दुर्व्यवहार गरेकाे आरोपमा धामी र पूजारी पक्राउ
सुर्खेत ।
महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारी पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत दुर्व्यवहारको श्रव्यदृष्य सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् ।
लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।
“पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन”, उनले भने । ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पहिलोप्रेस
७ पुष २०७८, बुधबार ०९:२०