Loading... आजः ३ मंसिर २०८१, सोमबार

सुर्खेतका निर्माता तथा निर्देशकद्वारा निर्देशित ‘म कमरेड’ सिकागो साउथ एसियन फिल्म फेस्टिभल’मा छनौट

सुर्खेत ।
सुर्खेतका पत्रकार एवम निर्माता गणेशकञ्चन भारती तथा निर्मल पौडेलद्धारा निर्देशित लघु फिल्म ‘म कमरेड’ १३ औं ‘सिकागो साउथ एसियन फिल्म फेस्टिभल’ मा छनौटमा परेको छ । जनयुद्धमा होमिएका पूर्व लडाकुको खाडीमा मृत्यु भइसकेपछिको अवस्था समेटिएको १४ मिनेटको फिल्ममा देखाइएको छ ।

छोरा गुमाइसकेका बुवा, पति गुमाएकी पत्नीको शोक, पीडा र क्रन्दन फिल्ममा समेटिएको छ । कफिनमा फर्किएका छोरा अठोटको शवलाई अँध्यारो रातमा घर लिएर जाँदै गरेको दृश्यबाट फिल्मको कथा सुरु हुन्छ । मसाल बोकेर हिँड्दै गर्दा बुवाको अनुहारमा देखिन्छ गहिरो चिन्ता । शव बोक्नेहरु शान्त छन्, बुवा उस्तै शान्त । उनी न आँसु झार्न सक्छन्, न भक्कानिन । आफ्नो पीडालाई चुरोटका धुँवामा उडाउनबाहेक केही गर्न सक्दैनन् ।

अठोटकी पत्नी पनि स्वर खोलेर भक्कादिँनन् । आँखाबाट बरबर आँसु झार्छिन् मात्र । उजाडिएको उनको अनुहार र शान्त रोदनले उनीभित्रको पीडा झल्किन्छ । छोटो समयमै छोराको मृत्युले व्याकुल बुवा अनि शोकाकुल पत्नीको पीडालाई ’म कमरेड’मा देखाइएको छ । फिल्मले आफ्नालाई गुमाउनेहरुको भावनात्मक यात्रालाई समेट्न खोजेको छ ।

फिल्मको अन्त्यमा प्रयोग गरिएको प्रतिकारत्मक दृश्य शसक्त छ । मलामी लागेकाहरु लस्करै शवका पछिपछि खोलातर्फ जाँदै गरेको हुन्छ । त्यसपछि खोलातर्फबाट धुँवाको मुस्लो उड्दै गरेको देखाइएको छ । छेउमा ठिंग उभिएको छ, सुकेको रुख ।

धुँवाको मुस्लोमा परिणत अठोटको जीवन सिद्धिएको कुरालाई त्यही सुकेको रुखले पनि देखाइदिन्छ । रुखमा कुनै पालुवा छैन, अर्थात रुखको जीवन पनि सकिएको छ भन्ने कुरालाई बिम्बात्मक रुपले देखाइएको छ ।

 


सम्बन्धित समाचार