Loading... आजः ४ पुष २०८१, बिहीबार

मंसिरपछि कर्णालीको मुख्यमन्त्री को ?

यी पाँच मध्ये एक जना हुनेछन कर्णालीको मुख्यमन्त्री


सुर्खेत ।
कर्णाली प्रदेश सभाको आयु भोली शनिबार सकिदैछ ।

पाँच वर्षमा कर्णाली प्रदेश सभाले के कति काम गर्न सफल भयो त्यो समीक्षाको विषय होला । तर कर्णाली प्रदेश सभाले सरकार र मन्त्री भने बनाउन सक्यो । ४० सदस्यीय प्रदेश सभामा आधा भन्दा बढि मन्त्री बन्न सफल भए ।

आगामी मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन हुँदैछ । कर्णाली प्रदेशमा संघ तर्फ १२ तथा प्रदेश तर्फ २४ ओटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबै निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुबीच भागवण्डाको अन्तिम कसरत जारी छ भने गठबन्धनलाई कसिलो बनाउन गठबन्धन दलका शीर्ष नेताहरुबीच आपसी छलफल जारी छ ।

कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले आगामी मंसिर पछिको मुख्यमन्त्रीको रुपमा एमाले स्थायी कमिटि सदस्य, कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेललाई अघि सारिसकेको छ ।

प्रदेश सभामा उनी चुनाव लडने भएपछि कर्णालीमा एमालेको सरकार बनेको खण्डमा उनी मात्रै मुख्यमन्त्रीका एक्ला दावेदार हुन ।

यद्यपी एमालेले कति सिट ल्याउला भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था भने छैन ।

राजनीतिक वृत्तमा एमालेले समानुपातिक र प्रत्यक्ष गरेर बढिमा दश सिट ल्याउन सक्ने आंकलन भइरहेको छ ।

मुख्यमन्त्रीको दावेदारका रुपमा सबैभन्दा बढि माओवादी केन्द्रमा देखिएका छन् । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट मुख्यमन्त्री पदका दावेदार हुन भने रुकुम पश्चिमका राजकुमार शर्मा पनि मुख्यमन्त्री पदका प्रमुख दावेदार हुन ।

केन्द्रमा शक्ति बस्नेत र जनार्दन शर्मा बीचको ‘तानातान’ मा बस्नेतले विष्टलाई र शर्मालाई जनार्दनले च्याप्ने निश्चित छ । रुकुम पश्चिमबाट शर्मा सर्वसम्मत रुपमा सिफारिस भइसकेपनि विष्टको भने टुंगो लागेको छैन । विष्टसँगै विद्यार्थी नेता पञ्चा सिंह र गंगाराम विक पनि सिफारिस भएका छन् ।

केहि दिनमा नै माओवादी केन्द्रले यी तिन जना मध्ये कसले टिकट पाउने भन्ने निक्र्योल लगाउनेछ ।
यस्तै, अघिल्लो पटकको निर्वाचन पछि मुख्यमन्त्रीका दावेदारका रुपमा नरेश भण्डारीलाई लिइएको थियो । उनी मुख्यमन्त्री हुने चाहनाका साथ प्रदेशमा चुनाव लडेका थिए तर जर्नादनको चाहनाबाट मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही चयन भएका थिए ।

जसका कारण उनी आन्तरिक मामिला तथा कानून मन्त्रीको रुपमा बस्न बाध्य भए । यो पटकको चुनावका लागि उनी जुम्लाबाट संघीय निर्वाचनका लागि सिफारिस भइसकेका छन् । यद्यपी उनी प्रदेशमा टिकट पाएको खण्डमा प्रदेश फर्किन समेत तयार छन् ।

माओवादीले कर्णाली प्रदेशलाई आधार क्षेत्रको रुपमा लिदैं आगामी निर्वाचनमा कम्तिमा १६ सिट ल्याउने दाबी गर्दै आइरहेको छ ।

यस्तै, समाजवादीले पनि कम्तिमा चार सिट ल्याउने दाबी गरेपनि समाजवादीबाट मुख्यमन्त्रीको दावेदारको रुपमा हाल कोही पनि आएका छैनन् ।

नेपाली काँग्रेसबाट हालका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्रीका एक्ला दावेदार हुन । केन्दीय कार्यसम्पादन समितिका सदस्य समेत रहेका मुख्यमन्त्री शाही प्रदेशबाटै चुनाव लडने निश्चित भइसकेको छ । केन्द्रमा मन्त्री समेत भइसकेका मुख्यमन्त्री शाहीको चाहना कम्तिमा साढे दुइ वर्ष मुख्यमन्त्री बन्ने छ ।

‘उहाँको ६ ‘ब’को नीति कार्यान्वयन गर्ने तीव्र चाहनाले उहाँलाई प्रदेशमै चुनाव लडन तयार पारेको हो ।’ मुख्यमन्त्री शाही निकट स्रोत भन्छ, ‘अघिल्लो चुनावमा काँग्रेसले एक सिट मात्रै जितेर पनि मुख्यमन्त्री पाएको हो । यसपटक कम्तिमा दश सिट काँग्रेसले जित्ने र त्यहि आधारमा गठबन्धनको सरकार बन्ने भएका कारण उहाँले प्रदेश रोज्नु भएको हो ।’

मुख्यमन्त्री शाहीले समेत पहिलोप्रेससँग कुरा गर्दै आफू प्रदेशमै चुनाव लडने यसअघि नै बताइसकेका छन् ।

कुनै राजनीतिक घटनाक्रममा नयाँपन नभएको खण्डमा कर्णालीमा गठबन्धनकै सरकार बन्ने करिब निश्चित छ । माथि उल्लिखित अनुहार नै कर्णालीको मुख्यमन्त्रीका दावेदार हुन ।


सम्बन्धित समाचार