विन्दमान र कृष्णले मारे वाजी, मोहनले देखाए उच्च राजनीतिक संस्कार
सुर्खेत ।
नेकपा माओवादी केन्द्रबाट प्रदेश सभामा उम्मेदवार बनेका पूर्व अर्थमन्त्री विन्दमान विष्ट र कृष्ण जिसीले निर्वाचनमा वाजी मारेका छन् ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईको ‘ख’ बाट उम्मेदवारी दिएका विष्टसँग नेकपा एमालेका ताराकेशर गौतम र नेकपा एसका मोहन बडुवालले प्रतिस्पर्धा गरेका थिए ।
यो समाचार तयार पार्दसम्म कसले कति मत पाए भन्ने कुरा आधिकारिक रुपमा घोषणा भने भएको छैन ।
यस्तै, सुर्खेत निर्वाचन क्षेत्र १ ‘ख’ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर जि.सी ‘जितेन्द्र’ ४१९६ मतान्तरले विजयी भएका छन् । उनिसँग प्रतिस्पर्धा गरेका एमालेका डण्डीप्रसाद शर्मा पराजित भएका छन् ।
मोहनले देखाए उच्च राजनीतिक संस्कार
यसैबीच, विन्मान निर्वाचित भएपछि नेकपा एसबाट उम्मेदवार बनेका मोहन बडुवालले उच्च राजनीतिक संस्कार प्रर्दशन गर्दै विष्टलाई बधाई तथा शुभकामना दिएका छन् ।
उनले विष्टसँगको तस्वीर सामाजिक सञ्जालमो शेयर गर्दै लेखेका छन्, ‘सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य बिन्दमान बिस्टजीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’ उनले भनेका छन्, ‘लोकतान्त्रिक पद्दतिमा निर्वाचन जनता को अधिकार उपयोग गर्ने सुबर्ण अबसर हो । हार जित स्वभाबिक प्रक्रिया हो । मैले अत्यन्तै सहज रूपमा लिएको छु। मेरो पक्षमा हजारौ मतदाताले आफ्नो अभिमत दिनु भएको छ, यसप्रति म सधै ऋणी हुनेछु । यो निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका पार्टिका नेता कार्यकर्ता साथिहरू, निर्वाचन सम्पन्न गर्न सहभागी सबै सुरक्षाकर्मी, कर्मचारी मित्रहरू,संवयम सेबक र पत्रकार साथिहरू मेरा समर्थक, शुभेच्छुक सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । पस्चिम सुर्खेतको समग्र विकाश र समृद्धीको यात्रामा म सधै साथमा रहनेछु ।’
यसअघि सुर्खेत एक क्षेत्र नम्बर एक ‘क’ बाट नेपाली काग्रेसका सुर्खेत जिल्ला सभापति खडक पोखरेल निर्वाचित भइसकेका छन् । उनले नेकपा एमालेका ठम्मर विष्टलाई पराजित गरेका हुन ।
पहिलोप्रेस
८ मंसिर २०७९, बिहीबार १७:२४