दैलेखमा पोखरीको बजेट कृषि कार्यालयले अन्यत्रै पठाउँदा लगानी खेर, पोखरीमा झरेन पानी
सुर्खेत ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट दैलेखको आठबीस नगरपालिकाको वडा नं. ६ राँतामा सात लाख खर्चेर निर्माण गरिएको पोखरी पाईप नहुँदा लगानी खेर जाने अवस्थामा पुगेको छ । उपभोक्ता समितिमार्फत राँता सिंचाई पोखरी कार्यक्रम अन्र्तगत रातो किताबमा सात लाख बजेट विनियोजित भएको थियो ।
सोही पोखरीका लागि गत आर्थिक वर्षमा थप चार लाख बजेट विनियोजन भएकोमा कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र थापाले मनलाग्दी उक्त बजेट अन्यत्रै खर्च गरिदएपछि उक्त पोखरीमा पानी नझरेको हो ।
‘हामीले जिल्लामा पाईप खरिदका लागि भनेर निवेदन समेत दिएका थियौं । सो निवेदन दिएर प्रदेशको भूमि व्यवस्था मन्त्रालयमा समेत पठाएका थियौं । २५ सय मिटर पाईप आवश्यक पर्ने कार्यालयका प्राविधिकले स्टिमेट समेत गरेर दिएका थिए ।’ उपभोक्ता समितिका सचिव भक्त बहादुर थापाले भने, ‘पोखरी उनीहरुले भनेको भन्दा पनि राम्रो बनायौं । तर बजेट थप हुने आशामा पाईप नहुँदा पोखरी प्रोयगविहीन हुने भएको छ । यसले ठूलो समस्या ल्याएको छ ।’ उनका अनुसार कार्यालयले नै चार लाख रुपैया लागत लाग्ने भनेर स्टिमेट गरेको, रातो किताबमा सोही पोखरीको लागि बजेट भएपनि पोखरीलाई कार्यान्वयन गर्न नदिएर आफू निकटका बस्तीमा बजेट खर्च गरेको बताए ।
‘योजना बनाउने तर बजेट हुँदाहुँदै पनि कार्यान्वयन नहुने अवस्था आयो । कार्यालयले आश्वासन मात्रै दियो ।’ उनले गुनासो गरे, ‘अहिले सोध्दा बजेट अन्तै पठाईसकेको भन्दै कार्यालय प्रमुख थापाले भन्नु भयो ।’
कार्यालय प्रमुख थापाले आफ्नो काम सिफारिस गर्ने मात्रै भएको बताए । ‘मेरो काम सिफारिस गर्ने मात्रै हो । मन्त्री ज्यूले नै भनेर हामीले कार्यान्वयन हुन नसक्ने योजना भन्दै योजनाको बजेट काटेका छौं । त्यो रकम फ्रिज भएको छ ।’ उनले भने, ‘म आफू फस्न चाहन्न ।’
स्थानीयले पोखरी बनाउने काम भएपनि पानी पोखरीमा नहुँदा समस्या भएको बताएका छन् ।
पहिलोप्रेस
६ भाद्र २०७९, सोमबार ०६:१३