कर्णालीमा विमलाको अब्बल महिला नेतृत्व, २०७९को चुनावमा नब्बे प्रतिशत सफल !
शेरबहादुर थापा/सुर्खेत ।
महिलालाई राजनीतिक दलहरुले कार्यकारी नेतृत्वमा आउन दिने प्रचलन कमै छ नेपालमा । अझ भन्ने हो भने कर्णालीमा भने हिलाले दलको प्रदेश नेतृत्व गर्ने सक्दैनन भन्ने आम धारणा राख्नेहरुको जमात असाध्यै ठूलो छ तर अवसर पाए भने महिलाले पुरुषको तुलनामा अब्बल काम गर्न सक्छन भन्ने उदाहरण बन्न सफल भएकी छिन माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसी ।
मंसिर चार गते हुने निर्वाचना संघ र प्रदेशतर्फ चुनाव नलडने र समानुपातिक सांसद नबन्ने घोषणा गरेकी विमलाले प्रदेशमा पार्टीलाई जिताउने भन्दै पहिलोप्रेससँग कुरा गरेकी थिईन ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय देखि विभिन्न मन्त्रालय सम्हालिसकेकी अब्बल महिला नेतृ कर्णालीमा गठबन्धन जिताउने मात्रै होइन, आफ्नै दलका दश मध्ये नौ प्रदेश सभा सदस्य तथा पाँच मध्ये चार ओटा प्रतिनिधि सभा सदस्य जिताउन सफल भएकी हुन ।
प्रदेश सभातर्फ सुर्खेतमा दुई, कालिकोटमा एक, हुम्लामा एक, डोल्पामा एक, रुकुममा दुई, सल्यानमा एक र मुगुको एक सिटमा माओवादीले अग्रता लिइरहेको छ । यति मात्रै होइन, कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लाका प्रतिनिधि सभामा माओवादीबाट उम्मेदवार बनेका चार जना मध्ये रुकुम र जाजरकोटमा विजय प्राप्त भइसकेको छ भने कालिकोटमा जीत उन्मुख छ । हुम्लामा पनि जीत्ने सम्भावना बढदै गइरहेको छ ।
कर्णाली प्रदेश गठबन्धन निर्वाचन परिचालन तथा अनुगमन समिति संयोजक रहेकी केसीले माओवादीका मात्रै होइन काँग्रेसका उम्मेदवार जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरिन । चुनाव प्रचारका दौरान कर्णाली गठबन्धनको नेतृत्व गरेकी केसि सफल महिला नेतृमा दरिएकी छिन् ।
‘म कर्णालीका सबै जिल्लामा पुगें । त्यहाँ रहेका कतिपय विवाद मिलाउने प्रयत्न पनि गरें ।’ पहिलोप्रेससँग संक्षिप्त कुरा गर्दै केसिले भनिन्, ‘नब्बे प्रतिशत सफलता मिलेको महसुस भएको छ । कर्णालीका जनताले गठबन्धनका उम्मेदवारहरुलाई आत्मै देखि मन पराएर मतदानगरि विजयी बनाउनु भयो । यसकालागि कर्णाली वासी धन्यवादका पात्र नै हुन ।
प्रदेश सभातर्फ सुर्खेतमा दुई, कालिकोटमा एक, हुम्लामा एक, डोल्पामा एक, रुकुममा दुई, सल्यानमा एक र मुगुको एक सिटमा माओवादीले अग्रता लिइरहेको छ । यति मात्रै होइन, कर्णालीमा जुम्ला बाहेक अन्य जिल्लाका प्रतिनिधि सभामा माओवादीबाट उम्मेदवार बनेका चार जना मध्ये रुकुम र जाजरकोटमा विजय प्राप्त भइसकेको छ भने कालिकोटमा जीत उन्मुख छ । हुम्लामा पनि जीत्ने सम्भावना बढदै गइरहेको छ ।
को हुन विमला ? यस्तो छ उनको राजनीतिक विरासत
विसं २०३५ सालको मंसिर महिनामा रुकुम पश्चिमको सानीभेरी नगरपालिका वडा नं. ९ मा जन्मिएकी विमला २०५२ फागुन एक गते नै भूमिगत भएकी थिइन् । ६ वर्षको बाल्यकालमा बुवा गुमाएकी मन्त्री केसीको बाल्यवस्था संघर्षपूर्ण रह्यो ।
सानै उमेरमा क्रान्तिकारी नाटक, गीत संगीतमा रुचि राख्ने विमला नाटक लेखनमा पनि उत्तिकै अब्बल थिइन् । आफूले लेखेको नाटकले दर्शकको मन जितेर रुवाएको समेत उनी स्मरण गर्छिन् । उनले लेखेका करीब दुई दर्जन नाटकमध्ये बदला र आक्रोश चर्चित नाटकमा पर्छन् ।
जब उनका बुवाको २९ वर्षकै उमेरमा निधन भयो । त्यतिबेला उनकी आमाले पनि ज्यान दिने प्रयास गरिन् । ‘आमाले आफू केही गर्न सक्दिनँ, चार वटा सन्तानको कसरी हेरचाह गर्ने भन्ने तनावले मृत्यु रोज्न पुगेतापनि गाउँलेले आमालाई बचाएछन्,’ मन्त्री केसी भन्छिन्, ‘गाउँले÷ छिमेकीले उतिबेला बचाएपनि पछि भने हेप्ने काम गर्ने गर्थे । आमाले होटल सञ्चालन गर्ने भएकाले भात बेचेर छोराछोरी पढाउने महिला भन्दै खिसिट्यूरी गर्ने गर्थे ।’ तर पनि उनकी आमाले हिम्मत भने नहारेको उनको भनाइ छ ।
पिता गुमाएपछि उनले आमाको पीडा र संघर्षलाई नजिकबाट नियालिन् । ’८ महिनाको भाइलाई स्याहार्नु कम्ता चुनौतीपूर्ण थिएन उतिबेला,’ उनी स्मरण गर्छिन्, ‘बुवाले र हजुरबुवाले दुई वटा पसल सञ्चालन गरिरहनुभएको थियो । पसल राम्रै चलेको थियो रे ! तर पछि अंकल टोपबहादुर केसीले होटल चलाउनुभयो ।’
आमाले दुई कक्षासम्म मात्र पढेका कारण हिसाबकिताब गर्न गाह्रो हुने भएकाले बुवाको निधनपछि अंकललाई पसल चलाउन आग्रह गरेको र होटल भने आमा आफैंले सञ्चालन गरेको उनले बताइन् ।
दिनभरि खेतीपातीको काम गर्ने र साँझ विहान होटलमा आएका ग्राहकलाई घरकै जस्तो मीठो खाना खुवाउने तथा चौरजहारी विमानस्थल जाने बाटोमै भएका कारण होटल सरकारी कर्मचारीहरूले खाना खाने ठाउँको रूपमा स्थापित भयो ।
उनले होटलमा विभिन्न किसिमका मानिसहरू आउने, कुराकानी गर्ने गर्दा सही र गलतबारे बोल्नुपर्छ भन्ने कुरा बुझिसकेकी थिइन् । उनले आमाबाट समाजमा रहेका कुरीती, कुसंस्कारविरुद्ध लड्नुपर्छ भन्ने ज्ञान सिकिसकेकी थिइन् । अर्कोतिर विद्यालयमा अध्यापन गराउने शिक्षकबाट पनि उनले राजनीतिमा लाग्ने प्रेरणा पाइन् । उनको कान्छा बुवा तत्कालीन नेकपा मसालका एरिया इन्चार्ज भएका कारण पनि उनलाई राजनीतिमा लाग्ने प्रेरणा मिल्यो ।
उनी ६ कक्षामा पढ्ने बेलामा बहुदल आयो । बहुदल आएको भन्ने खबर चारैतिर आउँदा उनको मनमा पनि कौतुहलता बढेको थियो । उनी आफू बच्चैदेखि विद्रोही स्वभावको भएको बताउँछिन् । ‘बहुदल लठ्ठी टेकेर आउँछ कि कसरी आउँछ भन्ने हुटहुटी भइरह्यो,’ उनले भनिन् ।
