काँग्रेसको उपसभापतिमा विजयी को हुन् खड्का ?
सुर्खेत ।
नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनबाट सुर्खेतका पूर्ण बहादुर खड्का उपसभापति पदमा निर्वाचित भएका छन् ।
यस्तै उपसभापतिमै धनराज गुरुङसमेत विजयी भएका छन् ।
जारी १४ औं महाधिवेशनबाट खड्काले २१२१ मत प्राप्त गरे भने, गुरुङले १९०८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए ।
उनले १९०६ मत प्राप्त गरे । यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् । भने उपसभापतिकै अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त गरी पराजित भएका छन् ।
खड्का यसअघि काँग्रेसको महामन्त्री हुन् । काँग्रेसको जारी महाधिवेशनमा उपसभापति पदमा उनले उम्मेदवारी दिएका थिए । कणर्ालीको राजधानी सुर्खेतको क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने खड्का पाँच पटक सांसद र पाँच पटक मन्त्रीसमेत भइसकेका छन् । एक पटक राज्य व्यवस्था समितिको सभापति समेत बनेका खड्का कणर्ालीको एक बलिया खम्बा हुन ।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा प्रतिशन्धित कालमा सुर्खेतको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतको पालमा प्रतिबन्धित भएपनि उनले निरन्तर राजनीतिक अभियानलाई तीव्रता दिएका थिए ।
बहुदल र निर्दल बीचको चुनावको समयमा काँग्रेसले चुनावमा भाग लिने निणर्य गरेको समयमा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए तर उनलाई पञ्चायतको सर्मथन गर्न भनेर राजाले दवाव दिए । राजाले दिएको दवाव अस्विकार गर्दा जिल्ला अदालतले उनी मेयर भएको ६ महिनामै उनको पद जिल्ला अदालत सुर्खेतले बर्खास्त गरिदिएको थियो ।
विभिन्न समयमा गरेर पाँच महिना भन्दा बढि समय जेलजीवन विताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट पाँच पटक सांसदमा विजयी बने भने एक पटक पराजित बने ।
२०४८, २०५१, २०५६ मा उनले प्रत्यक्ष चुनाव जितेर सांसद भए भने २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का २०७४ सालमा भने पराजित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका खड्का राज्य संचालनमा समेत अब्बल मानिन्छन् । उनी दुइ पटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, युवा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भइ राज्य संचालनको अनुभव हासिल गरिसकेका छन् ।
सुर्खेत क्षेत्र नम्बर एकका नागरिकले विकासप्रेमी नेताको रुपमा उनलाई चिन्दै आएका छन् । उनी १० औं महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो ।
सो महाधिवेशनमा शुशिल कोइराला विजय बने भने उनी पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा प्रजातान्त्रिक काँग्रेसबाट केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य जितेर सहमहामन्त्रीमा मनोनित भए भने १३ औं महाधिवेशनमा उनी महामन्त्री बन्न सफल भएका थिए ।
पहिलोप्रेस
१ पुष २०७८, बिहीबार ०७:४२