यामलाललाई टक्कर दिन गठबन्धनबाट देवकुमार कति उत्तम ?
सम्पादकीय नोटः पहिलोप्रेसले चुनावमा दाबी गरेका नेताहरुसँग कुरा गर्दै संक्षिप्त रुपमा सामाग्री पस्किदै आएको छ । यसलाई पनि सोही अर्थमा लिनुहुन अनुरोध छ ।
सुर्खेत ।
आगामी मंसिर चार गते हुने आम निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले उम्मेदवारहरुको नाम सिफारिस गरेर पठाई सकेका छन् ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा एमालेबाट ‘हेभिवेट’ नेता यामलाल कंडेल एकल रुपमा सिपारिस भइसकेका छन् ।
काँग्रेसबाट आधा दर्जन प्रदेश सभामा चुनाव लडने भन्दै सिफारिस हुँदा माओवादीबाट पनि प्रदेश सभा निर्वाचनका लागि केहि व्यक्तिको नाम सिफारिस भइसकेको छ ।
नेकपा एमालेका लागि कर्णाली प्रदेश भरि सबैभन्दा सुरक्षित प्रदेश सभा क्षेत्र मानिएको सुर्खेत २(क) नै हो । स्थानीय तहको निर्वाचनमा यहाँ एमालेले पाएको मत हेर्दा एमाले बलियो देखिन्छ । एमाले बलियो देखिएकै कारण नेता कंडेल मुख्यमन्त्री हुने सपना देख्दै प्रदेशबाटै चुनाव लडने तयारीमा जुटेका हुन ।
एमालेबाट मुख्यमन्त्रीका दावेदार कंडेल नै उम्मेदवार बनेपछि गठबन्धन दलहरुबीच उनलाई ‘हराउन’ सक्ने नेताको खोजी सुरु भएको छ ।
यो क्षेत्र नेपाली काँग्रेसकै भागमा पर्ने निश्चित भएपछि बजारमा देवकुमार सुवेदीले टिकट पाउने करिब निश्चित भइसकेको हल्ला समेत चल्न थालेको छ ।
राजनीतिक यात्रामा हालसम्म अपराजित रहेका देवकुमार सुवेदी युवामाझ लोकप्रिय नेताको रुपमा रहेका छन् ।
उपत्यकाका रैथाने समेत रहेका सुवेदीले मात्रै यामलाललाई टक्कर दिन सक्छन भन्ने चिया चौतारमा कुरा चलिरहेको समयमा हामीले देवकुमार को हुन त भन्ने बारेमा यहाँ संक्षिप्त जानकारी दिन खोजेका हौं ।
२०३३ साल मंसिर २७ गते वीरेन्द्रनगर–३ मा जन्मिएका सुवेदीको राजनीतिक यात्रा जन माविदेखि सुरु भएको हो । १४ बर्षको उमेरमै २०४७ सालमा जनमाविमा नेपाल विद्यार्थी संघको इकाई कमिटी सचिव भए ।
त्यसपछि उनको राजनीतिक यात्रा अगाडि बढेको छ । स्कुले जीवनदेखि थालेको यात्रा क्याम्पसे जीवनमा पनि जारी रहयो ।
२०५२ सालमा सुर्खेत क्याम्पस शिक्षाको स्ववियु उपसभापतिमा निर्वाचित भए । त्यतिबेला यहाँ एमाले निकट अनेरास्ववियुको दवदवा कायम थियो । २०५६ मा नेविसंघ सुर्खेतको सचिव हुदैं २०५७ सालमा पुनः शिक्षा क्याम्पस को स्ववियु सभापति र नेविसंघ सुर्खेतको अध्यक्ष बने । जिल्लासम्म आइपुगेको सुवेदीको राजनीतिक यात्रा अव केन्द्र तहसम्म पुग्न थाल्यो ।
२०५९ सालमा उनी नेविसंघको केन्द्रीय सदस्य बने । २०६२ सालमा उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरे । सो वर्ष सुवेदी नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य बने र २०६८ मा उनि कांग्रेसको वीरेन्द्रनगर नगर सभापतिको जिम्मेवारी पनि सम्हाले । गएको पार्टीको १४ औं महाधिवेशनमा उनी जिल्ला सचिवको रुपमा जिम्मेवारीमा पुगेका छन् ।
उनी २०७४ सालमा वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुखमा समेत विजयी बने । वीएड, एमएम गरेका सुवेदी पटक पटक हिरासतमा बसेका छन्, यातना पाएका छन् । २०६२÷०६३ को आन्दोलन लगायतमा पटक पटक गरी ३५ दिन उनी हिरासतमा बसेका छन् ।
गिरफ्तारी र यातना पनि पटक पटक पाएका सुवेदीले जनताको अभिमतलाई कदर गर्दै समृद्ध वीरेन्द्रनगर बनाउने योजनामा कटिवद्ध भएर लाग्ने अठोट गरेका तिनै सुवेदी अहिले प्रदेश सभाको निर्वाचन लडने तयारीमा छन् । पार्टीले टिकट दिएको खण्डमा आफू जित्न सक्ने आँकलन उनी आफू निकटका कार्यकर्तासँग गर्दै आइरहेका छन् ।
पहिलोप्रेस
२७ भाद्र २०७९, सोमबार ०९:३३