सामाजिक मन्त्रालयद्धारा निर्वाचन आचारसंहिता लाग्ने भन्दै पुरानो मिति राखेर रातारात कर्मचारीको सरुवा
सुर्खेत ।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले निर्वाचन आचारसंहिता लागु हुने भन्दै रातारात कर्मचारीको सरुवा गरेको छ । १९ गते रातीसम्म पनि कर्मचारीको सरुवाको कुनैपनि निर्णय नभएपनि सोही दिनको मिति राखेर ठूलो संख्यामा कर्मचारीको सरुवा गरिएको पाइएको हो ।
‘२० गते विहानसम्म पनि कर्मचारी सरुवाको कुनैपनि निर्णय भएको थिएन । मन्त्रीस्तरको निर्णय भन्दै पुरानो मिति राखेर एमाले, माओवादी र समाजवादी निकटका कर्मचारीहरुलाई सरुवा गरिएको छ ।’ मन्त्रालय स्रोत भन्छ, ‘यसले कानूनको धज्जी उडाएको छ ।’
सामाजिक विकास मन्त्रीमा हाल नेपाली काँग्रेसका यज्ञ बहादुर बुढा क्षेत्री छन् । उनी १९ गते रातीसम्म पनि मन्त्रालयमा आइपुगेका थिएनन् । २० गतेबाट निर्वाचन आचारसंहिता लाग्ने भन्दै १९ गतेको निर्णय बमोजिम भन्दै २४ जना कर्मचारीहरुको सरुवा गरिएको हो ।
‘मन्त्रालयले पक्षपातपूर्ण र अवैधानिक निर्णय गरेको छ ।’ सरुवा भएका कर्मचारी भन्छन्, ‘यसरी रातारात सरुवा गर्दा कर्मचारीको काम गर्ने मनोबल घटने निश्चित छ ।’
कर्मचारी ऐन विपरित सरुवा
कर्मचारी समायोजनका समयमा स्थानिय तहमा समायोजन भयका कर्मचारीलाई प्रदेशको दरवन्दिमा सरूवा गरिएको छ जब कि संघमा समायोजन भएका कर्मचारीहरूले एक पटकका लागि प्रदेश वा स्थानिय तहमा जान सक्ने तर स्थानिय तहको कर्मचारी प्रदेश र संघमा जान नसक्ने व्यवस्था कर्मचारी समायोजन ऐनले गरेको छ ।
अर्को तिर जनस्वास्थ्य कार्यालयहरूमा रहेको पाँचौ, छैठाँै र सातौँ तहको दरवन्दीमा काग्रेस निकटका चौथो, पाचौ र छैठौ तहका लाई सरूवा गरिएको छ । यो कार्य कर्णाली प्रदेश सरकार आफैले वनाएको संगठन संरचनाको विपरित भएको कर्मचारीको भनाई छ ।
यता, मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले १९ गते नै निर्णय भएको दाबी गरे । ‘हल्ला पछि नलाग्नुस, १९ गते नै निर्र्णय भएको हो ।’ पहिलोप्रेससँग उनले भने ।
हेर्नुहोस, कुन कर्मचारीको कहाँ सरुवा भयो ?
पहिलोप्रेस
२२ भाद्र २०७९, बुधबार १६:५०