Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

एमालेमा ओलीले जिते तर हारेनन् रावल र भुसालहरू !

काठमाडौं ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सकिएको छ । आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयन गराउने प्रयास असफल भएपछि चुनावी प्रक्रियामा गयो । अध्यक्ष केपी शर्मा ओलीले आफैं सूची बनाएर आफूलाई अध्यक्ष घोषित गर्न निकै प्रयास गरे पनि सफल भएनन् । तर, भीम रावलले लोकतान्त्रिक मान्यता अपनाउने पार्टीले यसरी आफूखुसी नेतृत्व घोषणा गरेको मान्य नहुने भन्दै चुनावमै जाने अडान राखे ।

उनको अडानले १२ गते नै सकिने महाधिवेशन दुई दिन ढिलो भयो । अन्ततः भीम रावल र घनश्यामको अडानका कारण ५० पदमा निर्वाचन नै भयो । यद्यपि रावल भारी मतान्तरसहित हारे । ओलीले खसेको २०९६ मतमध्ये १८०८ मत पाए । भीम रावलले २१३ मत ल्याए ।

भलै रावलले कम मत पाए । तर, ओलीले उद्घोष गरेपछि त्यही नै सहीछाप हो भन्ने मान्यता तोड्न भने रावल सफल भए । धेरैले रावलको हारलाई राजनीतिक जितका रूपमा व्याख्या गरेका छन् । चुनाव हुँदा हामी जित्दैनौं भन्नेमा रावल, घनाश्याम भुसालसहितका नेता पूर्ण जानकार थिए । तर, अध्यक्ष ओलीसँग अनुनय नै गरी हार्न पाउँ भन्दै उनीहरूले पार्टीलाई चुनावसम्म डोहोर्याएका हुन् ।

तर, प्रतिस्पर्धामा गएका नेताको यति थोरै मत किन आयो त ? के अध्यक्षमा दावी गर्ने उम्मेदवार यति धेरै कमजोर हुन् त । पक्कै पनि रावल एमालेभित्रका बौद्धिक र खरो स्वभावका नेता हुन् । उनी स्पष्ट बोल्छन् । आफ्नो अडानबाट कदापि पछि हट्दैनन् । नेतृत्वले जे भन्यो त्यसैमा सहीछाप लाउँदैनन् । यति हुँदा पनि रावलले अनपेक्षित हार व्यहोरे । यद्यपी यो उनको पपुलारिटीभन्दा निकै कम हो । तर, एमालेमा केही पनि फरक मत छैन भन्ने सन्देश दिने अध्यक्ष ओलीको एकोहोरो प्रयासविरुद्धको दरिलो राजनीतिक सन्देश पनि हो ।

यसका पछाडि केही कारणहरु छन् । जतिबेला एमाले र केपी ओलीलाई सरकार टिकाउन साथ चाहिएको थियो । त्यसबेला सबैभन्दा बढी अप्ठ्यारोमा पार्ने भीम रावल नै हुन् । संसद् विघटनपछि तत्कालीन माओवादीको तप्का र माधव नेपालहरू मिलेर ओलीविरुद्ध आन्दोलन गर्दा भीम रावललगायतका नेताहरू पनि सडक संघर्षमै उत्रिए ।

ओलीलाई निरंकुश भन्दै नाराबाजी पनि गरे । भलै नेतृत्व खराब होस् तर पार्टीलाई अप्ठ्यारो पर्दा काँध थाप्ने नेता कार्यकर्ताले नै हुन् । पार्टीभित्र गरिने हिसाबकिताब आन्तरिक रुपमा हुन्छ । तर, प्रतिपक्षलाई सघाउन कोही जाँदैनन् । पार्टीलाई अप्ठ्यारोमा साथ नदिएका पूर्व माधव नेपाल पक्षले यसको दण्ड पाएको छ । तर, ओलीलाई अप्ठयारोमा साथ दिने पूर्व माओवादीले भने पुरस्कार पाएको छ ।

यदि त्यसबेला रावलहरूले खुलेरै एमालेको समर्थन गरेका हुन्थे भने अध्यक्षबाहेक चाहेको पद दिन ओली तयार हुन्थे होला पनि । तर, जसरी पनि खुइल्याउने अभियानमा सरिक भएपछि ओलीलाई त्यो झोँक छँदैथियो । भलै अन्त्यतिर रावलले एमालेको साथ छाडेनन् । तर, हुँदाखाँदाको ठूलो दलको सरकार गिराउन खेलेको भूमिका ओली र एमालेका नेता कार्यकर्ताहरुले बिर्सेका थिएनन् । त्यही कारण त माधव नेपाल लगायतका नेताहरुलाई सहजै जान दिए ओलीले ।

बेलाबेला १० बुँदे कार्यान्वयन नगरेको भनेर असन्तुष्टि पोख्दै आएका रावलप्रति ओली सन्तुष्ट थिएनन् । रावल पनि ओलीको अण्डरमा काम गर्न सहज मानिरहेका थिएनन् । यसै पनि तिक्तता छ, किन सहजै पदमा बस्न दिने भनेर रावलले काउन्टर दिएका हुन् । किनकी यसो हुँदा रावलको राजनीतिक यात्रामा एक उचाई बढ्छ ।

