Loading... आजः २४ पुष २०८१, बुधबार

कर्णालीले पाउला त मंसिर पछि उपप्रधानमन्त्री ?

नयाँ ईतिहास रच्ने मौका कर्णालीका तीन नेतालाई
तस्वीर: मान बहादुर खड्का, मुना डिजाईन सेन्टर, सुर्खेत ।

शेरबहादुर थापा/सुर्खेत ।
कर्णाली प्रदेश संघीय सरकारमा जहिल्यै पछि पारिइने प्रदेश हो ।

यो प्रदेशबाट २०७४ सालको निर्वाचनपछि केहि जना मात्रै मन्त्री भए, मोहन बानियाँलाई विना विभागिय मन्त्री बनाइयो । अर्थमन्त्रीमा जनार्दन शर्मा प्रभाकर भए । नेकपाकालिन समयमा शक्ति बस्नेत पनि मन्त्री भए ।

२०७० सालको अवस्था पनि त्यहि हो । कर्णालीबाट हालसम्म गृहमन्त्रीको रुपमा पूर्णबहादुर खड्का, जनार्दन शर्मा, शक्ति बस्नेत बाहेक कोही भएका छैनन् । यो मन्त्रालयलाई शक्तिशाली मन्त्रालयको रुपमा लिने गरिन्छ ।

बचेखुचेका, भुगोल समेटन र आलोचनाबाट जोगिन बाहेक अन्य अवस्थामा कर्णालीले शक्तिशाली मन्त्रालय पाउने कुरा ‘सपना’ नै बन्यो । अझ, पूर्णबहादुर खड्का बाहेक सुर्खेत र दैलेखका सांसदहरुले शक्तिशाली मन्त्रालय त परै जाओस, भौतिक पूर्वाधार गर्ने खालका मन्त्रालयको कहिल्यै जिम्मा पाएनन् ।

पर्यटन, वन, नागरिक उड्डयन जस्ता गुजारा चलाउने मन्त्रालयबाहेक नेताहरुको ‘नसिब’मा विकासे मन्त्रालय पर्न सकेनन् ।

काँग्रेस र माओवादीमा कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरु मध्ये हाल यी तिनै जना प्रतिनिधि सभा सदस्यका लागि एकल रुपमा सिफारिस भइसकेका छन् ।

कर्णालीबाट काँग्रेसको प्रतिनिधित्व गर्ने उपसभापति पूर्णबहादुर खड्का पाँच पटक मन्त्री भइसकेका छन् भने उनले अब मन्त्री नबन्ने घोषणा नै गरिसकेका छन् । कर्णालीका अरु नेताहरु मन्त्री बन्न ¥याल चुहाइरहेको समयमा उनले मन्त्री नबन्ने घोषणाको ‘अर्थ’ फरक छ ।

‘हरेक पटक मन्त्री बनेर मात्रै केहि हुँदैन । अबको उपसभापति ज्यूको टार्गेट कम्तिमा उपप्रधानमन्त्री नै हो । त्यो भन्दा तल उहाँ झर्नुहुन्न ।’ काँग्रेस उपसभापति निकट स्रोत पहिलोप्रेससँग भन्छ, ‘उहाँको सपना प्रधानमन्त्री बन्ने हो । कर्णाली मात्रै नभई देशको विकासमा टेवा पु¥याउने उहाँको तीव्र चाहना छ । त्यहि चाहना अनुसार सुर्खेतबाट उहाँ एकल सिफारिसमा पर्नु भएको हो ।’

उनलाई कर्णालीमा विकासवादी नेताको रुपमा समेत लिइन्छ । नेता खड्का मिडियासँग भने धेरै टाढा रहने गरेका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री रहेका माओवादीका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ पनि अब उपप्रधानमन्त्री बन्ने सोचका साथ रुकुम पश्चिमबाट एकल सिफारिसमा परेका छन् । उपमहासचिव पद त्याग गरेका नेता प्रभाकरको चाहना पार्टीको महासचिव हुने नै थियो ।

‘उहाँ देशको अर्थतन्त्र चलाउने शक्तिशाली मन्त्री समेत भइसक्नु भएको छ । अब उहाँ मन्त्री मात्रै हुन सरकारमा जाने सम्भावना कम छ । अबको उहाँको लक्ष्य भनेका उपप्रधानमन्त्री वा प्रधानमन्त्री नै हो ।’ माओवादीका एक नेता भन्छन्, ‘त्यहि अनुसार उहाँले पार्टी भित्र आफ्नो पहुँच बढाइराख्नु भएको छ । देशैभर आफ्नो प्रभाव विस्तार गर्दै हुनुहुन्छ ।’

यस्तै, माओवादीकै अर्का प्रभावशाली नेता एवम उपमहासचिव शक्ति बस्नेत समेत जजरकोटबाट एकल सिफारिस भएका छन् ।

उनी पनि बारम्बार मन्त्री भइसकेका कारण अब उपप्रधानमन्त्री हुन चाहन्छन् ।

कर्णालीको इतिहासमा हालसम्म प्रधानमन्त्री तथा उपप्रधानमन्त्री कोही पनि बन्न सकेका छैनन् । मंसिर चार गते पछिको राजनीतिक अवस्था हेर्दा कर्णालीले यो पटक इतिहास रच्ने सम्भावना बढदै गएको छ ।

नेकपा एमालेबाट भने उपप्रधानमन्त्रीमा दाबी गर्ने नेताहरुको खडेरी परेको छ ।

केपि शर्मा ओलीको विश्वासपात्र, त्यो अनुसारको अनुभव र देशभरिका कार्यकर्ताबीच लोकप्रिय छवि कर्णालीका एमाले नेताहरुको नभएकै कारण एमालेको महाधिवेशनबाट कर्णालीले सचिव पद सम्म पाउन सकेन ।

एमाले नेता यामलाल कंडेल र गोरख वोगटीलाई बाध्य भएर स्थायी कमिटिमा लिएका अध्यक्ष ओलीले कर्णालीलाई हेर्ने नजर ‘हेपाहा’ प्रवृत्तिको रहेको एमालेकै नेताहरु बताउँछन् ।

 


सम्बन्धित समाचार