ताजाकोट गापा अध्यक्ष जैसीका ज्वाई लिलराजसहित तीन पक्राउ, महिलामाथि अभद्र व्यवहार गरेको आरोप
सुर्खेत । जिल्ला प्रहरी कार्यालय हुम्लाले गयराती ताजाँकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका ज्वाई लिलराज शर्मासहित तीन जनालाई एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार हुम्लाको ताँजाकोट गाउँपालिकामा स्वास्थ्य सम्बन्धि काम गर्रदै आएको फेज नेपाल नामक संस्थामा कार्यरत एक महिला स्वस्थ्यकर्मीलाई अभद्र व्यवहार गरेको भन्ने सूचनाका आधारमा उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।
मंगलबार राती करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई अभद्र व्यवहार गरेको भन्ने सूचना अनुसार जिल्ला प्रहरी कार्यालयको निर्देशनमा छप्रेला प्रहरी चौकीले राती नै उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मैला स्वास्थ्य चौकीका ईन्चार्ज समेत रहेका गाउँपालिकाका अधयक्ष लालकेश जैसीका आफ्नै ज्वाई ताजाकोट २ निवासी ३६ वर्षका लिलराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक ताजाकोट २ निवासी ३० वर्षका मंगल शाही र कार्यालय सहयोगी ताजाकोट गाउँपालिका वडा नं. ३ का २५ वर्षका राम बहादुर बुढा रहेका छन् ।
‘उहाँहरुलाई राती नै हामीले ल्याएका छौँ । आजै पीडित महिलाको बयान अनुसार मुद्दा दर्ता गरेर म्याद थपका लागि जिल्ला अदालतमा लैजान्छौँ ।’ डिएसपी पोखरेलले भने, ‘उनिहरु तीनै जनाले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ । वाँकी कुरा अनुसन्धानबाट खुल्नेछ ।’
पहिलोप्रेस
१२ भाद्र २०८२, बिहीबार ०८:०९