Loading... आजः ३ पुष २०८१, बुधबार

माओवादी कर्णाली प्रदेशका समानुपातिक सांसदमा नेताका श्रीमती मात्रै अटाए

 

सुर्खेत ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला सांसदहरु सबै माओवादीका उच्च पदमा आसिन भएका नेताहरुका श्रीमतीहरु मात्रै परेको खुलेको छ ।

पहिलोप्रेसलाई प्राप्त विवरण अनुसार नेकपा माओवादी केन्द्रले शनिबार निर्वाचन आयोगमा पेश गरेको विवरण अनुसार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामला विककी श्रीमती उर्मिला विक डोल्पाबाट समानुपातिक सांसद छानिएकी हुन ।

यस्तै, नेकपा माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मी चौलागाइँकी श्रीमती यशोदा न्यौपाने पनि कर्णाली प्रदेश सभामा सदस्यका लागि छानिएकी छिन ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक सचिन रोकाकी श्रीमती मिलन खड्का पनि समानुपातिक तर्फ छनौटमा परेकी छिन भने हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका पार्टी अध्यक्ष तथा पालिकाका उपाध्यक्ष चन्द्र बहादुर कार्की कि श्रीमती जुम्कित लामा कार्की पनि समानुपातिक सांसद बनेकी छिन् ।

जनयुद्धका घाईते, अपांग, शहिद परिवार तथा लामो समयसम्म योगदान गरेका भन्दा आफ्नो पद र पहुँचका आधारमा श्रीमतीलाई समानुपातिक सांसद बनाउँदा कर्णालीका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन् ।

‘हाम्रो पहुँच नै पुग्दैन । बल्ल बल्ल समानुपातिक कोटामा नाम पार्टीमा लडाई लडेर राख्न लगाईन्छ तर प्राथमिकतामा हामी कहिल्यै पर्दैनौं ।’ जनयुद्धकालमा कालिकोटमा घाईते भएका माओवादीका एक नेताले गुनासो गर्दै भने, ‘यहाँ पहुँचका भरमा सांसद बनाउने मात्रै होईन, पार्टीका ठूला नेताको चाकडी गर्न सके जुनसुकै पद पनि पाउन सकिने वातावरण बन्दै गइरहेको छ । यसैको परिणाम स्वरुप कर्णालीमा माओवादी भित्र विचलन बढेको हो ।’

ती नेताका अनुसार पछिल्लो चुनावमा यदि माओवादी एक्लै चुनावमा लडेको भए रुकुम पश्चिम बाहेक अन्यत्र जित्न मुस्किल पर्ने भन्दै नेताहरुका यस्ता गैरजिम्मेवार क्रियाकलापका कारण पार्टी अधागतितर्फ गएको दाबी समेत गरे ।

यता, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटि अध्यक्ष विमला केसीले भने ती सबै छानिएका महिलाहरुको पार्टीमा मह्त्वपूर्ण योगदान भएकाले छनौट गरिएको बताईन । ‘उहाँहरु कोही नेताहरुसँग विवाह गर्नुभयो त्यो फरक कुरा हो । तर उहाँहरुले विगत देखि नै अवसर नपाएको, पार्टीमा लामो समयसम्म त्याग गरेका कारण छनौटमा पर्नु भएको हो ।’ उनले भनिन्, ‘यो विषयलाई अनावश्यक विवादमा ल्याइरहन जरुरी छैन ।’


सम्बन्धित समाचार