Loading... आजः ४ पुष २०८१, बिहीबार

कर्णालीमा सरकारको नेतृत्व सुरुमा मुख्यमन्त्री शाहीले गर्ने करिब पक्का !

यस्तो छ गठबन्धनबीचको सम्भावित मन्त्रालय भागवण्डा

सुर्खेत ।
कर्णाली प्रदेश सभाका समानुपातिक बाहेक प्रत्यक्ष तर्फका सबै सांसदहरु निर्वाचित भइसकेपछि कर्णालीमा पहिले कुन दलले नेतृत्व लिने भन्ने कुराको मसिनो गरि चर्चा चल्न थालेको छ ।

कर्णाली प्रदेश सभामा १४ सिट सहित नेपाली काँग्रेस ठूलो दल बनेपछि कर्णालीको पहिलो साढे दुई वर्षे सरकारको नेतृत्व पनि काँग्रेसको पोल्टामा पर्ने करिब निश्चित भएको छ ।

नेपाली काँग्रेस उच्च स्रोतका अनुसार कर्णालीमा पहिलो दल भएका कारण हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले नै सरकारको नेतृत्व गर्नेछन् ।

‘मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको विकल्प काँग्रेसमा छैन । पहिलो कार्यकालको नेतृत्व उहाँले नै गर्नुहुनेछ । सुरुको साढे दुई वर्ष नेतृत्व गरेपनि माओवादी केन्द्रले नेतृत्व लिनेछ ।’ स्रोत भन्छ, सत्तारुढ गठबन्धनबीच मन्त्रालयको भागवण्डा समेत करिब मिलिसकेको छ । जसअनुसार मुख्यमन्त्रीसहित तीन मन्त्रालय काँग्रेस, चार मन्त्रालय नेकपा माओवादी केन्द्र र एक मन्त्रालय नेकपा एसले भाग पाउनेछन् ।’

शीर्ष तहमा नेकपा माओवादीले लुम्विनी र सुदुरपश्चिम तथा वाँकी चार प्रदेशमा काँग्रेस तथा एक प्रदेशमा नेकपा एसलाई मुख्यमन्त्री दिने बारेमा करिब सहमति जुटाई सकेका छन् यद्यपी यसको आधिकारिक घोषणा हुन भने वाँकी नै छ ।
‘कर्णाली माओवादीको आधार ईलाका हो । यहाँ सरकारको नेतृत्वमा हाम्रो शसक्त दावी छ ।’ माओवादी केन्द्रका एक उच्च नेताले भने, ‘कर्णालीले चाहेर मात्रै नहुने भएका कारण सरकारको नेतृत्व आलोपालो हुने निश्चित छ तर अहिले नै काँग्रेसले नेतृत्व लैजाने भन्ने सहमति भइसकेको छैन ।’ ती नेताले केन्द्रमा हुने सहमति मान्न कर्णालीका सबै नेताहरु तयार हुने बताए ।

कर्णालीमा मुख्यमन्त्री काँग्रेसले पाउने भएपछि सभामुख भने नेकपा माओवादी केन्द्रले पाउने भएको छ । माओवादी वृत्तमा कसलाई सभमुख बनाउने भन्दै उपयुत्तः पात्रको खोजी समेत भइरहेको छ ।

समानुपातिक तर्फको सिटको घोषणा नभएपनि दलहरुले प्राप्त गरेको मतका आधारमा काँग्रेसका १४, माओवादीका १३, नेकपा एमालेका १०, राप्रपा र नेकपा एसको एक एक सिट भागमा पर्नेछ ।


सम्बन्धित समाचार