अमेरिकी सेना बीस वर्षपछि अफगानिस्तानबाट फर्कियो
एजेन्सी ।
बीस वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएका छन् । अफगानिस्तानमा बाँकी रहेका केही सेना पनि सोमबार रातिसम्म सबै फिर्ता गएका बताएको छ ।
केही दिनदेखि अमेरिकाले सेना फिर्ता गर्ने प्रक्रिया शुरु गरिसकेको थियो । तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्ना सेना फिर्ता गर्न थालेको हो ।
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि सोमबार रातिसम्ममा आफ्नो सेना पूर्णरूपमा फिर्ता गरेको जनाएको छ । हाल अफगानिस्तानको राजधानी काबुलमा रहेका एक अमेरिकी सैन्य कमान्डरले अमेरिकी सेनाको अन्तिम लट सोमबार स्वदेश फर्किएको जानकारी दिनुभएको हो ।
सोमबार साँझ अमेरिकी रक्षा मन्त्रालयका तर्फबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा सैनिक जर्नेल केनेथ म्याक केन्जीले सो कुराको जानकारी दिनुभएको हो ।
सो पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, म यो कुरा अहिले घोषणा गर्न चाहन्छु कि अफगानिस्तानमा रहेका हाम्रा सैनिकहरु र अमेरिकी नागरिक आजसम्ममा सबैजना त्यहाँबाट फर्किसकेका छन् । काबुलमा रहेका अमेरिकी राजदूत रस विल्सन पनि त्यहाँ रहेका अमेरिकीको अन्तिम उद्धार उडानका लागि खटिरहेको बताइएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फिर्ती अभियानमा खटेका अमेरिकी सेनाका कमाण्डर र अन्य अधिकारीले पछिल्ला केही सातामा मात्र कम्तीमा पनि ८० हजार जना जति विदेशीले देश छोडेका बताइएको छ ।
जर्नेल मकेन्जीले भन्नुभयो, हमिद कारजाइ अन्तराष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ । योसँगै हाम्रो सैन्य उद्धारको काम पनि सकिएको छ । करिब २० वर्षदेखिको अमेरिकाको अफगानिस्तान मिसन पनि यसैसाथ समाप्त भएको छ ।
अमेरिकाले सन् २००१ को सेप्टेम्बर ११ लगत्तै अफगानिस्तान मिसन शुरु गरेको थियो । अमेरिकी ट्वीन टावरमा हमला गरेको अल कायदा नामक एक आतङ्ककारी सङ्गठनका प्रमुख ओसामा विन लादेनको खोजीका लागि भन्दै अमेरिकाको सो मिसन शुरु भएको थियो । यस दुई दशकको अवधिमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताइएको छ ।
पहिलोप्रेस
१६ भाद्र २०७८, बुधबार ११:५६