Loading... आजः ४ पुष २०८१, बिहीबार

उपसभामुख घर्ति चढने गाडी कोहलपुरमा दुर्घटना, चालक प्रहरी नियन्त्रणमा

प्रदेश सभाको गाडी यामलाल र ओलीद्धारा फिर्ता
नेता कडेल चढने गाडी ।

सुर्खेत ।
कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्ती चढने गाडी कोहलपुरमा दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२–००१ झ ००४१ नम्बरको गाडी उनका चालक हरिराम थारुले चलाउँदै आइरहेका थिए । कोहलपुर प्रहरीका डिएसपी ऐनबहादुर मल्लले चालकले अत्याधिक मापसे सेवन गरेका कारण गाडी दुर्घटनामा परेको बताए ।

‘उहाँले अत्याधिक मापसे सेवन गरेको अवस्थामा हामीले नियन्त्रणमा लिएका छौं । उपसभामुख ज्यू आएपछि उहाँलाई लैजानुहुन्छ ।’ उक्त गाडीको साँचो हामीले अर्को गुरु मनोज अधिकारीलाई दिइसकेका छौं ।’ उनले भने, ‘गाडी नालामा परेको हो । त्यति धेरै क्षति भने भएको छैन तर गाडी भने स्टार्ट नै हुँदैन ।’

एमाले नेता यामलाल र समाजवादी नेता ओलीद्धारा प्रदेश सभाको गाडी फिर्ता

यता, असोज एक गते राती १२ बजे देखि पदावधी सकिएपछि आज नेकपा एमालेका प्रदेश इन्चार्ज यामलाल कंडेलले प्रदेश सभामा गाडी फिर्ता गरेका छन् । उनले एमाले संसदीय दलका नेताको हैसियतमा प्रदेश सभाको लु १ झ ४२६ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका थिए ।

यस्तै, सामाजिक विकास समिति सदस्य एवम नेकपा एसकी नेतृ देवि ओलीले शुक्रबार नै गाडी प्रदेश सभामा बुझाएकी प्रदेश सभाका स्टोरप्रमुख सुरेन्द्र थापाले बताए । ओलीले कर्णाली प्रदेश ०२–००१ झ ००४३ नम्बरको गाडी सामाजिक विकास समितिको अध्यक्षको हैसियतमा प्रयोग गर्दै आइरहेकी थिईन ।

यिनले बुझाएनन् गाडी
पदावधी सकिएपनि कर्णाली प्रदेश प्रदेश सभाका सभामुख राजबहादुर शाहीले गाडी बुझाएका छैनन् । हाल काठमाडौंमा रहेका सभामुख शाहीले कर्णाली प्रदेश ०२–००१ झ ००९३ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् । ‘म एक दुइ दिनमा नै गाडी प्रदेश सभालाई बुझाउँछु । हाल गाडी काठमाडौंमै थन्क्याएर राखेको छु । म सार्वजनिक सवारी साधनको प्रयो गर्दै आवतजावत गरिरहेको छु ।’ सभामुख शाहीले पहिलोप्रेससँग भने ।

नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाहले पनि गाडी बुझाएका छैनन् । सामान्यतया पदावधी सकिएपछि सरकारी गाडी र निवास नैतिकताको आधारमा फिर्ता गर्नुपर्ने प्रचलन भएपनि पदावधी सकिएको सात दिन वित्दासम्म उनले चढने कर्णाली प्रदेश ०२–००१ झ ००३९ नम्बरको गाडी फिर्ता गरेका छैनन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गोपाल शर्माले पनि गाडी फिर्ता गरेका छैनन् । उनले कर्णाली प्रदेश ०२–००१ झ ०१३० नम्बरको गाडी चढदै आइरहेका छन् । उनी पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन ।

त्यसैगरि, नेपाली काँग्रेसकी सचेतक अमृता शाहीले पनि हालसम्म गाडी फिर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ । उनले कर्णाली प्रदेश ०२–००१ झ ००४२ नम्बरको गाडी फिर्ता गरेकी छैनन् ।

प्रदेश मामिला तथा विधायन समितिका अध्यक्ष दानसिंह परियारले समेत गाडी फिर्ता गरेका छैनन् । हाल मुगुमा रहेका उनले कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् ।

यस्तै, सार्वजनिक लेखा समितिका अध्यक्ष करविर शाहीले समेत गाडी फिर्ता गरेका छैनन् । उनले कर्णाली प्रदेश ०२–००१ झ ००४५ नम्बरको गाडी प्रयोग गर्दै आइरहेका छन् ।

गाडी खराब भए मर्मत गरेर बुझाउनुपर्ने
यता, प्रदेश सभा सचिवालयले पदाधिकारी तथा समितिका अध्यक्षहरुले चढने गाडी खराब अवस्थामा भएको खण्डमा मर्मत गरेर बुझाउनुपर्ने जनाएको छ । ‘उहाँहरुले पदावधी सकिएलगत्तै बुझाएको भए त्यो दायित्व प्रदेश सभाको हुनेथियो ।’ प्रदेश सभाका एक कर्मचारी भन्छन्, ‘अब विग्रेको खण्डमा उहाँहरुले गाडी मर्मत गरेर दिनुपर्ने हुन्छ ।’

उपसभामुख घर्ती चढने गाडी पनि उनैले मर्मत गरेर दिनुपर्ने ती कर्मचारीको भनाई छ ।


सम्बन्धित समाचार