बहुदल आएकै बेलामा उनले विद्यालयमा पहिलो पटक अनेरास्ववियु छैठौंको सदस्यता लिइन् । ‘सदस्यता पाउँदा मलाई संसार जितेको महसूस भयो । सदस्यता पाएको बेलामा मुक्ति पाएजस्तो लाग्यो । मेरो भुँईमा खुट्टा थिएन । ११ वर्षमै साधारण सदस्यता पाउनुमा मलाई संसारमै विजय प्राप्त गरेको महसूस हुन्थ्यो,’ विगत स्मरण गर्दै उनले भनिन्, ‘घाँस काट्ने बेलामा पनि मेरो मनमा त्यही सदस्यताको झल्को आउने गथ्र्याे । उक्त सदस्यता धित मरुञ्जेल मैले हेरिरहेँ ।’
अखिलको सदस्यता पश्चात उनी इकाई सदस्य, महिला संगठनको एरिया अध्यक्ष बनिन् । उनले आफैंले महिला संगठनको ईलाका सम्मेलन गराएर आफैं अध्यक्ष बनिन् । विसं २०५० सालमा यस्तो अवस्था आयो कि विद्यार्थी संगठन, महिला संगठन र कलाकार संगठनको उनी एरिया कमिटी अध्यक्षका रूपमा सशक्त भूमिका खेलिरहिन् । भूमिगत हुनुअघि उनी आफू मानसिक तथा शारीरिक रूपमा तयार थिइन् ।
झोला रेडी अवस्थामा थियो । २०५२ फागुन १ गते उनी भूमिगत हुँदा आमाले केही परसम्म पु¥याउन गएकी थिइन् । उनी राजनीतिमा होमिनुको अर्को कारण पनि छ । त्यतिबेला उनको गाउँमा रहेका अधिकांश महिला घरेलु हिंसाको शिकार हुन्थे । घरपरिवारका सदस्यबाट पिटाइ खाएकी महिलाहरूको अवस्था देख्दा पनि उनलाई साह्रै दुःख लाग्थ्यो । उनी सोच्थिन, के महिला भएर जन्मिनु ती महिलाको दोष हो र ?
केसी विसं २०५१ सालको अन्तिममा पार्टीको आधिकारिक सदस्य भइन् । उनलाई तत्कालीन रुकुम पश्चिम सेक्रेटरी हरिबहादुर रोकाले सदस्यता दिएका थिए । ‘सदस्यता दिनुपूर्व मेरो धेरै स्थानमा परीक्षण गरियो । गोपनियताको कक्षा दिइयो । लामो प्रक्रिया पार गरेपछि मात्रै मैले पार्टी सदस्यता पाएकी थिएँ,’ उनी भन्छिन्, ‘त्यसपछि पार्टीको पोलिटब्यूरो सदस्यसम्म भइसकेको थिएँ ।’
अहिले उनी नेपाल कम्युनिस्ट पार्टीको प्रदेश कमिटी अध्यक्ष छिन् ।
उनी आफूलाई मरेर बाँचेको भन्छिन् । विसं २०५५ सालको कुरा हो । जनयुद्धकै क्रममा उनको घर नजिकै रहेको प्रहरीले उनलाई खोजी गरिरहेको थियो । उनलाई खोज्ने बहानामा गाउँलेलाई प्रहरीले कानको जाली फुटने गरी हिर्काउने, अश्लील गाली गर्ने, धम्की दिने गरेको थियो । ढुंगा बोकाउने, निर्मम यातना दिने गर्दथ्यो । त्यही अवधिमा एक दिन उनी अलायाचौरदेखि गरैंला जाँदै थिइन् । रात परिसकेको कारण अलायाचौरमा नै रोकिइन् । उतै बसिन् । विहानपख ओसी झकविर ढकाल र उनी गइन् । ढकाल उनीभन्दा २५ मिटर अघि थिए । उनी पछि थिइन् । त्यतिबेला प्रहरीको निशानाबाट बच्न उनले धोती लगाइन् । अघिपछि उनी कुर्ता लगाउँथिन् । आफूसँग भएको झोलालाई कुम्लो पारेर टाउकोमा बोकिन् । गाउँका सर्वसाधारण महिलाकै जस्तो गरी लजाउँदै मुख छोपिन् । यो सबै उनले प्रहरीबाट