Loading... आजः ४ पुष २०८१, बिहीबार

स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताएका छन् । संघ र प्रदेशका योजना तथा कार्यक्रमहरु कार्यान्वयनको जिम्मेवारी पनि स्थानीय तहलाई दिइनुपर्नेमा उनको जोडथियो ।
नेपाल नगरपालिका संघले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री शाहीले जनताको सुख, दुःखसँग सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।

‘स्थानीय तह जनताको चुल्होको सरकार हो,’ मुख्यमन्त्री शाहीले भने, ‘चुल्होको सरकारलाई अधिकार सम्पन्न नबनाइँदासम्म देशको विकास हुन सक्दैन् ।’

मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई देखिने र संघीय सरकारलाई सुनिने सरकार भएको बताए ।
‘देखिने र सुनिने सरकारबाट सञ्चालन हुने योजनाहरुको कार्यान्वयन जनताको चुल्होको सरकारलाई दिइनुपर्छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकार जहिल्यै स्थानीय तहलाई सँगसँगै लिएर काम गरिरहेको छ ।’

स्थानीय तह घरको जग भएकाले पहिलो बजेट स्थानीय तहले ल्याउनुपर्ने बताए ।

‘स्थानीय, प्रदेश हुँदै संघले बजेट ल्याउँदा आवश्यकता र औचित्यताका आधारमा काम हुन्थ्यो,’ उनले भने, ‘माथिबाट बजेट सार्वजनिक गर्ने परिपाटीको अन्त्य गरिनुपर्छ ।’

मुख्यमन्त्री शाहीले साउनबाटै बजेट कार्यान्वयन गर्ने बानीको विकास हुनुपर्ने बताए ।

मुख्यमन्त्री शाहीले जनसंख्यालाई आधार मानेर बजेट पठाइँदा कर्णालीलाई अन्याय भएको जनाए ।

‘२१.५ प्रतिशत भूगोल ओगटेको कर्णालीमा १७ लाख भन्दा कम जनसंख्या छ,’ मुख्यमन्त्री शाहीले भने, ‘जनसंख्यालाई आधार मानेर बजेट छुट्याइँदा कर्णालीलाई अन्याय भएको छ ।’

मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारले ‘६ब’को नीति लिएको बताए ।
‘समृद्ध कर्णाली ः सुखारी कर्णालीबासीको दीर्घकालीन सोचलाई पूरा गर्नका लागि प्रदेश सरकारले ‘६ब’ (बाटो, विजुली, बजार, वन, व्यवस्थापन र विचार) को नीति लिएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यसको कार्यान्वयनका लागि स्थानीय तहको भूमिका र अग्रसरता महत्वपूर्ण हुन्छ ।’


सम्बन्धित समाचार