Loading... आजः ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगरमा चल्यो ‘डोजर’, नगरमा रहेका अवैध संरचना हटाईदै


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले ‘डोजर’ चलाउन सुरु गरेको छ ।

नगरपालिकाले सडक क्षेत्राधिकारभित्र बनेका अवैध संरचना बुधबार देखि हटाउन सुरु गरेको हो ।
मुख्य बजार क्षेत्र मंगलगढी चोकदेखि गणेश चोकसम्म सडकका दुवै किनारमा नक्सापास नगरी बनेका अवैध संरचनाले बजारको सुन्दरता कुरुप बनेको र सडक विस्तारमा कठिनाइ भएपछि नगरपालिकाले संरचना हटाउन सात दिने सूचना जारी गरेको थियो ।

नगरपालिकाले दिएको समयावधी सकिएपछि मुख्य बजार क्षेत्रमा रहेका विद्युतका पोल, नेपाल टेलिकम तथा इन्टरनेट प्रदायक संस्थाका तारहरु तथा सडक किनारामा पर्ने रुख तथा भौतिक संरचना हटाउन थालेको हो । १ हजार ७ सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार बुधबारदेखि काम थालिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिए ।

‘गत वर्ष नै सडक विस्तारका लागि ठेक्का आह्वान गरिएको हो । अवैध संरचनाका कारण निर्माण काम शुरु गर्न सकिएको थिएन्,’ तिवारी भन्छन्, ‘सर्वदलीय र सर्वपक्षीय बैठकमा सहमति जुटाएर सडक विस्तार गर्न अन्तिम सूचना प्रकाशन गरेपछि त्यसैको निरन्तरताका लागि संरचना हटाउन थालेका हौँ ।’

नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने जनाएको छ ।

प्रदेशको पूर्वाधार विकास निर्देशनालयले मंगलगढीे–गणेशचोक, वीरेन्द्रचोक–भानुचोक, हुलाक चोक–राम मन्दिर, वीरेन्द्रचोक–खोर्के खोला लाइनसम्मको सडक स्तरोन्नोती गर्न विभिन्न प्याकेजमा बजेट विनियोजन गरेको छ । यी सबै सडक डबल लेनको निर्माण गरिने निर्देशनालयका इन्जिनियर सूर्य शाहीले जानकारी दिए ।

‘मुख्य बजार क्षेत्रको सडक निर्माण लागत करिब १३ करोड ६७ लाख रहेको छ,’ शाहीले भने, ‘यो आर्थिक वर्ष सक्नेगरी अघिल्लो आर्थिक वर्षमा खड्का निर्माण सेवा बाँकेसँग सम्झौता भइसकेको छ । नगरपालिकाले साइट क्लियर गरेपछि निर्माण थालनी गरिनेछ ।’

८ सय ३४ मिटर लम्बाइसहित सडकको १५ मिटर चौडाइसम्म कालोपत्रे गरिने र बाँकी क्षेत्र पार्किङका लागि प्रयोग हुनेछ । बजार क्षेत्रमा रहेका अवैध संरचना समयमै नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन अनुसार अटेरी गरे कारबाही गर्ने नगरपालिकाले यसअघि नै चेतावनी दिइसकेको छ ।


सम्बन्धित समाचार