नेकपा एस सुर्खेतको गठबन्धन र दललाई चुनौती, भागवण्डा नमिलाए ६ स्थानमै स्वतन्त्र उम्मेदवारी, सामूहिक राजीनामा
सुर्खेत ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि सुर्खेतले कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश सभाको भागवण्डा एकपक्षीय भएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ ।
आज पार्टी कार्यालय वीरेन्द्रनगरमा अध्यक्ष मोहन बडुवालको अध्यक्षतामा बसेको वैठकले सत्तारुढ गठबन्धन दलहरुबीच सुर्खेतको प्रादेशिक क्षेत्रको सिट भागवण्डा एकपक्षीय र असन्तुलित रहेको बताउँदै त्यसलाई नसुधारे सामूहिक राजीनामा दिने देखि स्वतन्त्र उम्मेदवारी दिनेसम्मको निर्णय गरेको हो ।
‘मुलभुत रुपमा सत्ता गठबन्धनभित्र कर्णाली प्रदेशको जुन सिट बाँडफाँट छ नि, विषेश गरि प्रदेश सभा सिटको भागवण्डा राजनीतिक सन्तुलन नभएर, एक पक्षीय मात्रै भएका कारण यसलाई सच्याउनका लागि पार्टी केन्द्रलाई अनुरोध गरेका छौं ।’
अध्यक्ष बडुवालले पहिलोप्रेससँग भने, ‘यदि पार्टीले गठबन्धन भित्र यसलाई सल्ट्याउन सकेन भने हामी आफ्नै पार्टीको चुनावचिन्ह लिएर ६ ओटै निर्वाचन क्षेत्रमा चुनाव लडन चाहन्छौं । त्यसका लागि पार्टी केन्द्रलाई टिकट पठाई दिन अनुरोध गरेका छौं ।’
उनले पार्टीले टिकट नदिने भएपछि स्वतन्त्रबाट ६ ओटै निर्वाचन क्षेत्रमा चुनाव लडने निर्णयभएको समेत बताए ।
‘पार्टी केन्द्रबाट टिकट आएन भने हामीले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्ने, सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गर्ने र समानुपातिकतर्फ भने कलममा मतदान गर्न आव्हान गर्ने निर्णय भएको छ ।’
उनका अनुसार प्रतिनिधि सभा १ सुर्खेतबाट यज्ञबहादुर रेग्मी तथा प्रदेश सभा ‘क’ अमृतप्रसाद जैशी, प्रदेश सभा ‘ख’ आकांक्षी धेरै टुंगो लगाईँदै छ ।
यस्तै, प्रतिनिधि सभा २ बाट कुलदिप भट्ट स्वतन्त्र भएपनि चुनाव लडनेछन भने प्रदेश सभातर्फ ‘क’ मा शिवप्रसाद उपाध्याय तथा ‘ख’ मोहन बडुवाल लडने भएका हुन ।
पहिलोप्रेस
२२ आश्विन २०७९, शनिबार १६:५०