Loading... आजः ४ पुष २०८१, बिहीबार

नवौं राष्ट्रिय खेलकुदको ट्रफी कर्णालीका मुख्यमन्त्री शाहीले मध्यान्ह साढे १२ बजे अनावरण गर्ने

रनिङ्ग ट्रफी कर्णालीका खेलाडीको हौसला बढाउन कोसेढुंङ्गा सावित हुने अपेक्षा

सुर्खेत ।
राष्ट्रिय खेलकुद परिषदले आगामी असोज २८ गतेबाट पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विजेतालाई हस्तान्तरण गर्ने ट्रफीको आज वीरेन्द्रनगरको कभर्ड हलमा मुख्यमन्त्री जीवनबहादुर शाहीले अनावरण गर्ने भएका छन् ।

कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्यालका अनुसार आज मध्यान्ह साढे १२ बजे मुख्यमन्त्री शाहीद्धारा उक्त ट्रफी अनावरण गर्ने कार्यक्रम तय भएको हो ।

खेलाडी र प्रशिक्षक गरि करिब चार सय जनाको सहभागिता हुने उक्त कार्यक्रमले खेलाडीको हौसला समेत बुलन्द हुने अपेक्षा परिषदले लिएको छ ।

‘ट्रफीलाई देशैभर डुलाउने अन्र्तराष्ट्रिय प्रचलन भएपनि यो पटक नेपालमा पहिलो पटक खेलकुद परिषदले यस्तो प्रचलनको सुरुवात गरेको हो ।’ उनले भने, ‘खेलाडीले नजिकैबाट हेर्न, चुम्न पाउने र त्यसबाट खेलाडीको हौसला बुलन्द हुँदै कर्णालीले बढि भन्दा बढि पदक भित्र्याउन यो कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा हामीले गरेका छौं ।’

ट्रफी टुर कार्यदलमा ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका चार स्वर्ण पदक प्राप्त गर्दै इतिहास रच्न सफल तेक्वान्दो खेलाडी दीपक बिष्टको संयोजकत्वमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग स्वर्ण पदकधारी दीपक श्रेष्ठ, क्रिकेटका पूर्व कप्तान पारस खड्का, अल्ट्राधावक मिरा राई र राष्ट्रिय खेल भलिबलकी कप्तान अरुणा शाही रहेका छन् ।

कार्यदलले राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेशमा मुख्य मन्त्रीको उपस्थितीमा, तीन विभागिय टिमको मुख्य कार्यालयमा प्रमुखको उपस्थितीमा ट्रफी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । अब यसपछि उक्त टोली मधेश प्रदेश जाने भएको छ ।

आज ट्रफी कर्णालीमै बस्ने
उनका अनुसार उक्त ट्रफी आज कर्णालीमा नै बास बस्ने भएको छ । ५ केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द २ तोला सुनले कुँदिएको स्वर्ण शब्द सहित काठको बेसमा वनाईएको छ । ट्रफी १० लाख मुल्य बराबर रहेको परिषदका उपाध्यक्ष प्रमोद हमालले बताए ।

उनका अनुसार ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृती अनुरुप कुनैपनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पुजा गरे पश्चात मात्र कार्य सुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ ।

ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागिय टोली र एनआरएनएमा परिक्रमा गराईने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार