Loading... आजः ४ पुष २०८१, बिहीबार

हेलि लिएर मुख्यमन्त्री शाहीले कालिकोटमा उदघाटन गरे एकीकृत बस्ती, पचास घर हस्तान्तरण


सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको हेलिकप्टर मोह दिनानुदिन बढदै गइरहेको छ ।

बारम्बार हेलिकप्टर चढेर गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागि हुने गरेको आरोप लागिरहेको समयमा भदौ ३० गते नरहरीनाथ गाउँपालिकाको वडा नं. ४ मा रहेको सुन्दरखालमा एकीकृत बस्ती उदघाटन गर्न मुख्यमन्त्री शाही पुगेका हुन । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सो बस्तीकालागि एक करोड सत्तरी लाख लगानी गरेको थियो ।


वडा नं. ४ बाहाँगामा गत वर्ष साउन र भदौमा पहिरो जाँदा गंग बुढा सहित सात जनाको पहिरोले घर बगाउँदा मृत्यू भएको थियो । सो घटनामा परि त्यहाँका १९४ घरमा जोखिम देखिएको थियो । जमिन नै धुजा धुजा भएपछि प्रदेश सरकारले त्यहाँ एकीकृत बस्ती बसाउनकालागि बजेट निकासा गरेको हो ।

सो बजेटबाट पचास ओटा घरहरु तयार भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गलाल न्यौपानेले जानकारी दिए । उनका अनुसार नयाँ बनाइएको घरलाई टिनले छाइएको छ भने दुइ तले बनाइएको छ । घरको भुईँतलामा तीन ओटा कोठाहरु बनाइएको छ भने माथिल्लो तलामा बारेर दुइ कोठा बनाउन मिल्ने गरी संरचना निर्माण गरिएको छ ।
ती घरहरु तीन लाख चालिस हजारको लागतमा निर्माण गरिएको उनले बताए ।

‘उक्त बस्तीमा गाउँपालिकाले पाईप खरिद गरेर अन्य संस्थासगको सहकार्यमा १४ ओटा धारा निर्माण गरेका छौं । त्यसका अलावा त्यहाँ दिपेन्द्र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पनि स्थापना गरेका छौं । निकट भविष्यमा उक्त बस्तीको विकास सँगै सामुदायिक स्वास्थ्य ईकाई स्थापना गर्ने तयारी गरेका छौं ।’ न्यौपानेले भने, ‘बाँकी घर निर्माणकालागि थप बजेटको आवश्यकता देखिएको छ । चार करोड ८९ लाख ६० हजार भएको खण्डमा सबै बस्ती तयार हुने छ । त्यसकालागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री शाहीले प्रतिबद्धता जनाउनु भएको छ ।’

उनले मुख्यमन्त्री शाही एकीकृत बस्ती उदघाटनका लागि आएको बताउँदै हेलिकप्टरको भाडा पालिकाले नव्यहोरेको बताए ।


सम्बन्धित समाचार