सुर्खेतका पत्रकारलाई सांकेतिक भाषाको प्रशिक्षण आवश्यक
सुर्खेत ।
मिडियामा अपाङ्गताका सवाल विषयको उच्चतम प्रयोग गराउन पत्रकारलाई सांकेतिक भाषाको प्रशिक्षण आवश्यक रहेको देखिएको छ ।
वीरेन्द्रनगरमा परिलक्षित संस्थाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतको समन्वय र पिपल्स एक्सेस नेपालको आयोजनामा आयोजित मिडियामा अपाङ्गताका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि पत्रकारहरुले यस्तो माग गरेका हुन् ।
पत्रकारहरुलाई सांकेतिक भाषा सम्वन्धी ज्ञान नहुँदा अपाङ्गताका सवालहरुलाई समेट्न नसकिएको उनिहरुले बताए ।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु प्रसाद शर्माले अपाङ्गताका सवालहरुलाई मिडियाले प्राथमिकता दिनुपर्ने र यसमा मिडियाको भूमिका महत्वपूर्ण हुनुपर्ने बताए ।
‘अपाङ्गता सवाल, कानुनी आधार, सामाजिक अवस्था, स्थानीय तह र प्रदेश सरकारले गर्नुपर्ने काम धेरै छन । उनले भने, ‘यस क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई उत्प्रेरणा प्रदान गर्ने क्रियाकलाप संचालन गर्न आवश्यक छ । अपाङ्गतालाई धेरै जसो मान्छेले कमजोर, गर्न नसक्ने, पाप, अभिसाप सोच्ने हुँदा त्यो सोचाईलाई परिर्वतन गर्न अपरिहार्य छ ।’ उनले भने ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका महिला तथा बालबालिका शाखाकी सरला रेग्मीले नगरपालिकाले अपाङ्गताको क्षेत्रमा गरेका कामबारे जानकारी दिईन । अपाङ्गता परिचयपत्र वितरणमा दबाव आउने गरेको, जनशक्ति अभावमा काम गर्न कठिन भएको र नगरले आउँदा दिनमा अपाङ्गताका सवाललाई प्राथमिकता दिने बताईन । यस्तै भेरीगंगा नगरपालिकाको महिला तथा बालबालिका शाखाकी लक्ष्मी सुवेदी र गुर्भाकोट नगरपालिकाको महिला तथा बालबालिका शाखाकी ललिता चौधरीले आफ्नो शाखाले गरेका काम र प्रगतिबारे जानकारी गराएकी थिईन ।
उनीहरुका अनुसार अपाङ्ग समन्वय समिति गठन हुन नसकेको, परिचयपत्र वितरणमा राजनीतिक हस्तक्षेप हुने गरेको, लक्षित सुविधा उपलब्ध गराउन जटिलता रहेको बताईएको छ ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका सचिव ललितबहादुर बुढाले मिडियाले उठाउन सक्ने अपाङ्गताका सवालहरुबारे पत्रकारहरुलाई अभिमुखीकरण गरेका थिए ।
बुढाले मिडियाले अपाङ्गता सम्बन्धि संवैधानिक अधिकार, अपाङ्गतामैत्री राज्यका संरचना भए वा नभएको, अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच, सामाजिक व्यवहार, परिचय पत्र वितरणमा देखिएका बेथिति, शिक्षामा पहुँच र अपाङ्गता भएका व्यक्तिहरुको योजना छनौटमा सहभागिता भए वा नभएकोबारे सवालहरु उठाउनुपर्ने बताए ।
यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले मिडियाले अपाङ्गताका सवालहरुलाई आउँदा दिनमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । मिडियाले नै अपाङ्गताका मद्दालाई बाहिर ल्याउनुपर्ने र त्यसले राज्यको ध्यानाकर्षण हुने उनको भनाइ थियो ।
यस्तै कोशिष नेपालका मनोविमर्सकर्ता नरेन्द्र शर्माले मानसिक अपाङ्गताका मुद्दामा सबै गम्भिर हुनुपर्ने बताए । राज्यका संरचनाहरु अपाङ्गतामैत्री नहुँदा समस्या भएको भन्दै यस्ता विषयमा मिडियाले पैरवी गर्नुपर्ने उनको भनाइ थियो । सोही कार्यक्रममा परिलक्षित संस्थाका सुर्खेत फिल्ड अधिकृत राजु लामिछानेले संस्थाले अपाङ्गताको क्षेत्रमा हालसम्म गरेका कामबारे जानकारी दिएका थिए । साथै अपाङ्गताको क्षेत्रमा कार्यरत अन्य संस्थाका प्रतिनिधिहरुले पनि मिडियामार्फत नै राज्यलाई जिम्मेवार बनाउन सकिने बताए ।
यस्तै पिपल्स एक्सेस नेपालका कार्यक्रम संयोजक युवराज पंगालीले कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उदेश्यबारे जानकारी दिएका थिए ।
उक्त कार्यक्रम पिपुल्स एक्सेस नेपालकी अध्यक्ष सिता आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेतका सचिव ललित वुढाले गरेका थिए ।
पहिलोप्रेस
२७ मंसिर २०७९, मंगलवार ११:४०