आजदेखि कांग्रेसको प्रदेश अधिवेशन
काठमाडौं ।
सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज बिहीबार सात वटै प्रदेशमा प्रादेशिक अधिवेशन हुँदैछ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ ।
१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।
कांग्रेसको प्रादेशिक अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रादेशिक अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम छ ।
पहिलोप्रेस
१६ मंसिर २०७८, बिहीबार ०८:१६