उनलाई थाहा थियो कि कुनै हालतमा जितिंदैन भनेर । तर, उनले त्यो रिस्क मोले । अहिलेसम्म ओलीलाई काउन्टर दिने नेता एमालेभित्र देखिएनन् । रावल एकमात्र यस्ता पात्र निस्के जो हार्छु भन्ने जानकारी हुँदा हुँदै पनि मैदानमा फाल हाल्न उत्रिए । यो ओलीको अहमता र मैंले जे गर्दा पनि तल्लो तहका नेता कार्यकर्ताले मान्नुपर्छ भन्ने घमण्ड भने रावलले तोडिदिएका छन् ।

एमालेमा आफू निर्विकल्प रहेको सन्देश दिन ओलीले अन्तिमसम्म पनि रावल र भुसाललाई पनि पदाधिकारीको लोभ नदेखाएका होइनन् । तर, ओलीले बन्द सत्रबाट घोषणा गरिएको जुनसुकै पदलाई वेवास्ता गर्दै रावल र भुसाल चुनावी मैदानमा ओर्लिएर एमालेमा ओली निर्विकल्प होइनन् भन्ने सन्देश दिन सफल भए ।

हुन त सहमतिलाई लोकतान्त्रिक विधिभित्रको सर्वोत्तम उपाय मानिन्छ । तर, त्यसमा सबै सन्तुष्ट हुन अनिवार्य हो । असन्तुष्टि भएको खण्डमा भने त्यसलाई लोकतान्त्रिक मानिँदैन । अहिलेको निर्वाचनबाट जीत हार आफ्नो ठाउँमा छ । तर, दुई कुराको सन्देश भने प्रवाह भएको छ ।

पहिलोः

एमालेमा ओलीको वाणी नै सर्वोपरी हो र त्यसलाई अनिवार्य स्वीकार गर्नुपर्छ भन्ने भ्रम तोडियो । उनलाई कसैले काउन्टर दिनुहुँदैन नत्र पार्टी नै भत्किन्छ भन्ने मान्यता पनि चिरिएको छ । किनकी आफू अल्पमतमा हुँदाहुँदै पनि मैदानमा उत्रिनु सानो त्याग होइन । आफू निर्विकल्प रहेको सन्देश दिन ओलीले रावललाई उपाध्यक्षको प्रस्ताव गरेकै हुन् । तर, यसलाई पनि रावलले अस्वीकार गरिदिएका थिए ।

दोस्रो:

एमालेभित्र ओलीसँग प्रतिस्पर्धा गर्ने नेता पनि छन् भन्ने सन्देश हो । किनकी कुनै पनि नेताहरूले न ओलीको विरुद्ध जाने आँट गरे, न ओलीको प्रस्तावलाई नकार्ने क्षमता नै राखे । तर, भीम रावल र घनश्याम भुसालले भने हार्नकै लागि भए पनि चुनावमा जान्छौं भन्ने आँट देखाए ।

यसले पार्टीभित्र ‘एसम्यान’ मात्रै होइनन्, परिआए नेतृत्वलाई चुनौती दिन पनि तयार नेताहरू छन् भन्ने हो । भलै यो महाधिवेशनमा उनीहरुको हार भयो । तर, पार्टीभित्रै रहेको खण्डमा भने अर्कोपटक भने उनीहरु नै नेतृत्वका लागि मुख्य दाबेदार र हकदार हौं भन्ने सन्देश प्रवाह गर्न सफल भए । यसपटक चुनावमा प्रतिस्पर्धा गरेर ओलीलाई चुनौती दिनुको अर्को कारण यो पनि हो कि अर्कोपटक हामी नेतृत्व लिनका लागि तयार छौं भन्नु हो । अर्थात् ओली निर्विकल्प होइनन् भन्ने सबैभन्दा ठूलो सन्देश हो ।

भलै उनीहरु पदाधिकारीमा आउन सकेनन् । तर, पार्टीभित्रै रहेर नेतृत्वको गलत निर्णयविरुद्ध खबरदारी गर्ने र पार्टीलाई सही दिशातर्फ लैजाने विषयमा भने निरन्तर दवाव दिइरहनेछन् । पदाधिकारी नपाएको झोंकमा पार्टी बदलेनन् भने अर्कोपटक नेतृत्वका लागि उनीहरूले अहिल्यैदेखि नै रावल र भुसालहरूले ‘ग्राउन्ड’ तयार गरेका छन् ।

किनकी सबैले मौन समर्थन जनाएको बेला मै हुँ भन्ने नेतृत्वलाई चुनौती दिने ल्याकत उनीहरूमा मात्रै देखिनु ठूलो राजनीतिक सन्देश हो । मतले ओलीले जिते तर रावल र भुसालहरू पनि सन्देश दिनबाट भने हारेनन् । (देवकाेटा नेपालवाचमा कार्यरत छन्र ।)


सम्बन्धित समाचार