कर्णालीले पहिलोपटक पाउला त प्रधानमन्त्री ?
सुर्खेत ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का मंसिर चार गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेत–१ बाट भारी मतान्तरका साथ विजयी भएका छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै दोश्रोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् उनी ।
कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको उपसभापति छन् । उनी १३ औं महाधिवेशनमा महामन्त्री बनेका थिए ।
खड्का विगतमा पाँचपटक निर्वाचित सांसद र पाँचौ पटक मन्त्री भइसकेका छन् । उनी संसदको राज्य व्यवस्था समितिको सभापतिसमेत बनेका थिए ।
२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा सुर्खेत कांग्रेसको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा उनी निरन्तर राजनीतिमा सक्रिय रहे ।
२०३६ सालमा बहुदल र निर्दलबीचको चुनावमा कांग्रेसले भाग लिने निर्णय गर्दा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए, तर उनलाई पञ्चायतको समर्थन गर्न राजाले दबाब दिए । राजाले दिएको दबाब अस्वीकार गर्दा जिल्ला अदालत सुर्खेतले मेयर भएको ६ महिनामै उनलाई अपदस्थ गरिदिएको थियो ।
विभिन्न समयमा गरेर पाँच महिनाभन्दा बढी जेलजीवन बिताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट छ पटक सांसदमा विजयी बने भने एकपटक पराजित भए ।
२०४८, २०५१, २०५६ मा उनी प्रत्यक्ष चुनाव जितेर सांसद भएका थिए । २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का पछिल्लो २०७४ सालको संसदीय चुनावमा भने पराजित भएका थिए । तर यसपटक २०७९ मा भने उनि भारी मतान्तरका साथ विजयी भएका छन् ।
खड्का दुईपटक गृहमन्त्री भइसकेका छन् । यस्तै, उनीसँग युवा तथा खेलकुद मन्त्री (दुईपटक), सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्रीका रूपमा जिम्मेवारी निभाएको अनुभव छ । सुर्खेत १ का जनतामा उनले आफूलाई ‘विकासप्रेमी नेता’ का रूपमा चिनाएका छन् ।
खड्काले १० औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो ।
सो महाधिवेशनमा सुशील कोइराला विजयी हुँदा खड्का पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा कांग्रेस फुटेर बनेको प्रजातान्त्रिक कांग्रेसको केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य जितेर उनी सहमहामन्त्रीमा मनोनित भएका थिए । १३ औं महाधिवेशनमा महामन्त्री बनेका हुन् ।
तर, १४ औं महाधिवेशनमा भने उनि उपसभापति बनेका छन् । कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने शक्तिशाली दलको ईतिहासमै उनी उपसभापति पदमा पुग्न सफल भएका हुन ।
‘उहाँले अब मन्त्री पद नखाने सार्वजनिक घोषणा नै गर्नु भएको छ । विगतका सरकारमा उहाँलाई मन्त्री बनाउने प्रयास सभापति देउवाले नगर्नु भएको पनि होइन तर उहाँ बन्न नै चाहनु भएन ।’ सुर्खेतका समाजसेवी बखतबहादुर शाही भन्छन्, ‘विकासप्रेमी, इमान्दार, निष्कलंक र उदाहरणीय छवि भएका नेतालाई जिताएका छन् । हामी कर्णाली वासीले प्रधानमन्त्रीको रुपमा देशकै नेतृत्व उहाँबाट पाउने अपेक्षा गरेका छौं ।’
शाहीको भनाईलाई समर्थन गर्दै यसपटक कर्णालीले प्रधानमन्त्री पाउने सम्भावना व्यापक रहेको सुर्खेतका व्यवसायी रमेश कुमार सापकोटा बताउँछन् । ‘कर्णालीले देशको नेतृत्व नगर्ने भन्ने कुरा कहाँ लेखिएको छ र ?’ उनी भन्छन्, ‘गठबन्धनका सुत्रधार उनि यसपटक प्रधानमन्त्री बनेर कर्णालीको भविष्य उज्ववल बनाउन लाग्नु हुन्छ ।’
सधैं विकास निर्माणका लागि पहल गरिरहने सादगीपूर्ण नेताको छवि बनाएका नेता खडकालाई सुर्खेती जनताले भारी मतान्तरसहित जिताएर पठाए पनि उहाँबाट समग्र कर्णालीले विकास र नेतृत्वको जहिल्यै अपेक्षा गरेको छ, गरिरहनेछ ।
पहिलोप्रेस
९ मंसिर २०७९, शुक्रबार ०६:२५