देउवासँग उपसभापति खड्काको दुरी बढ्दो, सिटौलाको ‘कम ब्याक’ले संस्थापनमा तरंग
काठमाडौं ।
प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काबीचको राजनीतिक दुरि बढन थालेको छ ।
रातोपाटीले प्रकाशित गरेको समाचार अनुसार विगतमा नेता रामचन्द्र पौडेल र उपसभापति पुर्णबहादुर खड्का नेतृत्वको कार्यदलले प्रभावकारी काम गर्न नसकेको निष्कर्षपछि देउवाले अहिले कृष्णप्रसाद सिटौलालाई अगाडि सारेको संस्थापन पक्षका नेताहरु बताउँछन् । पौडेल नेतृत्वमा स्थानीय निर्वाचनको चुनावी तालमेल भद्रागोल भएको थियो भने खड्का नेतृत्वको न्यूनतम् साझा कार्यक्रम पनि प्रभावहीन भयो ।
नेता विमलेन्द्र निधिले देउवासँग दुरी बढाएपछि पार्टी र गठबन्धन सरकारको गतिविधिमा हावी भएका खड्काको प्रभाव अहिले घट्दै गएको छ । गठबन्धनभित्रको छलफल र समन्वयमा पछिल्लो समय देउवाले पौडेल, सिटौला, गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई अगाडि सारेको देखिन्छ ।
देउवाको दाहिने हात मानिएका उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतसँगको विश्वास घट्दो देखिन्छ । काँग्रेस शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको चुनावमा संस्थापन पक्षको पराजयमा उपसभापति खड्का र प्रवक्ता महतको मूख्य भूमिका रहेको संस्थापन पक्षको निष्कर्ष छ । खड्का र महतको लडाइँका कारण प्रेस युनियनमा संस्थापन पक्ष पराजित हुनु परेको सो पक्षको ठहर छ ।
यता, पार्टीभित्र खड्काको दोहोरो भूमिकाप्रति पनि देउवा सन्तुष्ट नरहेको संस्थापन पक्षकै नेताहरु बताउँछन् । संस्थापन पक्षका एक नेताले भने, ‘पार्टीमा पूर्णबहादुर दाइले दोहोरो भूमिका खेल्नुभयो । सभापतिविरुद्ध महामन्त्रीलाई उचाल्नुभयो । फेरि सबै मैले नै मिलाइरहेको छु भनेर देखाउन खोज्नुभयो । अहिले उहाँको भूमिकाबारे सभापति र महामन्त्री जानकार भइसक्नुभएको छ ।’
सिटौलाको ‘कम ब्याक’बाट झस्किए खड्का
संस्थापन पक्षमा देउवाको उत्तराधिकारीको अभ्यासमा देखिएका उपसभापति पूर्णबहादुर खड्का सिटौलाको ‘कम ब्याक’बाट झस्किएका छन् । १४ औं महाधिवेशनमा देउवालाई साथ दिएका सिटौला त्यस यता संस्थापन पक्षको कर्नरमा थिए । संघ र प्रदेशको सिट बाँडफाँटको मापदण्ड बनाउने कार्यदलको नेतृत्व पाएसँगै सिटौला संस्थापन पक्षको केन्द्रमा पुगेका छन् ।
अब उनी आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी घोषणासम्म काँग्रेसमा देउवापछिको मुख्य भूमिकामा देखिने पक्का छ । अहिले टिकट दिँदा जोडिने देउवा निकट नेता–कार्यकर्तालाई संगठित गरेर सिटौलाले भोलि ‘पावर एक्सरसाइज’ गर्न सक्छन् भन्ने संस्थापन पक्षका दोस्रो तहका नेतामा भय छ । १४ औं महाधिवेशनमा आफ्नो समूह संस्थापन पक्षमा विलय गराएका सिटौला ‘पावर एक्सरसाइज’ गर्ने मौकाको प्रतीक्षामा ‘साइलेन्ट’ थिए ।
आम निर्वाचनपछि सिटौला नयाँ ढंगले अगाडि आउने तयारीमा रहेको उनी पक्षीय नेताहरु पनि बताउँछन् । संस्थापन पक्षमा सिटौला हावी हुँदा महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादवलगायत पनि सशंकित देखिन्छन् । यता विमलेन्द्र निधिले पनि देउवासँग दुरी घटाउन खोजेका छन् भने नेता प्रकाशमान सिंहलाई देउवाले फ्रन्टलाइनमै राख्ने ठाउँ खोजिरहेको बुझिएको छ ।
पहिलोप्रेस
२६ श्रावण २०७९, बिहीबार ०६:२३