कर्णालीका सबै अस्पतालमा विशेषज्ञ डाक्टर खटाईँदै
सुर्खेत । सधैं डाक्टरहरुको अभाव झेल्दै आएको कर्णालीमा अब हरेक अस्पतालमा विशेषज्ञ डाक्टरले सेवा दिने भएका छन् ।
कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा सफलता प्राप्त गरेका विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मीलाई आज नियुक्ति दिएर कार्यक्षेत्रमा खटाउने तयारी गरेको हो ।
कर्णालीमा हाल प्रदेश सरकार मातहतमा १० ओटा अस्पतालहरु रहेका छन् । यी अस्पतालमा अब आफ्नै डाक्टरहरु पठाउन लागिएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले पहिलोप्रेसलाई बताए ।
लोकसेवा आयोगले लिएको परीक्षामा मेडिकल अफिसर २९ जना, डेन्टल सर्जन ९ जना, आयुर्वेद चिकित्सक ९ जनाले नाम निकालेर सिफारिस भइसकेका छन् ।
यस्तै कर्णालीका नौ वटा पालिकाका प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टरको पदपुर्ति भएको मन्त्री भण्डारीले जानकारी दिए ।
पहिलोपटक कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा जनरल मेडिसनतर्फ तीन जना विशेषज्ञ डाक्टर र आयुर्वेदतर्फ एक जना गरी चार जना डाक्टर नियुक्त भएका छन् ।
डाक्टरहरु अबको केहि दिनभित्रै कार्यक्षेत्रमा पुग्ने मन्त्री भण्डारीले बताए ।
‘कर्णालीमा सधैं डाक्टरको अभाव हुने गरेको र नागरिकले सहज स्वास्थ्य सेवा पाउन नसकेको गुनासो आम नागरिकको थियो ।’ मन्त्री भण्डारीले भने, ‘अब हरेक अस्पतालमा विशेषज्ञसहितका डाक्टरहरु पुगेपछि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनेमा सरकार आशावादी बनेको छ ।’
पहिलोप्रेस
१४ भाद्र २०८१, शुक्रबार ०९:४७