आउनुस् एउटा प्रयोग गरौँ
ऐना, छाया, प्रतिछाया छ र पो रुप, कुरुपको भेदभाव छ
रिस, राग, ईर्ष्या, तनाव छ र पो मानसिक विचलन छ
कृतिम खानपान, रहनसहन छ र पो रोग निरोग छ
द्रव्य चलनमा छ र पो धनी/गरिब बीच नभरिने खाडल छ।
त्यसैले
आउनुस् आजैदेखि ऐना हेर्न छोडिदिउँ
द्रव्य के हो बिर्सिदिउँ
मनको आशक्तिलाई भोटे ताल्चामा कैद गरौँ
प्राकृतिक खानपान रहनसहनमा रमाउँ
एउटा सानो प्रयोग गरौँ।
छिमेक, आफन्तजन छन् र पो अस्वस्थ प्रतिस्पर्धा छ
शरीरको एउटा कुनामा मुटु (मन) छ र पो महत्वाकांक्षा छ
राजनीति, अर्थनीति छ र पो सत्ता संघर्ष छ
सिद्धान्त, वाद छन् र पो मनमुटाव, टुटफुट छ।
त्यसैले
आउनुस् प्रतिस्पर्धाबाट बाहिर निस्कौँ
महत्वाकांक्षालाई तिलाञ्जली दिउँ
वाद, सिद्धान्तमा नअल्झिऔँ
मानववादमा रमाऔँ
एउटा सानो प्रयोग गरौँ । (सेताेपाटी)
पहिलोप्रेस
२९ कार्तिक २०७८, सोमबार ११:२२