मन्त्री कै गाउँमा चल्दैन ‘फोर जी’ !
सुर्खेत ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको गाउँ पञ्चपुरी नगरपालिकाको विउरेनीमा हालसम्म फोर जी इन्टरनेट सेवा सुरु हुन सकेको छैन ।
दुइ पटक मन्त्री भइसकेका उनको गाउँमा सडकको अवस्था दयालाग्दो छ भने टेलिफोन नेटवर्कले समेत काम नगर्ने गरेको पाइएको छ ।
यहि निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट समेत सरकारमा छन् ।
‘यहि गाउँका यज्ञबहादुर बुढाक्षेत्री सामाजिक मन्त्री हुनुभएको छ । विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री छन् । यसअघि संघीय सरकारको राज्यमन्त्री नवराज रावत बनिसकेका छन् । यी बाहेक यो क्षेत्रका धेरै जना नेताहरु नै छन् । दुइ जना त मन्त्री नै छन् ।’
एक स्थानीयले पञ्चपुरीको विउरेनीमा पहिलोप्रेससँग भने, ‘मन्त्री भएर मात्रै नहुने रहेछ । यहाँ नेट इन्टरनेट चल्न भनेको धेरै ठूलो कुरा हो ।’
उनले आफू मन्त्रीकै नजिकको भएको बताउँदै आफ्नो नाम भने नछाप्न अनुरोध गरे ।
‘बाटोको अवस्था दयनीय छ । टेलिफोन नेटवर्कले राम्रोसँग काम गर्दैन ।’ ती युवाले गुनासो गरे, ‘वाइफाईको मासिक भाडा तिर्न सकिदैन । नमस्तेको सिममा इन्टरनेट नै चल्दैन ।’
उसो त पश्चिम सुर्खेत गएको समयमा चौकुने गाउँपालिकाको मायाताल देखि विजौरा, पञ्चपुरी नगरपालिकाको बाबियाचौर, बराहताल गाउँपालिकाको बड्डीचौरमा बाहेक अन्यत्र फोरजी नेटवर्कले कामै गरेको थिए ।
तपाईकै निर्वाचन क्षेत्रमा मोबाईल नेटवर्कले नै राम्रोसँग काम गर्ने रहेनछ, इन्टरनेट नै नचल्ने रहेछ, अबको तपाईको बाँकी कार्यकालमा त्यहाँका नागरिकका लागि इन्टरनेट चल्ने गरि काम गरिदिनुहुन्छ की मन्त्री ज्यू ?
पहिलोप्रेस
१० भाद्र २०७९, शुक्रबार १७:१६