एमालेको दोस्रो विधान महाधिवेशनमा झण्डै २४ सय सहभागि हुने
सुर्खेत । काठमाडौं भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मुल व्यवस्थापन समितीको बैठकमा संगठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।
पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।
२०७८ मा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरुलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।
शनिबार भएको बैठकमा महाधिवेशनलाई भब्य बनाउनका लागि सातदोबाटो देखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ ।
गौतमका अनुसार बागमती प्रदेश,ललितपुर जिल्ला,स्थानीय कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वार राखिने भएको हो । यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ ।
स्वयंसेवकको जिम्मा युवा संघ,खेलकुद महासंघ लगायतका जनसंगठनले लिएका छन् । बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि ब्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिर्पोटिङका लागि पासको पनि व्यवस्था गरिने भएको छ ।
महाधिवेशनको मुल नारा तय गर्ने काम भइरहेकोले केही दिन भित्रै महाधिवेशनको प्रचार ब्यापक बनाउन,फ्लयार,भिडियो सामग्रीहरु उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ब्यापक बनाउने तयारी छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधीलाई कुनै शुल्क नलिने र आवासको प्रवन्ध प्रतिनिधी आफैंले गर्नुपर्ने निर्णय गरिएको छ ।
गौतमले दिएको जानकारी अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको प्रवन्ध पार्टीका विभिन्न कमिटीहरुले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।
एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरुले सुझाव पठाएपछि तिनीहरुलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली,विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले र साँगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेश गर्नेछन ।
एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरुले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।
ब्यवस्थापन समितीको बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधी तय गर्ने उत्सव भएकोले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।
महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिए । एमालेले आज देखि महाधिवेशनको काउन्ट डाउन (दिनगन्ती) पनि सुरु गर्ने भएको छ ।
पहिलोप्रेस
१ भाद्र २०८२, आईतवार १२:३१