कर्णालीका मुख्य तीन दलका प्रदेश अध्यक्ष बने उम्मेदवार, माओवादी अध्यक्ष रिङ आउट !
सुर्खेत ।
कर्णाली प्रदेशबाट राजनीतिक प्रतिनिधित्व गर्ने चार प्रमुख दलमध्ये तीन दलका प्रदेश अध्यक्षहरु आगामी मंसिर ४ गते हुने निर्वाचनमा होमिने निश्चित भएको छ ।
नेकपा एमालेका प्रदेश अध्यक्ष विनोद कुमार शाह, नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाही र नेकपा एसका प्रदेश अध्यक्ष अम्मरबहादुर थापा चुनावमा होमिने निश्चित भएको हो ।
नेकपा एसका प्रदेश अध्यक्ष थापा दैलेख निर्वाचन क्षेत्र नम्बर एकबाट गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिनिधि सभामा चुनाव लडने निश्चित भएको हो । उनी यसअघि प्रतिनिधि सभाको सांसद बन्नुका सार्थ कर्णाली प्रदेश सभा सदस्य बनेर भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत बनिसकेका छन् ।
यस्तै, दैलेखको निर्वाचन क्षेत्र नम्बर दुइ ‘ख’बाट प्रत्यक्षतर्फ एमालेबाट प्रदेश सांसदको उम्मेदवार बनेका अध्यक्ष शाह पूर्व राज्यमन्त्री समेत हुन ।
जुम्ला प्रदेश सभा ‘क’ बाट नेपाली काँग्रेसका सभापति शाही चुनाव लडने निश्चित भएको छ । उनी गठबन्धनबाट चुनाव लडने तयारीमा छन् ।
तर, नेकपा माओवादीका अध्यक्ष विमला केसी भने निर्वाचन प्रक्रिया सुरु हुनुपूर्व नै आफूले आगामी पाँच वर्ष पार्टी राजनीति गर्ने भन्दै चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेकै थिईन ।
न उनी प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छिन न समानुपातिकतर्फ नै समेटिएकी छिन् । यसअर्थमा उनी आउने चुनावमा रिङआउट भएकी हुन भन्न सकिन्छ ।
पहिलोप्रेस
२२ आश्विन २०७९, शनिबार १२:५३