बच्नका लागि गरेकी थिइन् । किनकि त्यता प्रहरीले माओवादीलाई खोजिरहेको थियो । ’म अब मर्छु होला जस्तो महसूस भइरहेको थियो । तरपनि अगाडि बढने निर्णय गरें । ढकाललाई प्रहरीले सोधिरहेको थियो तर ढकाल भने जात्रा हेर्न जाने भन्दै बहाना बनाइरहेका थिए । उनको झोलामा पर्याप्त दस्तावेज पनि थियो । झोला खोलेको भए प्रहरीले उनलाई र मलाई त्यहिँ सिध्याइदिन्थ्यो,’ उनले भूमिगत हुँदाका दिन सम्झिइन् ।
उनी आममहिला जसरी त्यहाँबाट नहिँडेको भए प्रहरीको फेला पर्थिन् र जीवन जोखिममा पर्थ्यो । तर उनीमाथि प्रहरीले शंका गरेन । उनी फुत्किइन् । यसरी आफू दर्जनौं पटक प्रहरीको आँखा छल्न सफल भएको उनी बताउँछिन् । बच्नको लागि उनले महिलाहरूका पुराना चोली, धोती लगाउने, डोको समाएर घाँस काट्ने बहानामा जंगल जाने काम त कति गरिन् कति ।
उनी खाराका दुई वटा लडाईं तथा म्याग्दीको बेनीमा भएको आक्रमणमा सहभागी भएकी थिइन् । यसका अलावा आफूले सयौं सानातिना मुठभेडको सामना गरेको उनी बताउँछिन् ।
उनी २०६४ सालमा संविधानसभाको सदस्य बनिन् । संविधानसभा मार्फत् जनताका अपेक्षा पूरा गर्ने भन्दै उनी कानून निर्माणमा जुटिन् । संसदको राज्य व्यवस्था परामर्श समिति र संवैधानिक समितिमा सदस्यको रूपमा कामसमेत गरिन् । नयाँ संविधान बनाउँदा पहिल्यै रहेका पाँच वटा संवैधानिक आयोगलाई बढाउनुपर्छ भन्ने अभियानमा आफू लागेको मन्त्री केसीको भनाइ छ । कांग्रेस, एमालेका नेताहरूलाई पनि सहमतिमा ल्याउनुपर्ने परिस्थिति रहेको स्मरण गर्दै उनले आफूहरू महिला आयोग, दलित आयोग, मुश्लिम आयोग, जनजाति आयोग, अपाङ्ग अल्पसंख्यक र पिछडिएका वर्गको समस्या समाधान गर्ने आयोग, थारु आयोग गठनको व्यवस्था संविधानमा लेखाउन सफल भएको बताउँछिन् ।
२०७४मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भइसकेपछि महिला, दलित र पछि परेका समुदायलाई राज्यका मुलधारमा ल्याउनका लागि रूपमा आतमनिर्भर नबनाएसम्म सम्भव नहुने निष्कर्षमा पुगेकी छन् ।
‘मैले लामो समय यो क्षेत्रमा काम गरेँ । राजनीति गरेँ । सबैलाई समान हैसियतमा पु¥याएको खण्डमा महिला दलित, जनजातिलाई आर्थिक रूपमा सबल बनाउन सकेको खण्डमा मात्रै समाजमा रहेका हिंसा न्यूनीकरण हुन्छन् । कसैसँग केही मागेको खण्डमा माग्ने व्यक्ति जसरी पनि हेपिन्छ । यो मेरो भोगाइ हो,’ राजनीतिक शास्त्रमा स्नातकोत्तर गरिरहेकी मन्त्री केसीले भनिन्, ‘श्रीमान कमाउने भएको घरमा श्रीमती हेपिएकी हुन्छिन् तर श्रीमतीले घरमा गरेको कामको हिसाब नदेख्ने हाम्रो समाज छ । यसकारण सबैभन्दा ठूलो कुरा आत्मनिर्भरता हो । आत्मनिर्भर बनेपछि अन्य समस्या समाधान हुँदै जाने मेरो बुझाइ हो ।’
पहिलोप्रेस
९ मंसिर २०७९, शुक्रबार ०७:१५