मेरो उम्मेदवारी एक पटकका लागि मात्रै होः दिक्पाल शाही
सुर्खेत ।
नेपाली काँग्रेस दैलेख निर्वाचनक्षेत्र नम्बर दुइबाट प्रत्यक्ष तर्फ दिक्पाल शाहीलाई सिफारिस गरिएको छ ।
२०७४ सालमा एमाले र माओवादीको गठबन्धन भएका कारण उनी हालका प्रदेश सभा सभामुख राजबहादुर शाहीसँग पराजित बन्न पुगेका थिए । काँग्रेस दैलेखमा एमालेको मुख्य प्रतिस्पर्धी शक्ति पनि हो । यहाँ एमाले र काँग्रेसबीच विगत देखि नै कडा प्रतिस्पर्धा हुँदै गइरहेको छ ।
नेपाली काँग्रेसबाट संघीय संसदका लागि सिफारिस भएपछि उम्मेदवारका आकांक्षी तिनै शाहीसँग पहिलाेप्रेसले विभिन्न विषयमा कुराकानी गरेको छ ।
प्रस्तुत छ, सोही कुराकानीको सारसंक्षेपः
तपाईको उम्मेदवारी के का लागि हो ?
निस्वार्थ समाजसेवा गर्ने उद्देश्य बोकेर शिक्षक पेसालाई छोडेर २०४८ सालमा म राजनितिमा होमिएको हो । मेरो पहिलो उद्देश्य भनेको सबैलाई रोग, भोक र अशिक्षाबाट जोगाउनु हो । गरिब, एकल, दलित, जनजाती, महिला र पिछडिएका बर्गको उत्थान गरि पिछडिएको भनेर चिनिने दैलेख क्षेत्र नं २ लाई अहिलेको युगले चाहेको जसरी समाजमा रूपान्तरित गरी दिगो बिकास गर्ने उदेश्यका साथ मेरो उम्मेदवारीमा दाबी हो ।
तपाईका पाँच वर्षे प्राथमिकता के के हुन ?
हरेक नागरिकलाई गास, वास र कपासको व्यवस्था गराउने, स्वास्थ्य शिक्षा यातायात बिजुली र युवालाई रोजगार दिलाउने मेरो प्राथमिकताका विषय हुन ।
जिल्ला भित्रका राष्ट्रिय राजमार्ग तथा फिडर सडकहरुको स्तरवृद्धि तथा सुधार गर्ने ताकी बाह्रै महिना यहाँ सवारी सञ्चानमा अवरोध सिर्जना नहोस ।
बिभिन्न क्षेत्र र वर्गहरुमा आर्थिक अवसर प्रवर्द्धन गर्ने कार्यक्रमहरूलाई महत्व दिने योजना तथा बजेट तर्जुमा प्रक्रियामा बालबालिका, महिला, दलित, जनजाती, अपाङ्ग, असहाय, ज्येष्ठ नागरिक तथा पछाडि परेका वर्ग र समुदायलाई प्रत्यक्ष लाभ हुने योजनाहरु संघ सरकारमार्फत कार्यान्वयन गर्न दवाव दिने मेरो प्राथमिकता हो ।
जलवायु परिवर्तनका असर न्यूनिकरण गर्ने, खानेपानी तथा सरसफाई, बालमैत्री स्थानिय शासन, पोषण शुधार, बिपद व्यवस्थापन जस्ता पहुपक्षिय योजनाहरूलाई प्राथामिकता दिने मेरो योजना छ ।
आर्थिक, सामाजिक पूर्वाधारका क्षेत्रहरूमा लगानी बृद्धि गर्ने, जिल्लामा रहेका स्थानिय श्रोत साधनको पहिचान, परिचालन र उपयोग गर्दै रोजगारी र आय आर्जनको अबसर सिर्जना गर्ने कार्यक्रमहरूलाई कार्यन्वयन गर्ने र समुदायको आर्थिक तथा सामाजिक जिवनस्तरलाई तत्काल सुधार ल्याउने कार्यक्रमहरू सञ्चालन गर्ने मेरो सपना छ ।
यस्तै, जिल्ला भित्रका राष्ट्रिय राजमार्ग तथा फिडर सडकहरुको स्तरवृद्धि तथा सुधार गर्ने मेरो योजना छ ।
विगतमा तपाईले आफ्नो निर्वाचन क्षेत्रमा के कस्ता काम गर्नुभयो ?
म सरकारी लाभको पदमा नपुगेपनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छु ।
जस्तो, बाढिपिढितलाई राहत वितरण गर्ने, कोभिडको बेला खाद्यान्न र आर्थिक सहयोग गर्ने, गरिव, असाहय, अपाङ्ग र बिभिन्न रोगबाट ग्रसित नागरिकलाई समय–समयमा आर्थिक र भौतिक सहयोग गर्ने काम गरेको छु ।
तपाई कतिपटक उम्मेदवार बन्नु हुन्छ ?
यो मेरो पहिलो र अन्तिम पटक हो । अघिल्लो पटक मैले प्रदेश सभामा चुनाव लडेकाे थिएँ, म गठबन्धनका कारण पराजित भएँ । त्यो समयमा पनि मेरो संघमा दाबी थियो । पार्टीले प्रदेशबाटै चुनाव लडने भनेर निर्देशन दिएका कारण नै म प्रदेशमा चुनाव लडेको हो ।
यसपटक मैले टिकट पाएँ भने मेरो जीत सुनिश्चित छ । म एकपटक सांसद भएर जनताको सेवा गर्न चाहन्छु । यहाँका समस्यालाई सदनमा राख्न, समाधानका लागि पहल गर्न चाहन्छु । मलाई सांसद भएर पैसा कमाउन, जागिर खान जरुरी छैन ।
निरन्तर जनताको सेवामा खटने मेरो प्रतिबद्धता छ । पाँच वर्ष म जनताको जीवनमा सकेसम्म आमूल परिवर्तन ल्याउन चाहन्छु ।
त्यसका लागि दैलेख निर्वाचन क्षेत्र नम्बर दुइका जनताले मलाई यसपटक पार्टीले टिकट दिएको खण्डमा जिताएर पठाउनेछन भन्नेमा आशावादी छु ।
पहिलोप्रेस
२७ भाद्र २०७९, सोमबार ०८:१४