सुर्खेत विमानस्थल विस्तारबारे देवकुमारले गरेको निर्णय मोहनमायाले कहिले सच्याउँलिन ?
सुर्खेत ।
पछिल्लो समय सुर्खेत विमानस्थल कर्णालीमा हटकेक बनेको छ । सुर्खेत विमानस्थललाई जंगल बनाउन सकिन्छ वा सकिदैन यसबारेमा अध्ययन गर्ने र भेरीगंगा नगरपालिका अन्र्तगत वडा नं. ९, १० लगायतमा शतप्रतिशत वन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण गर्ने भन्ने विषयमा सुर्खेतमा प्रष्ट रुपमा दुई धार देखिँदै आएको छ ।
५७ वर्षदेखि निरन्तर सञ्चालनमा आइरहेको विमानस्थललाई विस्थापन गरेर वन क्षेत्र बनाउने र भेरीगंगा नगरपालिकामा नयाँ विमानस्थल बनाउने विषय सार्वजनिक भएसँगै सुर्खेतमा राजनीतिक दल एवम गुटहरुमा विभिन्न खालका तरंग ल्याइरहेको छ ।
पूर्व प्रदेश सभा सदस्य एवम नेकपा एमालेका केन्द्रीय सदस्य ठम्मर विष्टले वर्तमान सरकारका उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले आफ्नो राजनीतिक दुनो सोझ्याउन र निरन्तर आफूलाई विकासवादी नेता देखाउन यस्तो प्रपञ्च गरेको आरोप लगाए ।
‘विगतमा उहाँहरुले राजनीतिक रुपमा आफूलाई विकासवादी नेता देखाउन छिन्चु डोल्पा सडक देखाउन थाल्नुभयो, भेरी बबई देखाउन थाल्नुभयो र नयाँ शहर आयोजनालाई देखाउन थाल्नुभयो ।’ उनी भन्छन, ‘अब ती कुरा पुराना भइसकेका कारण जनतालाई भूलभुलैयामा राख्न यो विमानस्थल निर्माण भन्ने कुरा नयाँ राजनीतिक हतियारको रुपमा उहाँले उठान गर्नु भएको हो । भेरीगंगामा विमानस्थल बन्छ र हामी यात्रा गर्न पाउँछौं भन्ने कुरा सपना मात्रै हो ।’
सुर्खेतको पुर्वि क्षेत्रका नेता कार्यकर्तासमेत उक्त क्षेत्रमा हुस्सु लाग्ने र त्यसका कारण विमानस्थल निर्माण सम्भव नहुने भन्दै राजनीतिक फाईदाका लागि यो मुद्दा उचालिएको आरोप लगाउने गरेका छन् ।
तर, २०७४ सालमा निर्वाचित भएका वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीसहितका जनप्रतिनिधिले नै सुर्खेत विमानस्थल विस्तार गर्न नसकिने भन्दै २०७७ साल माघ २८ मा आठौं नगरसभाबाट निर्णय गरेपछि विमानस्थल विस्तारको योजना रोकिएको थियो ।
त्यसपछि सुर्खेत विमानस्थलबारेमा नगरपालिकाले नै नसकिने भनेर पत्र लेखेसँगै तत्कालिन मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको योजनाको च्याप्टर क्लोज गरिदिएका थिए ।
पछिल्लो समयमा वीरेन्द्रनगर नगरपालिकामा रहेको यो विमानस्थललाई नै विस्तार गर्नुपर्ने भन्दै एमाले, काँग्रेसको संस्थापन इतर समूह, अन्य राजनीतिक दलका कार्यकर्ताहरु लागिरहेका छन् ।
यसै सन्दर्भमा केहि दिन अघि यस क्षेत्रबाट निर्वाचित संघीय सांसद हृदयराम थानी र प्रदेश सभा सांसद यामलाल कंडेलले काठमाडौंमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सँग विमानस्थल विस्तारबारेमा तत्काल निर्णय लिन भन्दै छलफल गरेका थिए ।
उक्त छलफलमा महानिर्देशकले पालिका र प्रदेश सरकारले आवश्यक निर्णय गरि पठाएको खण्डमा विमानस्थल विस्तारमा कुनै समस्या नआउने बताएका थिए ।
निरन्तरको बहस, छलफल पश्चात वीरेन्द्रनगर नगरपालिका समेत विमानस्थल सार्न भन्दा पनि विस्तार गर्नुपर्ने अडानमा फर्किएको छ ।
यद्यपी तत्कालिन नगरसभाबाट पारित उक्त निर्णय भने हालसम्म परिवर्तन गर्न नगरपालिका लागेको छैन ।
यसै सन्दर्भमा पहिलेको निर्णय कहिले सच्याउनुहुन्छ भनेर पहिलोप्रेसले प्रश्न सोध्दा नगरप्रमूख ढकाल भन्छिन, ‘त्यो निर्णयले विमानस्थल विस्तारलाई रोक्ने भनेको छ जस्तो लाग्दैन । हामी आवश्यक छलफलमै छौं । यहि विमानस्थल विस्तार गरिन्छ, यसकालागि आवश्यक व्यवस्थापन गर्न हामी तयार छौं ।’
उनले निर्णयमा विमानस्थल विस्तार कार्य रोक्ने भन्ने उल्लेख नगरेको भनेपनि त्यो सम्भावना सकिएको भन्ने निर्णय भएको छ ।
उक्त निर्णयले सुर्खेत विमानस्थल विस्तारमा अडचन ल्याएको अधिकांश स्थानीयको भनाई छ ।
पहिलोप्रेस
११ पुष २०८०, बुधबार १०:३२