Loading... आजः २ कार्तिक २०८२, आईतवार

भवन आचार संहिता अुनसार घर नबन्दा भूकम्पको उच्च जोखिममा प्रदेश राजधानी वीरेन्द्रनगर !

अध्ययन प्रतिवेदनमा दिइएका सुझाव अनुरुप नीति निर्माण गरी अगाडी बढ्ने नगर प्रमुख देवकुमार सुवेदीले बताए ।

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगर राजधानी बनेसँगै जनघनत्व बढ्दै गएको छ । भवन आचार संहिताविपरित प्रदेश राजधानी वीरेन्द्रनगरमा दैनिक धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।

यसरी भवन आचार संहिताविपरित भौतिक संरचना निर्माणको कार्य तीव्र बनेपछि पछिल्लो समय प्रदेश राजधानी वीरेन्द्रनगर भूकम्पको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ । वीरेन्द्रनगर नगरपालिका र तयार नेपाल नामक गैर सरकारी संस्थाको सहकार्यमा एक वर्ष लगाएर गरिएको अध्ययनले यस्तो देखाएको हो ।

एक वर्ष लगाएर जियो इन्जिनियरिङ कन्सल्टेन्टले गरेको भौगर्भिक अध्ययनले भूकम्प आएको खण्डमा वीरेन्द्रनगरमा ठुलो क्षती हुनुका साथै बाढी र पहिरोको जोखिमसमेत उच्च रहेको देखाएको छ ।
सार्वजनिक अध्ययन प्रतिवेदनमा यदि भुकम्प आएको खण्डमा सबैभन्दा उच्च क्षती वडा नं. ६ मा हुने उल्लेख छ । प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा भवन र घर निर्माणको कार्य ह्वातै बढेको छ । नयाँ बनेका प्राय भवनहरु भवनसंहिता विपरित निर्माण गरेको पाईएको अध्ययनमा उल्लेख छ ।

वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र वडा नं. ६ का एकहजार आठ सय ४९ घरहरु अध्ययनमा समावेश भएका थिए । ति घरहरु प्राय भवन निर्माण संहिता विपरित निर्माण गरिएको अध्ययनमा उल्लेख छ । यसले गर्दा भूकम्प आउँदा वडा नं. ६ मा मात्रै करिब पाँच अर्बको क्षति हुने अनुमान अध्ययनमा गरिएको छ । नगरका वडा नं. २, ३, ९ र १० बाढीको उच्च जोखिममा रहेको अध्ययनमा संलग्न डा. दिपक चौलागाईले बताए ।

उनका अनुसार भौगोलिक वनावट अनुसार नगरको उत्तरी क्षेत्रमा पहिरो र दक्षिणी क्षेत्रमा बाढीको साथै भूकम्पको उच्च जोखिम रहेको पाइएको हो । भुकम्पको सम्भावित उच्च जोखिमलाई कम गर्न वीरेद्रनगरमा भौतिक संरचना निर्माणका कार्यमा नियन्त्रण गर्दै भवन आचारसंहिता अुनरुप संरचना निर्माण गर्नुपर्ने चौलागाईको सुझाव छ । अध्ययन प्रतिवेदनमा दिइएका सुझाव अनुरुप नीति निर्माण गरी अगाडी बढ्ने नगर प्रमुख देवकुमार सुवेदीले बताए ।

अध्ययन प्रतिवेदन बुझ्नै नगर प्रमुख सुवेदीले यस्तो बताएका हुन् । सुवेदीले नगरको भौगोलिक सुन्दरतालाई कायम राख्न र भुकम्प, बाढि र पहिरोको सम्भावित उच्च जोखिमबाट जोगिनकै लागि भएपनि उच्च जोखिममा रहेका क्षेत्रलाई ध्यान दिँदै भवन निर्माणलगायतका काममा कमी ल्याउने र निर्माण गरिने संरचनामा पनि भवनआचारसंहिता अनुरुप निर्माणमा जोड दिनेतर्फ आफ्नो ध्यान जाने उनको भनाई छ ।


सम्बन्धित समाचार