माओवादीलाई कर्णालीमा मुख्यमन्त्री चाहिने, संघका सिट कम भए पनि चल्ने
जगत लम्साल/सुर्खेत ।
कर्णाली प्रदेशलाई आफ्नो आधार क्षेत्रको रुपमा दाबी गर्दै आएको नेकपा माओवादीले कम्तिमा प्रदेश सभाको बहुमत सिटमा दाबी गर्ने भएको छ ।
नेकपा माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीका अनुसार २४ सिटमा कम्तिमा १३ प्रदेश सिट आफूलाई चाहिने बताईन ।
‘हामी बरु संघको सिट छोडन तयार छौं भनेर केन्द्रलाई भनेका छौं । कर्णालीमा बहुमत सहितको माओवादीकै मुख्यमन्त्री हुनुपर्छ भन्ने हाम्रो अडान छ ।’ अध्यक्ष केसिले भनिन्, ‘मुख्यमन्त्री बन्नका लागि दलको बहुमत चाहिने हुँदा त्यहि आधारमा कर्णालीमा भागवण्डा गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ ।’
उनले प्रदेश सभाको ५१ प्रतिशत सिट अनिवार्य चाहिने माग गरि पठाएको बताईन ।
यता, नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाहीले पनि कर्णालीमा काँग्रेस ठूलो दल रहेको भन्दै ५१ प्रतिशत सिट आवश्यक हुने माग गरेर केन्द्रमा पठाएको बताए । उनले स्थानीय तहमा काँग्रेसको राम्रो उपस्थिति भएको भन्दै यस्तो माग गरिएको उल्लेख गरे ।
‘हामीलाई संघको १२ मध्ये ६ सिट र प्रदेशको २४ मध्ये १२ सिट दिइनुपर्छ भन्ने हाम्रो माग छ ।’ उनले भने, ‘स्थानीय तहको निर्वाचन अनुसार देशैभरको ठूलो पार्टी भएको हैसियतले पनि हामीले हाम्रो माग अनुसार केन्द्रले सिट भागवण्डा गर्छ भन्नेमा विश्वस्त छौं ।’ उनले थपे, ‘गठबन्धनको विरुद्धमा कर्णाली जाँदैन । माथि सहमति भएको खण्डमा हामी जुनसुकै निर्णय पनि मान्न तयार छौं तर सिटको वाँडफाँट शक्तिको आधारमा हुनुपर्छ भन्ने काँग्रेस कर्णालीको धारणा हो र त्यहि राय हामीले केन्द्रमा पठाई दिएका छौं ।’
उता, नेकपा एकीकृत समाजवादीले पनि कर्णालीमा १२ संघ र २४ प्रदेशका सिट मध्ये एक जिल्लामा एक सिट पर्ने गरि भागवण्डा गर्नुपर्ने बताएको छ । प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले संघ वा प्रदेश जुनसुकै भएपनि एक जिल्लामा एक सिट आफूले पाउनुपर्ने दाबी गरे ।
‘हामीले धेरै मागेकै छैनौं । एक जिल्लाबाट एक सिट त्यो संघको होस, या त्यो प्रदेशको होस त्यो माग गरेका छौं । कुनैपनि जिल्ला समाजवादीको खाली हुनुहुँदैन भन्ने हाम्रो अडान हो ।’ उनले भने, ‘हाम्रो त्यो अडान नै हो ।’
पहिलोप्रेस
५ भाद्र २०७९, आईतवार १२:३५