ भने सात किलोमिटटर ग्रावेल र आठ किलोमिटर नयाँ ट्रयाक खोलेको छ ।

पूर्वाधार विकास कार्यालय मुगुले आठ किलोमिटर र कालिकोटले १९ किलोमिटर नयाँ सडक खनेका छन् । रुकुम पश्चिमले साढे १५ किलोमिटर ग्रावेल तथा ४९.८ किलोमिटर नयाँ ट्रयाक खोलेको छ ।

वितेको छ महिनामा मन्त्रालय मातहतका कार्यालयहरुले कुल सात दशमलव ३९ किमि कालोपत्रे, ५४.६ किलोमिटर ग्रावेल तथा २६०.५८ किलोमिटर नयाँ ट्रयाक खोलेका छन् ।

 


सम्बन्धित समाचार