Loading... आजः ४ पुष २०८१, बिहीबार

युवा नेता शाहीद्धारा बुवाको सम्झनामा पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा


सुर्खेत ।
नेकपा एमालेका युवा नेता एवम अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले दशैंको अवसर पारेर दैलेखमा आफ्ना स्वर्गीय वुवा खगेन्द्रबहादुर शाहीको सम्झनामा पाँच लाख बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका निवासी शाहीले फेसबुकमा एक लामो स्टाटस लेख्दै उक्त कोष निर्माणका लागि पैतृक सम्पती एवम आफ्नो कमाईको रकम लगानी गर्ने घोषणा समेत गरेका हुन ।

उनले दैलेख जिल्लाका गरिव, दलित, जेहन्दार विद्यार्थीका लागि रु. ५ लाखको अक्षयकोषको घोषणा गर्दै अकुपञ्चर, आयुर्वेद र प्राकृतिक चिकित्सामार्फत् निःशुल्क उपचारको लागि उक्त अक्षय कोषबाट सहयोग गरिने बताएका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ः

क) स्वास्थ्य क्षेत्रमा राज्यले काम गर्नु पर्दछ भनेर हामी आफ्नै निजी लगानीमा नेचुरालय फाउन्डेसन स्थापना गरी काठमाडौंबाट दिन दुःखीहरूका लागि स्वयम्सेवी अकुपञ्चर लगायतका सेवा सुरुवात गरिसकेका छौं । प्राकृतिक चिकित्सा र अकुपञ्चर लगायतका विधिबाट नशा, माइग्रेन, रक्त सञ्चार आदि रोगका लागि हाललाई मेरो जन्मथलो दैलेख जिल्लाका अति विपन्न दलित, महिला, अशक्तका लागि आजैका दिनदेखि हाम्रो फाउण्डेसन मार्फत् निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

ख) शिक्षा हाम्रा सन्तती र देशको भाग्य निर्माण गर्ने आधार हो । सार्वजनिक शिक्षामा सुधार गर्नु पर्दछ भनेर हामीले रूपान्तरण नेपाल मार्फत् पनि दैलेख जिल्लाको शिक्षा सुधार र सामाजिक क्षेत्रमा केही सहयोगहरू गरेका थियौं । म आफैले दुल्लुको निर्माणाधान साहित्यिक उद्यानमा मानवतावादका प्रवद्र्धक तथा शिक्षाविद् जयपृथ्वी बहादुर सिंहको सालिक स्थापना गर्न रु. ५० हजार दान गरेको छु । हाम्रा स्वर्गीय बुवा खगेन्द्रबहादुर शाही दैलेखको पश्चिम क्षेत्रमा विभिन्न विद्यालयमा संस्थापक शिक्षक भई काम गर्नु भएको थियो ।
मैले आजको शुभ दिन वडा दशैं र विश्व शिक्षक दिवशको अवसर पारी दैलेख जिल्लाको शिक्षामा सुधार गर्न हाम्रा स्वर्गीय बुवाको नाममा गरिव, दलित र जेहन्दार विद्यार्थीका छात्रवृत्तिका लागि रू. ५ लाखको अक्षयकोष निर्माण गर्ने घोषणा गर्दछु । त्यसको सञ्चालन र विद्यार्थी छनौट प्रकृयाका लागि दैलेख जिल्लाका विद्धान, पुराना गुरुहरू, त्यागी राजनीतिकर्मीहरूलाई संरक्षक र सल्लाहकारका रूपमा राख्न प्रस्ताव गरेको छु ।

अक्षयकोष यही आर्थिक वर्षभित्र सञ्चालनमा आइसक्ने र म मेरो आफ्नो पैतृक सम्पत्ति र कमाइबाट अक्षयकोषमा यस बाहेकको थप रकम जम्मा गर्दैं जाने घोषणा पनि गर्दछु ।
दैलेख दुल्लु पञ्चकोशी ज्वाला क्षेत्र न्याय, सत्कर्म, सद्भावना र समानताको भूमि पनि हो ।

दैलेख जिल्लाका सबै दाजुभाई दिदी बहिनीहरूले मेरो यस अभियानलाई साथ र सहयोग दिनु हुने अपेक्षा गर्दै पुनः वडा दशैं, तिहार, नेपाल सम्वत्, छठलगायतका पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।


सम्बन्धित समाचार