कर्णालीबाट नवौं खेलकुदमा भाग लिन खेलाडीहरु पोखरा प्रस्थान गर्दै
सुर्खेत ।
असोज २८ गतेदेखि पोखरामा सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुन भन्दै कर्णाली खेलकुद विकास परिषदले कर्णालीको प्रतिनिधित्व हुने गरि महिला क्रिकेट टिम र महिला तथा पुरुष ह्याण्डबल टिम पोखरा पठाएको छ ।
महिला क्रिकेटतर्फ प्रशिक्षक र व्यवस्थापक सहित १६ जनाको टिमलाई आज वीरेन्द्रनगर बसपार्कबाट विदाई गरिएको परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्यालले पहिलोप्रेसलाई जानकारी दिए ।
उनका अनुसार कार्यालयबाट प्रशिक्षक, कोचसहित महिला तथा पुरुष गरि जम्मा ३२ जनालाई पनि पोखरा पठाइएको हो ।
कर्णालीले नवौं खेलकुद प्रतियोगितामा विभन्न २९ ओटा खेलमा सहभागिता जनाउने भएको छ । यसकालागि आजबाट खेलाडीहरुलाई पोखरा पठाउन थालिएको सदस्य सचिव सन्ज्यालले बताए ।
‘अब हामीले खेलाडी पठाउन सुरु गरेका छौं । सबै खेलाडी २६ गतेसम्म पोखरा प्रस्थान गरिसक्ने कार्यसूचि तय भइसकेको छ ।’ उनले भने, ‘अन्य खेलका खेलाडीहरु दशैं विदामा गएका छन् । उहाँहरु सुर्खेत आउने क्रम पनि जारी नै छ । उहाँहरु आएसँगै पोखरामा कहिले पठाउने भन्ने कुराको निक्र्यौल हुनेछ ।’
यता, परिषदका उपाध्यक्ष प्रमोद हमालले खेलाडीहरुबाट बढिभन्दा बढि स्वर्ण अपेक्षा गरिएको बताए । ‘अहिले यो वा त्यो खेमा स्वर्ण ल्याउँछौं भनेर हामी नभनौं ।’ उनले भने, ‘पहिलेको तुलनामा यसपाली कर्णालीले राम्रो खेल प्रर्दशन गर्ने पक्का छ । सोही अनुपातमा विगतको भन्दा स्वर्ण यसपटक बढि कर्णालीमा भित्रिनेछ ।’
हेर्नुहोस कुन खेलाडी कहिले जाँदैछन पोखरा ?
पहिलोप्रेस
२३ आश्विन २०७९, आईतवार ०७:५०