दैलेख निर्वाचन क्षेत्र नम्बर दुईमा एमालेबाट पोखरेलले संघमा टिकट पाउँदै
सुर्खेत ।
नेकपा एमालेले दैलेखको निर्वाचन क्षेत्र नम्बर दुईबाट संघ तथा प्रदेश तर्फ टिकट पाउने नेताको नाम टुंगो लगाएको एमाले स्रोतले पहिलोप्रेसलाई जानकारी दिएको छ ।
संघका लागि पाँच जनाको दावेदारी परेपनि अन्तिममा एमाले पोलिट व्यूरो सदस्य एवम दैलेख जिल्ला इन्चार्ज लक्ष्मी पोखरेलले टिकट फूत्काउने करिब निश्चित भएको हो ।
२०७० सालमा दैलेख निर्वाचन क्षेत्र नम्बर दुइबाट निर्वाचन जितेर संविधान सभा सदस्य बनेका पोखरेलले संघमा टिकट पाउने भएपछि एमालेभित्रै भुइचालो गएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल वा कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले टिकट पाउने हल्ला चलेपनि शक्तिकेन्द्रको आडमा पोखरेलले टिकट पाउने निश्चित भएको हो । यद्यपी उनको हातमा टिकट भने परि नसकेको एमाले स्रोतले जनायो ।
प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएको एमाले कर्णाली प्रदेश अध्यक्ष विनाेद कुमार शाह प्रदेश सभा ‘ख’ मा चुनाव लडने भन्दै घटुवा भएका छन् ।
गएको स्थानीय तहमा आफ्नै श्रीमतीलाई टिकट दिलाएको र दैलेख दुइ नम्बर क्षेत्रका भैरवी र ठाँटीकाँध गाउँपालिका हार्नमा उनको यो कदमले साथ दिएको भन्दै कार्यकर्तातहमा आक्रोस पैदा भएको थियो ।
उनकी श्रीमती ठाँटीकाँध गाउँपालिकाको अध्यक्ष उम्मेदवार बनेपनि पराजित भएकी थिईन ।
उक्त प्रदेश सभामा उम्मेदवार बन्न शेरबहादुर रावत, ओमजंग शाहीलगायतका नेताहरु आकांक्षी दिए ।
यस्तै, प्रदेश सभा ‘क’ बाट युवा नेता शुशिल थापाको टिकट करिब निश्चित भएको छ । उनी यसअघि पनि कर्णाली प्रदेश सभा सदस्य पदमा विजयी भएका थिए । २०७४ सालको चुनावमा विष्णु रिजाललाई पछि पार्दै उनले टिकट हातमा लिएका थिए ।
उनी युवाहरु माझ सहज, सरल र लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।
पहिलोप्रेस
१९ आश्विन २०७९, बुधबार ०८:२९