Loading... आजः ४ पुष २०८१, बिहीबार

सुर्खेतमा उपसभापति खड्काको नयाँ चलनः मत माग्न गाडीको लस्कर, धन्यवाद दिन हेलिकप्टर !

सुर्खेत ।
केहि दिन अघि नेपाली काँग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले हेलिकप्टर चढन नसक्ने व्यक्ति नेता हुन नसक्ने बताएको कुरा आलोचित भएपनि उनको उक्त भनाईलाई उपसभापति पूर्णबहादुर खड्काले भने सत्य बनाइदिएका छन् ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकका विभिन्न स्थान गरि हिजो मंगलबार मात्रै १७ स्थानमा हेलिकप्टर चढेर उनि जनतालाई धन्यवाद दिन पुगेका थिए । उनका साथमा निर्वाचन क्षेत्र नम्बर एक ‘क’ बाट जितेका खड्क पोखरेल तथा ‘ख’ बाट जितेका कृष्ण जिसी जितेन्द्रसहितको टोली सहभागि भएको थियो ।

भेरिगंगा नगरपालिकाका स्थानीय डम्बर बस्याल उपसभापति खड्का गाडीमा आउनुको साटो हेकिप्टरमा जनतालाई धन्यवाद दिन आएको भन्दै सामाजिक सञ्जालमा आक्रोस पोख्छन् ।

‘भेरीगङ्गा २ काल्पानीमा हेलिकप्टरमा जानू भए छ । यति बुझौ कि वडा कार्यालय सम्म जाने बाटो गतिलो नभएर हो । आखिर के बिकास गर्नु भएको रैछ त ? आफू हेलीमा जाने जनता सधै मार मा किन ?’

उनि मात्रै होइनन्, उपसभापति खड्का जनतामाझ जाँदा हेलि प्रयोग गर्नु दुःखद भएको काँग्रेस सुर्खेतकै नेता प्रतिक्रिया दिन्छन् ।

‘मत माग्न जाने समयमा गाडीमा जाने, पैदल हिडने जितेपछि भने हेलि लिएर जाने चलन नराम्रो हो । यसले जनतामा राम्रो सन्देश दिए ।’ नाम उल्लेख नगर्ने शर्तमा एक सुर्खेत काँग्रेसका नेता भन्छन्, ‘यसले आफूलाई चाँहिदा मात्रै जनता भन्ने तर जनताबाट पाइसकेपछि जनता आवश्यक नभएको भन्ने खालको धारणा जनतामा गएको छ । जनतालाई धन्यवाद दिन जानु राम्रो कुरा हो तर यसरी हेलि नै लिएर जानु किमार्थ राम्रो होइन ।’

नेपाली काँग्रेस स्रोतका अनुसार आज पनि उपसभापति खड्का पुर्वि सुर्खेतका केहि स्थान हुँदै जहरे हेलिकप्टरमै पुगेका छन् । आज सुर्खेत पश्चिमका विभिन्न स्थानमा हेलिकप्टरबाटै धन्यवाद सभामा सहभागिता हुने भनिएपनि पश्चिम सुर्खेतमा विहान ११ बजेसम्म हुस्सु लाग्ने भएका कारण हेलिकप्टर उडान असम्भव हुने भन्दै स्थगित गरिएको थियो ।

त्यसपछि आजै जहरेमा धन्यवाद सभा सम्पन्न गरेर उपसभापति खड्का काठमाडौं समेत लागेका हुन ।

उनि सवार हेलिकप्टरको भाडा कसले तिर्ने भन्ने बारेमा भने केहि खुलेको छैन ।


सम्बन्धित समाचार